
काठमाडौँ, वैशाख ५ । उदयपुरमा एकैदिन १२ जना कोरोना संक्रमित भेटिएका छन् । भारतबाट आएर एक मस्जिदमा लुकेर बसेका ६ जना सहित अन्य ६ जनामा समेत कोरोना भाइरस पोजेटिभ भेटिएको हो । भारतबाट आएर बसेको सुचनाका आधारमा स्थानीय प्रशासन र स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर आरडीटी परिक्षण गरेका थिए ।
आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनिहरुको श्वाव परिक्षणका लागि कोसी अस्पताल पुर्याइएको थियो । कोशी अस्पतालमा पिसिआर परिक्षणपछि उनिहरुमा कोरोना पोजेटिभ देखिएपछि थप परिक्षणका लागि शुक्रराज ट्रपिकल अस्पतालमा नमुना पठाइएको बताइएको छ ।
शुक्रबार नै चितवनमा आमा छोरामा कोरोना पोजेटिभ देखिएको छ । चितवनको राप्ती नगरपालिका बस्ने ६३ वर्षीया आमा र २७ वर्षीया छोरामा आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको थियो भने चितवनमै पीसीआर टेस्ट गर्दा प्राविधिक समस्या देखिएपछि थप परीक्षणका लागि शुक्रबार बिहानै काठमाडौं पठाइएको थियो ।
शुक्रराज ट्रपिकल अस्पतालको रिपोर्टपछि उनिहरुमा कोरोना पुष्टि भएको हो । उनिहरु गत चैत ३ गते वेलायतबाट नेपाल आएको बताइएको छ । शुक्रबार कोरोना पोजेटिभ देखिएकाहरुको बारेमा भने सरकाले आधिकारिक घोषणा गर्न बाँकी नै छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।