
काठमाडौं, २० चैत्र । स्वास्थ्य सामग्री खरिद प्रकरणको घोटालाको समाचार हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले निर्देशन दिएको खुलेको छ ।
रिमालका पुत्र क्षितिज रिमाल र उपप्रधान तथा रक्षा मन्त्रीका ईश्वर पोखरेलका पुत्र स्वराज पोखरेल कोभिड १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री खरिदको घोटालामा समलग्न भएको समाचार काठमाडौं प्रेसले सार्वजनिक गरेको थियो ।
प्रकाशित समाचारमा रिमाल र पोखरेलद्वयका पुत्रहरुको तस्विर नै प्रकाशन भएको थियो । प्रकाशित समाचार हटाउन रिमालले एफ वान सफ्ट इन्टरनेश्नलका उच्च अधिकारीलाई पटक पटक फोन गरेको र रिमालकै दबावका कारण सिरान टेक्नोलोजीका अधिकारीले काठमाडौं प्रेसका सम्पादक मण्डललाई समाचार हटाउन निर्देशन दिएको खुलेको छ ।
कसमस विश्वकर्मा प्रधानसम्पादक रहेको काठमान्डु प्रेसले आफ्नो समाचार पोर्टल अष्गर अली समुहले ह्याक गरेको आरोप लगाएको छ । अलि एफ वान सफ्ट इन्टरनेश्नल नामक कम्पनिका मालिक हुन् । एफ वानले सिरान टेक्नोलोजी, इसेवा फोनपे प्रा.ली लगायत ९ वटालाई आफ्नो सहायक कम्पनिको रुपमा विस्तार गरेको छ ।
एफवान सफ्ट इन्टरनेश्नल नामक कम्पनिले आफ्नो भगीनी संस्थाको रुपमा खडा गरेको सिरान टेकनोलोजीले काठमाण्डु प्रेसको वेभ डोभलप गरेको थियो । यो कम्पनिमा अष्गर अली, विश्वास ढकाल सुभाष सापकोटा, लगायत ५ व्यक्तिको शेयर रहेको जनाइएको छ । ती मध्ये एक भने नेपालको प्रतिष्ठित मिडिया उद्यमीका पुत्र रहेका छन् ।
काठमाडौं प्रेसले अष्गर अलीसहितको नाम जोडेर समाचार प्रकाशन गरेपछि कम्पनिका अध्यक्ष विश्वास ढकालले समाचार हटाउन तिब्र दबाव दिएका थिए । तर, दबावका बावजुत पनि समाचार नहटाएपछि वेभडेभलोपर कम्पनि स्वयंले हटाएको थियो । समाचार हटाएपछि काठमाडौं प्रेसले विज्ञप्तिनै प्रकाशन गरेर घटनाको जानकारी दिएको छ । यता सम्पादकहरुले पनि समाचार हटाइएको घटनाको विरोध गरेका छन् ।
२१ मूलधारका सम्पादकहरुले विज्ञप्ति मार्फत सरकारको कडा विरोध गरेका छन् ।
मध्यरातमा रिमाललाई किन पर्यो चिन्ता ?
प्रधानमन्त्रीकै आइटी विज्ञको समलग्नतामा काठमाडौं प्रेसको समाचार हटाइएको विषय सार्वजनिक भएपछि बुधबार राती ९ बजेर ५८ मिनेटमा रिमालले दुई वटा ट्वीट गरेका छन् ।
‘सोच्नु होस् त
यदी तपाईहरूलाई टर्चर गर्न तपाईंका आफन्तरपरिवार लक्षित अपमानजनक आरोप सार्वजनिक रूपमा शुरूभए कस्तो महसुस गर्नुहुन्छ ?
मेरो प्रश्न छ
यो ’प्रोक्सी वार’ कस्का ईशारामा किन र केका लागि हो ?
के हाम्रो मिडिया मुख छोप्दै परपीडामा रमाउने अत्याचारी मशिनको तहमा गिरी सकेकै हो ?’
मिडियामाथि आक्रोशित हुँदै यस्तो लेखेका उनले फेरी काठमाडौं प्रेसमा प्रकाशित समाचारको स्क्रिन सर्ट सहित अर्को ट्वीट गरेका छन् ।
रिमालको ट्वीटमा लेखिएको छ,—
‘काठमाडौ प्रेस र त्यसका सन्चालकहरूलाई एउटा आग्रह आरोप पुष्टी गर्नुस् !
तपाईंहरूलाई, म वा मैले समर्थन गरेको सरकार मन नपर्न सक्छ ।
तथ्य छ भने जे लेख्नु छ त्यो लेख्नुस् । चुनौती छ ।
तर मेरो कामसंग कुनै पनि साईनो सम्बन्ध नभएका मेरा परिवारजनलाई टर्चर र अपमानित गर्ने काम किन गर्दै हुनुहुन्छ ?’
रिमालका यी दुई ट्वीटको स्पष्ट संकेत के हो भने उनले आफ्नो परिवारको पीडा सहन नसकेर समाचार हटाउन निर्देशन दिएका हुन् । अन्यथा उनले समाचार हटाएको विषय भाइरल बनेपछि राती यस्तो ट्वीट गर्नु जरुरी थिएन । प्रेस काउन्सिल मार्फत आधिकारीक खण्डन गराउने अधिकार उनमा थियो ।
तर उनले यसो गरेनन् समाचार हटाउन भरपुर आफ्नो पदको दुरुपयोग गरे । फलस्वरुप काठमाडौं प्रेसको सि प्यानाल केही घण्टा अनधिकृत रुपमा कब्जा गरेर समाचार नै हटाइए ।