‘लकडाउन’मा धादिङको मैदीमा काठ तस्करी, काठसहित ट्रक बरामद भएपनि तस्कर फरार !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता,


धादिङ २१ चैत्र । विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस कोभिड १९ को त्रासका कारण नेपाल पूर्ण लकडाउन छ । नागरिकलाई हिँडडुलमा समेत सरकारले प्रतिबन्ध लगाएको छ । तर, धादिङको ज्वालामुखि गाउँपालिका १ मैदीमा भने तस्करहरुले सामुदायीक बनको काठ चोरी तस्करी गरिरहेको पाइएको छ ।


मैदी प्रहरी चौकीले ज्वालामुखि गाउँपालिका १ बाट गाडी सहित केही काठ बरामद गरेको छ । विहिबार साढे ६ बजे तिर प्रहरीले बा ४ ख १७२७ नम्बरको ट्रकसहित ६० क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले दियोपोस्टलाई जानकारी दिए । प्रहरीले ३७ वटा चिरान सालको काठ र ट्रक नियन्त्तणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको छ । ट्रकका मालिक तथा काठ तस्कर गुरुङ साइला भनिने भिम बहादुर गुरुङ भने फरार रहेको जनाइएको छ ।


तस्करहरुले डल्कु लामाटार सामुदायीक वन उपभोक्ता समितिको काठ तस्करी गरेका थिए । तस्करहरुले स्थानिय राजनीतिक संरक्षणमा गैरकानुनी रुपमा काठ तस्करी गर्दै आएका छन् ।
तस्करी अभियोगमा यसअघि नै जिल्ला वन कार्यालयले सोही वडाका वडाध्यक्ष राम प्रसाद सिलवाललाई समेत छानबीनमा तानेको थियो ।

सम्बन्धित खबर