सिंहदरबार अगाडीकै सरकारी जग्गा युनियन हाउसद्वारा कब्जा, सरकारी जग्गामा गँजेडीको अखडा !

दियो पोस्ट  


काठमाडौं, २७ चैत्र । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार । सिंहदरबार पूर्वीगेटको विपरित दिशा तर्फ करिब ५० मिटर अघि एउटा भव्य महल छ । सेतो रङले सिंगारिएको चार तले महलमा लेखिएको छ–‘युनियन हाउस’ । युनियन हाउस नामक रेष्टुरेन्टमा सरकारी, गैरसरकारी तथा विभिन्न कार्यक्रम हुने गर्दछ । यही युनियन हाउसले सरकारी जग्ग कब्जा गरेर पार्किङ गरिरहेको पाइएको छ ।


काठमाडौं महानगरपालिकाका पूर्व प्रवक्ता तथा अकुत सम्पत्तिको मुद्दामा अख्तिया दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका शान्ताराम पोखरेलको स्वामित्वमा रहेको उक्त घरमा गोरखाका मनोजराज पाण्डेले १० वर्षे सम्झौतामा रेष्टुरेन्ट चलाएका हुन् ।


युनियन हाउसले करिब २ रोपनी सरकारी जग्गा कब्जा गरेर पार्कीङ गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् ।


केही वर्षअघि देखि स्थानिय करुणकेश्वर युवा क्लबले प्रयोग गर्दै आएको उक्त जग्गा भित्र क्लबको सानो भवन समेत छ । उक्त भवन समेत युनियन हाउसले नै कब्जा गरेको स्रोत बताउँछ । उक्त भवनमा युनियन हाउसमा आउने ग्राहकले गाँजा सेवन गर्ने गरेको समेत उच्च स्रोतको दाबी छ ।
राजनीतिक शक्तिको आडमा पाण्डे र पोखरेलले सरकारी जग्गा आफ्नो रेस्टुरेन्टको पर्किङ एरिया बनाएको स्थानियकै आरोप छ ।


‘सरकारी जग्गामा वाल लगाएर युनियन हाउस पार्किङ लेखेरै खुलमखल्ला जग्गा कब्जा गरिएको छ,’ एक स्थानिय भन्छन्,‘महानगरपालिकाकै पूर्व कर्मचारीले यस्तो गरेपछि कसले बोल्ने ?’
काठमाडौं महानगरपालिकामा रहँदा वातावरण विभागको प्रमुख समेत सम्हालेका पोखरेलले करोडौँ रकम हिना मिना गरेको आरोप छ ।


सन् २०१० मा अमेरिका गएका बेला पोखरेलले महानगरपालिकाबाटै ७२ हजार ११ रुपैयाँ भत्ता बुझेको रिपोर्ट सञ्चार माध्यममा आएको थियो ।


भत्ताप्रकरण बाहिर आएपछि उनीबाट उक्त रकम फिर्ता समेत गरिएको थियो ।


अख्तियारले छानबीनका क्रममा अकूत आर्जन गर्नेहरूमा पहिलो नम्बरका शान्ताराम पोखरेल राखेको थियो । उनी महानगरपालिकामा मेयर केशव स्थापितका पालादेखि छायाँ मेयरका रुपमा निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने हैसियत राख्ने व्यक्तिको रुपमा परिचित थिए ।


शान्तारामले आफ्ना भाइहरूका नाममा ठेक्कापट्टाको ब्यवसाय दर्ता गराएर महानगरपालिकाका करोडौंका काम सार्वजनिक खरिद ऐनलाई छल्दै टुक्रा गर्दै दिने गरेको चर्चा हुने गरेको थियो । ५० हजार रुपैयाँ पनि नलाग्ने कामलाई १ लाख ५० हजार रुपैयाँ र १ लाख ५० हजारमा हुने कामलाई ५ लाखको कोटेसन बनाएर दिने गरेको अख्तियारले फेला परेको थियो ।


सार्वजनिक खरिद ऐनले ५ लाख रुपैयाँ भन्दा बढीको काम टेण्डर प्रक्रियाबाट दिनुपर्ने व्यवस्था गरेको छ। तर शान्तारामले बजेट टुक्र्याउँदै विनाटेण्डर कोटेसन बनाएर भाइका नाममा कम्पनी दर्ता गरी काम दिई चरम भ्रष्टाचार गर्दैआएको आएपछि उनलाई अख्तियारले छानबीन थालेको थियो । काठमाडौंमा निर्माण भएका अधिकांश मापदण्ड विपरीतका घरको नक्सापासमा गम्भीरलालको संलग्नता रहेको बताइन्छ ।


धनकुटाबाट काठमाडौं आउँदा चप्पल समेत लगाउने हैसियत नभएका शान्ताराम पोखरेलको सम्पत्ति जोकोहीले सुने पनि जिब्रो टोक्नेछन्। उनको नगरकोटमा रिसोर्ट छ।

काठमाडौं महानगरपालिका ३२ नम्बर वडामा रहेको युनियन हाउसले समेत २ रोपनी जग्गा कब्जा गरेपछि उनको नियत प्रष्ट हुन्छ ।