
दियोपोष्ट संवाददाता,
धादिङ, २ वैशाख । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी स्थित सातदोबाटोमा रहेको मैदी स्वास्थ्य चौकीमा र्यापिड टेष्ट (द्रुत गतिको परिक्षण)का क्रममा एक व्यक्तिमा कोभिड १९ पोजिटिभ देखिएको छ ।
धादिङको ज्वालामूखि गाउँपालिका वडा नम्बर ३ अमराई घर भएका दीपक सापकोटालाई सोमबार र्यापिड टेष्ट गर्ने क्रममा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको हो ।
धादिङकै एक एनजिओमा कार्यरत सापकोटा आजभन्दा ४२ दिन अघि दक्षिण कोरियाबाट नेपाल फर्किएको उनले बताए ।
विदेशबाट आएका ३५ जनामा गाउँपालिकाले गरेको आरडिटी परिक्षण उनको रिपोर्ट पोजेटिभ आएको हो । यद्धपपी उनलाई पिसीआर टेष्ट गर्नका लागि काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग उपचार केन्द्र पुर्याउने तयारी गरिएको छ ।
२७ वर्षिय सापकोटाले दियोपोष्टसँग यस्तो बताए :
म मैदी स्वास्थ्य चौकीमा र्यापिड टेष्ट गर्न गएको थिएँ । यहाँका स्वस्थ्यकर्मीले र्यापिड टेष्टमा पोजिटिभ देखियो भनेर सञ्चार माध्यमलाई खबर गरेछन् । केही सञ्चार माध्यमले खबर छापिसकेका रहेछन् । मलाई परिक्षण गर्ने स्वास्थ्य कर्मीले पीपीइ लगाएका थिए । कसले रगत झिक्यो भन्ने मलाई थाहा छैन । म कोरियाबाट मार्च ३ मा नेपाल आएको हुँ । अहिले ४२ दिन भयो । कोरोना भाइरस कोभिड १९ सँग मिल्ने कुनै लक्षण देखिएको छैन । मेरो स्वास्थ्यमा केही समस्या नै छैन । एक हप्ताअघि सामान्य खोकी लागेको थियो । अहिले म घरमै छु । मलाई बाँकी परिक्षणका लागि काठमाडौं लैजाने तयारी छ । गाउँपालिका र वडा कार्यालयले लैजाने तयारी गरेको छ । अहिले एम्बुलेन्स खोजी कार्य जारी छ । म ठीक छु । मलाई त्यस्तो कुनै समस्या नै छैन ।