
धादिङ, २२ चैत्र । लकडाउन उल्लंघन गरेको अभियोगमा प्रहरीले सडकमा हिँड्ने जनतामाथि लाठी हान्नेदेखि ग्याँस सहित उठबस गराएको घटनामा विभिन्न प्रहरी कर्मचारी कारबाहीमा परिसकेका छन् । तर, घर भित्रै गएर मजदुरमाथि निर्घात कुटपीट गर्ने सशस्त्र प्रहरीमाथि भने सशस्त्र प्रहरी हेडक्वाटर बेखबर भएको पाइएको छ ।
गत चैत्र १९ गते बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ५ स्थित् बुङचुङमा निर्माण व्यावसायीले आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा छलफल गर्दै गर्दा सशस्त्र प्रहरीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेका थिए । कुटपीटको घटना दियोपोस्ट लगायत सञ्चार माध्यमले समाचार प्रकाशन गरेको थियो ।

कुटपीटको घटनाको विषयमा दियोपोस्टले सशस्त्र प्रहरी बल धादिङका प्रमुख डिएसपी धिरेन्द्रराज न्यौपानेसँग प्रतिक्रिया लिँदा आफूहरुले कुटपीट गरेको स्वीकार गरेका थिए । तर, सशस्त्रका हेडक्वटर भने हालसम्म पनि घटनाबारे बेखबर छ । यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले घटनाको ३ दिन पश्चात प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठलाई सम्पर्क गरेको थियो । उनले यस विषयमा बुझ्ने भन्दै घटनाबारे थाहा नपाएको बताए ।

आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा निर्माण ब्यवसायी अशोक श्रेष्ठको घरमा जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउने भन्ने बिषयमा छलफल गर्दै गर्दा साँझ ५ बजे एक्कासी सशस्त्र प्रहरी धादिङका सहायक निरिक्षक असइ हरी बहादुर केसीको नेतृत्वमा आएको टोलीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको पीडितले बताएका थिए ।
आफ्नै घरको भान्सा कोठामा ओल्लो पल्लो घरका साथीहरुबीच गम्भीर बिषयमा छलफल गर्दा समेत सशस्त्र प्रहरीको टोलीले कुनै कुरै नसोधी आफूुहरुलाई गोरु कुटेझै लठ्ठीले हिर्काएको घर धनी समेत रहेका पीडित अशोक श्रेष्ठले बताएका थिए ।
घाइते अशोकका अनुसार सशस्त्र प्रहरीले घरभित्र छिरी लकडाउनमा रक्सी खाने भन्दै एक्कासी गोरु कुटेझै लठ्ठीले कुटेको हो । आफुहरले बिषयबस्तुवारे जानकारी गराँउदा समेत प्रहरीले कुरै नसुनी अन्धाधुन्द कुटेको थियो ।
उल्टै प्रहरीले आईन्दा अवदेखी तेरो घरमा ५ जनाभन्दा बढि मान्छे देखे भाटे कारवाहि र १ महिना थुनिदिने भन्दै धम्की दिएको पीडित अशोक श्रेष्ठले बताएका थिए ।