काठमाडौं, १६ वैशाख । सुचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टिकरण लिएका छन् । मन्त्रिपरिषदको निर्णय अनुसार भन्दै सञ्चार मन्त्रालयले दुई वटा छुट्टा छुट्टै स्पष्टिकरण लिएको हो ।
नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रमका अतिथि बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘भष्मासुर’ जस्ता शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालले अनलाइन संस्करणबाट डा. भट्टराईको अन्तर्वार्ता नै हटाएको थियो ।
मन्त्रालयकै लेटरप्याडमा मंगलबार छुट्टै स्पष्टिकरण समेत सोधिएको छ ।
‘अन्तरसंवाद कार्यक्रममा बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारकाविरूद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रशारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कसो भएको हा े? तीन दिन भित्रमा स्पष्टिकरण पेश गर्नुहुन वैशाख १५ को मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ,’ सहसचिव अर्याल हस्ताक्षेर गरेको पत्रमा भनिएको छ ।
अर्को पत्रमा भने जग्गा घोटालमा समेत कार्कीलाई मुछिएको छ ।
‘सञ्चार मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकांकको सन्तोषजनक प्रगति हुन नसक्नुका कारण, रेडियो नेपालको समग्र वार्षिक कार्यक्रम समयमा सम्पन्न गर्न नसकेको विषय, खुमलटारस्थित रेडियो नेपालको जग्गाको न्युनतम दर कायम गर्दा सरकारी निकायको भाडादर तथा प्रचलित बजार मूल्यको आधार नलिएको र वर्तमान कार्यकारी निर्देशकको कार्यशैली हरेक दृष्टिले संस्थाको हितमा नदेखिएको भनि औंल्याएको विषय’ मन्त्रालयले काटेको पत्रमा भनिएको छ ।