‘रअ प्रमुख र केपी ओलीबीचको सम्झौता ‘फेक’ : भाइरल बनाउने १५ जनामाथि प्रहरी अनुसन्धान !

‘रअ प्रमुख र केपी ओलीबीचको सम्झौता ‘फेक’ : भाइरल बनाउने १५ जनामाथि प्रहरी अनुसन्धान !

काठमाडौं, ३ वैशाख । विहिबार साँझ एक अनलाइन मार्फत भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयल र नेपालका प्रधानमन्त्री केपी ओलीबीच भएको सम्झौता भन्दै पत्रसहितको समाचार सार्वजनिक भयो ।


पत्र नै सार्वजनिक भएकाले उक्त पत्र प्रति नै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न आशंका गरेका छन् ।


नेपाली मिडियामा प्रकाशन हुने समाचारको फ्याक्ट चेक गर्दै आएका चर्चित ब्लगर उमेश श्रेष्ठले रअ प्रमुख गोयल र प्रधानन्त्री ओलीबीच भएको भनिएको चार बुँदे सम्झौता पत्र प्रति ‘चार बुँदे शंका’ पेश गरेका छन् ।


सम्झौता पत्रको फम्र्याट दुई देशबीचको यसअघि भएका सम्झौताका फम्र्याटसँग त मेल खाँदैन नै भाषागत समस्याहरु समेत देखिएका छन् ।

‘डकुमेन्टको शिरमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ । यसको मतलब यो आधिकारिक डकुमेन्ट होइन, आधिकारिक अरु नै कुनै भाषा– नेपाली, हिन्दी वा कुनै भाषामा भयो होला मानौँ । यो अनौपचारिक रुपमा अनुवाद गरिएको डकुमेन्ट हो । तर अनुवाद गरिएको डकुमेन्ट भए पनि मुन्तिर भने प्रधानमन्त्री र गोयलको हस्ताक्षर गरिएको छ,’ तथ्य जाँच गर्दै आएका श्रेष्ठले माइसंसारमा लेखेका छन्,‘खासमा दुई देशबीच कुनै हस्ताक्षर हुँदा आधिकारिक डकुमेन्टमा मात्र हस्ताक्षर गरिन्छ, अनौपचारिक अनुवादमा होइन। तर यसमा अनअफिसियल ट्रान्सलेसनमै हस्ताक्षर गरेको देखाइएको छ । यो ज्यादै शंकाको विषय हो ।’


प्रधानमन्त्रीले त्यस्तो पत्र बनाएरै सम्झौता गरेको भए उनीमाथि कडा कारबाही हुनुपर्ने अन्यथा पत्र बनाउनेमाथि कारबाही हुनुपर्ने एक अधिवक्ता बताउँछन् ।


‘शंकाष्पद पत्र सार्वजनिक भएपछि विभिन्न व्यक्तिहरुले सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । यदि पत्रमा देखिएको जस्तौ एउटा देशका खुफिया एजेन्सीका प्रमुखसँग हाम्रा प्रधानमन्त्रीले सम्झौता गरेको भए देशका लागि त्यो अक्षम्य अपराध हो,’ एक अधिवक्ता भन्छन्,‘तर, कसैले नक्कली सम्झौता बनाएर भाइरल बनाए त्यसलाई पनि कारबाही गर्ने कानुनी व्यवस्था छ ।’


नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले उक्त पत्र फेक भएकाले प्रहरीले अनुसन्धान गरिएको बताए । उनका अनुसार प्रहरीको साइबर ब्युरोले उक्त पत्र बारे अनुसन्धान गर्दै छ ।
उच्च स्रोतका अनुसार नक्कली पत्र भाइरल बनाउने १५ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Trending News