पत्रकार अर्जुन गिरीलाई पक्राउ गराउने बतास विरुद्ध नै पक्राउ पुर्जी जारी !

दियो पोस्ट  

काठमाडौं, ६ वैशाख । पोखराका व्यावसायी वीपेन्द्रराज बतास (विपिन)लाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । कास्की प्रहरीको सिफारिसमा अदालतले बतासलाई पक्राउ गर्न सो पुर्जी जारी गरेको हो ।

बतास विरुद्ध सोमबार कास्की प्रहरीमा ठगीको उजुरी दर्ता भएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी जारी गरिएको हो । पोखरा ६ का जनकराज श्रेष्ठ र दाल प्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई चार करोड ३३ लाख रुपैयाँ ठगी गरेको दाबीसहित उजुरी गरेपछि बतासलाई पक्राउ पुर्जी जारी भएको हो ।


पहारीको दुई करोड २५ लाख र श्रेष्ठको एक करोड ९८ लाख रुपैयाँ बतासले ठगी गरेको आरोप छ उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतासबाट ठगिएको बताए ।


पक्राउ पुर्जी जारी भएपछि बतासलाई पक्रिन प्रहरी परिचालन गरिसकिएको कास्की प्रहरीले जनाएको छ । सोही ठगीको समाचार लेखेको भन्दै ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको थियो । गिरीको पक्राउको विरोधमा देशैभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना लगायत अन्य विरोधको कार्यक्रम भइरहेको छ ।


विध्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलन कार्यक्रम अनुसार धर्ना कार्यक्रम गरिएको थियो ।