विमानस्थल हवाई यातयात यात्रु सेवाको वार्षिक साधरणसभा : टुटल र पठाओ बन्द गर्न माग !

दियो पोस्ट  

काठमाडौँ, २८ चैत । विमानस्थल हवाई यात्रु सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीमा आयोजित वार्षिक साधारण सभाले पुरानै कार्य समितिलाई दोहार्याउने निर्णय गरेको छ ।
कार्यक्रममा सहभागीहरुले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो सहयोग आवश्यक रहेको बताइए ।


कार्यक्रममा सहभागीहरुले कार्यक्रममा नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताएका हुन् ।

राष्ट्रियसभाका सदस्य एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण विडारीले विमानस्थलमा सञ्चालित सवारी साधनले स्वदेशी तथा विदेशी पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताए ।
“विमानस्थलमा सञ्चालित यातायातले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ,”– उनले भने । विमानस्थलमा सञ्चालित सवारी साधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई राम्रो सम्मान गर्नुपर्ने उनको भनाई छ ।
उनले नियम र कानूनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह समेत गरे। “निजीसवारी साधनले यात्रु बोक्न पाइँदैन, निजी सवारी साधनले यात्रु बोके राज्यले कारबाही गर्नुपर्छ,”–उनले भने।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशैभरीको यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताए। “यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ,”–उनले भने ।

प्रदेश नं ३ का सांसद जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा हुन नसक्ने बताए । विदेशी पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातमा पर्ने भएकाले त्यहाँका सवारी साधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाई थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्धारा विमानस्थल भएकाले पर्यटकलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नीजी सवारी साधनले कानुनविपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताए । “टुटल, पठाओ र नीजी कारहरुले कानुनविपरीत मान्छे बोक्दा सरकार किन मौन बस्छ,”–उनले भने।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारी साधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने बताए ।
व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताए।
नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको व्यवस्था लिमिटेडका अध्यक्ष बिजयबहादुर स्वाँरले जानकारी दिए ।
बन्द शत्रले अध्यक्षमा बिजयबहादुर स्वाँर र प्रबन्धनिर्देशक पुरुषोत्तमलाई निरन्तरता दिने निर्णय गरेको हो ।