
काठमाडौं, १० वैशाख । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्यालादारी मजदुरदेखि राजधानीमा विभिन्न कामका शिलशीलामा गाउँबाट आएका सर्वसाधारणको अवस्था नाजुक बन्दै गएको छ ।

केही मजदुर हिँडेरै आफ्नो घर फर्कन सरकारले घोषणा गरेको लकडाउनमाथि नै प्रश्न उठेको थियो । तर, केही स्थानिय जनप्रतिनिधिले भने आफ्नो क्षेत्रबाट आएका जनतालाई गाउँघर फर्कने व्यवस्था गरेका छन् । केही दिनअघि उर्जामन्त्री वर्षमान पुनले मध्यरातमा आफै पुगेर रोल्पाका सयौं जनतालाई उद्दार गरी गृह जिल्ला पठाए ।

धादिङबाट काठमाडौं काम र अध्ययनमा आएका मानिसहरु पनि लकडाउनका कारण समस्यामा परेपछि जनप्रतिनिधि नै उद्दारमा खटिएका छन् । धादिङका प्रदेश सांसद जगत सिंखडाले बुधबार धादिङका उत्तरी क्षेत्रबाट काठमाडौं आएर आफ्नो घर पुग्न नपाएका मजदुर र विद्यार्थीको उद्दार गरेका छन् ।

उद्दारका लागि सांसद सिंखडा धादिङबाट काठमाडौंको माछापोखरी स्थित बसपार्कमै पुगेका थिए । उनको पहलमा ६ सय जनाभन्दा बढीको उद्दार भएको छ । ‘१४ वटा गाडीमा ६ सय भन्दा बढी मानिसहरु आज धादिङको उत्तरी क्षेत्र हिँडेका छन्,’ सांसद सिंखडाले भने,‘प्रशासनसँगको समन्वयमा ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई हामीले गाउँघर पठाएका हौँ ।’
सांसद सिंखडाले गाडीमा प्रवेश गर्ने सबै मजदुर तथा विद्यार्थीलाई निशुल्क मास्क समेत वितरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय धादिङले पनि गाउँ फर्कन चाहनेको लागि ग्रामिण यातयातका बसहरुमा सवारी पासको व्यवस्था गरी सञ्चालन गर्ने अनुमति दिएको छ ।
सांसद सिंखडाले बुधबार त्रिपुरा सुन्दरी गाउँपालिका लगायतका स्थानियलाई उद्दार गरेका हुन् ।