
काठमाडौं, ८ वैशाख । होटल मेरियटमा भएको प्रधानमन्त्री केपी ओली र माधव नेपालबीच भेटको तस्विर सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीकै सचिवालयबाट सार्वजनिक भएको तस्विरमा प्रधानमन्त्री ओली उपरखुट्टी लगाएर बसेका छन् ।
यता वरिष्ठ नेता माधव नेपाल भने शालिन रुपमा दुवै खुट्टा मिलाएर मर्यादित अवस्थामा बसेका छन् । प्रधानमन्त्री ओली हरेक जस्तो भेटघाट र वार्ताहरुमा असभ्य र अमर्यादित रुपमा देखिने गरेको भन्दै यसअघि नै आलोचना हुने गरेको थियो । ओलीको बोलीलाई लिएर समेत सर्वत्र आलोचना हुने गरेको छ ।
नेता नेपाल र ओलीबीच आज साँझ होटल मेरियटमा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको अवैतनिक आर्थिक सल्लाहाकार मोती दुगडको नाममा बुक भएको कोठा नम्बर ९०१ मा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
नेता नेपाललाई लामो समयपछि भएको दुई नेताबीचको भेटले संवादहिनता तोडिएको छ । नेता नेपाललाई भेट्न ७ मिनेट पछि पुगेका उनले शुरुमै ‘तपाईंलाई कस्तो छ ?’ भन्दै प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओली र नेपालबीच विस्तृत कुराकानी के भयो भन्ने विषयमा केही कुरा आएको छैन ।