ओरेन्टल पीडित भन्छन्,–‘समितिबाट आस छैन, सुधीर बस्नेतलाई काम गर्न देऊ’

दियो पोस्ट  

काठमाडौं, १७ वैशाख । सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टल सहकारी पीडितहरुलाई न्याय नदिएको भन्दै ओरेन्टल पीडितहरुले समितिको कार्यालय घेरावन्दी गरेका छन् ।


मंगलबार विहानैदेखि समितिको कार्यालय अनामनगरमा पुगेका उनीहरुले समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याको समाधान नभई झन समस्या बढाउँदै लगेको बताए ।


‘यो समिति जुन उद्देश्यबाट गठित भएको थियो । त्यो उद्देश्य अनुसारको काम भएको छैन,’ आफ्नो ८० लाख रुपैयाँ सहकारीमा डुबेको बताउने इन्द्रमान महर्जन भन्छन्,‘समितिको अध्यक्ष परिवर्तन भएपछि झनै समस्या बढेर गएको छ । सुधीर बस्नेतलाई काम गर्न पनि दिइएन । समितिले न्याय पनि दिएन ।’

दीपक पाण्डे


आफ्नो १६ लाख रुपैयाँ ओरेन्टल सहकारीमा डुबेको बताउने दिपक पाण्डे वर्ष देखि फसेको पैसा उठाउन हिँडिरहेका छन् । तर, उनले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।


‘यो समितिबाट न्याय पाइएला जस्तो छैन । न समिति न सरकार दुवै तिरबाट न्याय पाउन सक्ने छाँट म देख्दिनँ,’ पाण्डेले सुनाए,‘सुधीर बस्नेतले हामीलाई दिने पैसा पनि अरुलाई नै बाडेको होकी । सबैतिर दलाली मात्रै हुँदो रहेछ । सरकारले चाहायो भने हाम्रो पैसा उठथ्यो ।’


पाण्डेका अनुसार सहकारी पीडितहरु मध्ये २५ प्रतिशत सकिइसकेका छन् ।


‘हामी २५ प्रतिशत सकिएका छौँ । कोही मरेर गइसके । ती सबैलाई कसरी न्याय हुन्छ,’ उनले भने,‘म पाटन एरियाको हो त्यहाँ मात्रै १० जना मान्छे मरिसके । बुढा बुढीले राखेको पैसा हो । उनीहरु सबै छैनन् ।’


उनले सुधीर बस्नेतलाई काम गर्न दिनु पर्ने र काम गरेपछि आफूहरुलाई पैसा फिर्ता हुने विश्वास व्यक्त गरे ।


काठमाडौंकै रण बहादुर कुँवरको पनि १५ लाख रुपैयाँ सुधीर बस्नेतको स्वामित्व रहेको ओरेन्टल सहकारीमा फसेको छ ।

रण बहादुर कुँवर


‘यो समितिले हामी गर्दै छौँ भनेको वर्षौं भयो । तर, अहिलेसम्म केही भएको छैन । लिलामी गरेर दिन्छु भनेर कसले लिलामी सकार्छ ? लिलामीको पैसाले सबै पीडितलाई दिन पुग्छ ?’ कुँवरको प्रश्न छ,‘थोरै आएर हामीले कहाँ पाउँछौँ ? तिर्ने जति आउनु पर्यो । भेगास सिटी बनायो भने समाधान हुन्छ । हामी चाँडै निर्णय होस् भन्नका लागि घेर्न आएका हौँ ।’


पीडितहरु कार्यालय घेर्न पुगेपनि अध्यक्ष युवराज सुवेदी भने कार्यालयमा थिएनन् । एक सहभागीका अनुसार घेराउको अन्तिममा मात्रै सुवेदी कार्यालय आइपुगेका थिए ।


धेरै पीडितको यही ऋणकै पीरले मृत्यु भएको उनले बताए । ‘सुधीर बस्नेतले पैसा दिन्छु भनेको छ । दिन्न कहिल्यै भनेको छैन । तर यसरी कति दिनसम्म बस्ने ?,’ उनले भने,‘सुधीर बस्नेतलाई काम गर्न दिनु त पर्यो नी । उसको पनि सम्पत्तिहरु खाएको छ । त्यो असुल गर्नुपर्छ । समितिले सबै सम्पत्ति अशुल गरोस् र हामीलाई न्याय दियोस् ।’