काठमाडौं, २८ चैत्र । नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटार स्थित सरकारी जग्गा सेटिङमा कब्जा गरेको समाचारले यतिबेला सामाजिक संञ्जाल रंगीएको छ । नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको बैठकले सरकारी जग्गा फिर्ता गर्ने निर्णय गरेपछि यो विषय तातिएको हो । प्रधामन्त्री कपी ओलीले सरकारी जग्गा फिर्ता गरेर सरकारकै नाममा ल्याउने निर्णय गर्नु आफैमा महान काम हो ।
प्रधानमन्त्रीलाई नै प्रश्न गरिने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालकले सिंहदरबार अगाडीकै करिब २ रोपनी जग्गा कब्जा गरेर रेष्टुरेन्टका लागि पार्किङ बनाएको विषय भने कमैलाई थाहा होला ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार । सिंहदरबार पूर्वीगेटको विपरित दिशा तर्फ करिब ५० मिटर अघि एउटा भव्य महल छ । सेतो रङले सिंगारिएको चार तले महलमा लेखिएको छ–‘युनियन हाउस’ । युनियन हाउस नामक रेष्टुरेन्टमा सरकारी, गैरसरकारी तथा विभिन्न कार्यक्रम हुने गर्दछ । यही युनियन हाउसले सरकारी जग्गा कब्जा गरेर पार्किङ गरिरहेको पाइएको छ ।
युनियन हाउसका मालिक हुन्–मनोजराज पाण्डे । सञ्चारकर्मीको भेषमा विभिन्न पेशा व्यावसायमा समलग्न उनले सरकारी जग्गा कब्जा गरेर पार्किङ बनाउँदा समेत नियामक निकाय मौन छ ।
काठमाडौं महानगरपालिकाका पूर्व प्रवक्ता तथा अकुत सम्पत्तिको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका शान्ताराम पोखरेलको स्वामित्वमा रहेको उक्त घरमा गोरखाका मनोजराज पाण्डेले १० वर्षे सम्झौतामा युनियन हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
युनियन हाउसकै अगाडी रहेको करिब २ रोपनी जग्गामा कम्पाउन्ड लगाइएको छ र लेखिएको छ–युनियन हाउस पार्किङ । सरकारको स्वामित्वमा रहेको उक्त जग्गामा केही वर्षअघि सम्म स्थानिय युवाले करुणकेश्वर क्लब गठन गरी उक्त क्लबको कार्यालय राखेका थिए । तर, पाण्डेले रेष्टुरेन्ट सञ्चालन गरेपछि ती युवाहरुलाई लखेटिएको उच्च स्रोतको दाबी छ । ‘पाण्डेले प्रहरी लगाएर फसाइदिने भनेपछि केही युवा यतिबेला दुबईमा छन्,’ उच्च स्रोतले भन्यो,‘दुबइमा रहेका युवाहरुले विरोध गर्न खोजेका थिए । तर, बोल्न पनि नदिने वातावरण बनाइएको थियो ।’
सरकारी जग्गा भित्र युनियन हाउसले पार्किङ गरेपनि क्लवको भवन भने विद्यमान नै छ । तर पार्किङका कारण उक्त भवनमा आउजाउ गर्न कठिन भइरहेको एक युवाले बताए ।
राजनीतिक शक्तिको आडमा पाण्डे र पोखरेलले सरकारी जग्गा आफ्नो रेस्टुरेन्टको पर्किङ एरिया बनाएको स्थानियकै आरोप छ ।
‘सरकारी जग्गामा वाल लगाएर युनियन हाउस पार्किङ लेखेरै खुलमखल्ला जग्गा कब्जा गरिएको छ,’ एक स्थानिय भन्छन्,‘महानगरपालिकाकै पूर्व कर्मचारीले यस्तो गरेपछि कसले बोल्ने ?’
काठमाडौं महानगरपालिकामा रहँदा वातावरण विभागको प्रमुख समेत सम्हालेका पोखरेलले करोडौँ रकम हिना मिना गरेको आरोप छ ।
यता सञ्चारकर्ममा रहेका पाण्डेले ‘उच्च राजनीतिक शक्तिको आडमा सरकारी कब्जा गरिरहेको स्थानियको आरोप छ ।
पार्किङ ठीक अगाडी करुणाकेश्वर महादेव मन्दिर अवस्थित छ । उक्त मन्दिर र सरकारी जग्गाको बीचबाट सिंहदरबार पूर्वीगेटसम्म जोडिने सडक रहेको छ ।
यस विषयमा युनियन हाउसको सम्पर्क नम्बर ०१–५७०७१४८ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफूहरुलाई यस विषयमा केही थाहा नभएको र सञ्चालक पाण्डेको नम्बर दिन नमिल्ने प्रतिक्रिया दिए ।