
काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारीको बीच अध्यादेश मार्फत अन्य पार्टीहरु फूटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
अध्यादेश जारी भएको २ दिन बित्न नपाउँदै समाजवादी पार्टी र राजपाबीच एकता भइसकेको छ । समाजवादी र राजपा एकता भएपनि समाजवादी पार्टी फूटाउन प्रधानमन्त्री नै क्रियाशिल भएको आरोप लागेको छ ।
समाजवादी पार्टीका नेता गंगा श्रेष्ठका अनुसार पार्टी विभाजनका लागि नेकपाका नेता महेश बस्नेत राजधानीको नक्साल स्थित होटल म्यारियटमा पुगेका थिए ।
उनी समाजवादी पार्टीका केही सांसदलाई लिएर होटलबाटै रातोकारमा भागेको समेत श्रेष्ठले बताएका छन् ।
‘पाँचतारे होटल मेरियट नक्सालमा नक्सालमा ७०१ र ७१५ सम्मका कोठाहरूमा थुनेर राखेको भन्ने खबर आएपछि वास्तविकता बुझ्न म बिहान ८ः३० बजे त्यस होटलमा पुगेँ । म पुग्दा आङकाजी शेर्पालगायतका केही साथीहरू पनि होटलमा पुगिसक्नु भएको रहेछ ,’ श्रेष्ठले सामाजिक सञ्जालमै लेखेका छन्,‘हामीलाई होटलभित्र छिर्न दिइएन । झन्नै ९ बजेतिर कलुदेवी विश्वकर्मालगायतका सांसदहरूलाई एउटा रातो कारमा हालेर पछाडिको गेटबाट नेकपाका नेता महेश बस्नेतहरूले भगाए । त्यसपछि हामी घर फर्कन लाग्दै थियौं । एक्कासी ३ भ्यान प्रहरी आएर हामीलाई घेरा हालेर हामीलाई नियन्त्रणमा लिए । १० मिनेटपछि हामीलाई छाडिदिए ।’