पदक वितरणमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको रजाइँ : एक हप्तामै २१ करोड खर्च !

पदक वितरणमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको रजाइँ : एक हप्तामै २१ करोड खर्च !

काठमाडौं, १ वैशाख । सरकारी सेवामा उत्कृष्ठता हासिल गर्नेहरुलाई मान पदवी विभुषण गर्ने प्रचलन थियो । तर, अहिले मान पदवी विभुषण निजि क्षेत्रका व्यापारीदेखि सरकारी निकायमै बद्नामी कमाएकाहरुको हातमा पर्ने गरेको छ । विभुषण पाउनेहरु नै बद्नाम हुने भएपछि बहिष्कार गर्नेहरु बढ्न थालेका छन् । केहीदिन अघि पत्रकार लक्ष्मी पुनले गृहमन्त्रालयमै गएर विभूषणको पदक बहिष्कार गरिन् ।


विगत तीन वर्षदेखि पदक वितरणमा गृहमन्त्रालय भन्दा पनि उपप्रधान तथा विनाविभागीय मन्त्री ईश्वर पोखरेलको हालीमुहाली छ । २०६७ सालमा पदक पाउनेहरुको संख्या २ सय ६९ जना मात्रै थियो । ६९ सालमा १६४ जनाले मात्रै मान पदवी पाएका थिए । २०७० सालमा आएर जम्मा १ सय ८९ जनाले मात्रै पदक पाएका थिए । तर, २०७५ सालमा जब ईश्वर पोखरेल विभिन्न मन्त्रालय हुँदै सत्तामा आए त्यसपछि एकै वर्ष पदक पाउनेको संख्या ५ सय १८ जना पुग्यो । ७६ सालमा त्यो भन्दा धेरै बढेर ६ सय ३३ पुर्याइयो ।

गृहमन्त्रालयले २ सयभन्दा बढी पदक नबाँढ्ने कार्याविधि नै बनाएपनि सत्तामा हालिमुहाली गरिरहेका पोखरेलले यो वर्ष नै ५९४ जनालाई पदक वितरण गरेका छन् ।


यो हप्ता मात्रै सरकारले २१ करोड रुपैयाँ पदकमै खर्चेको पाइएको छ । १२ सय २७ जनालाई वितरण गरिएको पदक मनोमानी बाँढिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले गत शुक्रबार ६ सय ३३ जनालाई पदक तथा मानपदवी वितरण गरिसकेकी छिन् । आज नयाँ वर्षकै दिन पारेर भण्डारीले फेरी ५ सय ९४ जनालाई विभुषित गर्ने कार्यक्रम रहेको छ । विभुषित हुनेहरुले न्युनतम २ तोलासम्म सुन जडित पदक पाउने गरेका छन् । पदक पाउनेहरुमा निजि क्षेत्रका अत्यन्त विवादित व्यक्तिहरु समेत छन् । केहीदिन अघि एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ रोशन न्यौपानेले पनि पदक हात पारेका छन् ।

उनी समलग्न रहेको बैंकका अध्यक्ष तुल्सिराम अग्रवाल पनि पदक पाउने सुचीमा छन् । उनलाई प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहाकार मोतीलाल दुगडले सिफारिस गरेका हुन् । दुगड नेपालमा अवैध रुपमा नुन बेचविखनमा मुछिएका व्यक्ति हुन् । उनको कम्पनि दुगड फूड एण्ड स्पाइसेसलाई ट्रेडमार्क चोरीको अभियोग समेत छ ।

यता प्रधानमन्त्री केपी ओलीको गुणगान गाएर गोरखा पत्रमा लेख लेखेबापत सुनसरीका साहित्यकार बद्रीबिशाल पोखरेल पनि सुप्रवल जनसेवा श्री तृतियबाट विभूषित हुने भएका छन् ।


उपप्रधानमन्त्री ईश्वर पोखरेलले अर्का एक विवादास्पद पात्रलाई समेत पुरस्कार दिएर गुण तिर्ने तयारी थालेका छन् । गत वर्ष २ लाख राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार थाप्ने सुर्य गौतम फेरी विभूषित हुने बताइएको छ । उनले आफू लोकसेवा आयोगमा रहँदा आफ्नै श्रीमती ईन्दिरा ढकालको कापी जाँच गरेर श्रीमतीलाई उत्तीर्ण गराएका थिए ।

उनै गौतम सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहँदा उपप्रधानमन्त्री पोखरेल समेत समलग्न रहेको ओम्नीलाई कालोसुचीबाट हटाइदिएका थिए । गौतमलाई पुरष्कृत गर्न पोखरेलले सिफारिस गरेको बताइएको छ । तक्मा पाउनेहरुको सुचीमा २२ जना गृहमन्त्रालयकै कर्मचारी रहेको बताइन्छ । विभूषण समितिका सदस्य गृहसचिव महेश्वर न्यौपानेले भने आफ्नै साढु भाईलाई समेत पदकबाट विभूषित हुनेको सुचीमा राखेका छन् ।

Trending News