
धादिङ्ग, ११ वैशाख । धादिङको नीलकण्ठ नगरपालिका वडा नं.– २ को वडा कार्यालय भवनको निर्माणमा मेयर भिम ढुंगानाले मनोमानी गरेका छन् । अस्थायी रुपमा बसाहामा सञ्चालन हुँदै आएको वडा कार्यालयको स्थायी भवन वडाका २ तिहाई नागरिकलाई पायक पर्नेगरी भवनघरमा निर्माण गर्ने ठेक्का नै भएर निर्माण समेत थालिएको थियो । ठेक्का स्विकृत गर्ने सबै प्रक्रियामा वडा समिति र नगर कार्यपालिकाको बैठकको सर्बसम्मत निणर्य थियो । जसमा ढंगानाकै नेतृत्व थियो । तर, आफैले गरेको निर्णयलाई समेत लत्याएर उनले घिनलाग्दो राजनीति गरेको स्थानियको आरोप छ ।
नगर प्रमुख ढुङ्गानाले आफ्नै निर्णय उल्ट्याउँदै नगर कार्यपालिकाको बैठक र नगरसभामा एजेन्डा बिना नै बहुमतको दम्भ देखाएको आरोप छ ।
स्थानियबासीले बिरोध स्वरुप वडा कार्यालयको सामग्री भवनघर ल्याएका थिए ।
के थियो विवाद ?
अस्थायी रुपमा बसाहमा वडा कार्यालय सञ्चालनमा आएता पनि स्थायी रुपमा वडाका दुई तिहाई नागरिकलाई पायक पर्नेगरी भवन घर वडा कार्यालय बनाउने नगर कार्यपालिकाले मिति २०७६ श्रावण २८ गते सर्वसम्मत निर्णय गरेको थियो । सोही निर्णयका आधारमा ०७६ असोज १५ गते वडा कार्यालय भवन निर्माणका लागि ठेक्का खोल्ने निर्णय समेत भएको थियो । बैठककै निर्णयका आधारमा ०७६ मङ्सिर ६ गते तृष्णा कन्ट्रक्सनले ठेक्का हात पारेको थियो । काम सुरु गरेको १ वर्षसम्म भवन निर्माणमा कुनै प्रगति समेत हुन सकेको थिएन । वडा समितिले भवन निर्माणको कार्य अघि बढाउन पटक पटक ध्यानाकर्षण गराएको थियो । वडाको अनुरोध र नगरकार्यपालिकाले सर्वसम्मतमा गरेको निर्णयलाई उल्ट्याउँदै मेयर ढुङ्गानाले एकाएक आफ्नो पार्टी नेपाली काङ्ग्रेसमा बसाहका केही व्यक्तिहरु प्रवेश गरेपछि बसाहमा नै स्थायी वडा कार्यालय निर्माण गर्ने भाषण गरेका थिए । स्रोतका अनुसार ढुंगानाले वडा कार्यालय सार्ने आश्वासनकै आधारमा पार्टी प्रवेश गराएका थिए । नगर कार्यपालिकाको निर्णय उल्ट्याउँदै ढुङ्गानाले फाल्गुण ११ गते बसेको कार्यपालिका बैठकमा बिना एजेन्डा नै बहूमतको निर्णय भन्दै बसाह नै वडा कार्यालय राख्ने निर्णय गराएका थिए । यस्तै ०७७ फाल्गुण ११, २८ र २९ गते भएको नगरसभामा समेत ढुङ्गानाले बहूमतको दम्भ देखाउँदै बसाहलाई नै वडा कार्यालय कायम गर्ने निर्णय गराएको आरोप छ ।
वडासमितिको सिफारिसको आधारमा निर्णय गरिएको हो ः ढुंगाना
यस विषयमा प्रतिक्रिया लिन ढुंगानलाई सम्पर्क गर्दा उनले भने,“वडाले बसाहमा नै वडा कार्यालय भवन बनाउनुपर्छ भनेर लिखित निर्णय सहित निवेदन पेस गरेकाले वडा समितिको निर्णयलाई कार्यान्वयन गर्नको लागि हामीले प्रकृया अगाडि बढाएका हौँ । शुक्रबार गुण्डागर्दी शैलीमा वडा कार्यालयका सामग्री जफलत गर्नु निन्दनीय छ ।”
यता वडा अध्यक्ष ध्वज बहादुर गुरुङले एक वर्षसम्म भवन घरमा वडा कार्यालय बन्न नसकेको बताए । “साविककै ठाउँ भवनघरमा वडा कार्यालय निर्माणका लागि प्रकृया अगाढि बढ्यो तर काम सुरुवात गरेको १ वर्षसम्म पनि कुनै प्रगति भएन त्यसपश्चात हामीले बसाहमा अस्थायी वडा कार्यालय निर्माणका लागि नगरपालिकामा निवेदन दिदा नगर प्रमुखले भवन घरमै कार्यालय निर्माण कार्य सुरु भएकाले अन्त सार्न नसकिने जवाफ दिनुभयो,’ उनले भने,‘ हामीले पुनः वडा समितिको बैठक बस्दै मिति २०७७ साल माघ ७ गते साविककै स्थानमा भवन निर्माण प्रक्रिया अबिलम्ब सुरु गर्न नगरपालिकालाई अनुरोध सहित निवेदन पेश गरेका हौँ ।”
अध्यक्ष गुरुङका अनुसार भवनघर वडा कार्यालय रहँदा साविकको ३,४,६,८ र ९ करिब २ तिहाइ नागरिकलाई पायक पर्छ । त्यसैले नागरिकहरुले स्वत स्फुर्त रुपमा शुक्रबार विद्रोह गरेका हुन् ।
वडा कार्यालयको नाममा १ रोपनी ३ आना जग्गा भएको र निर्माण प्रक्रिया समेत अगाडि बढेको अवस्थामा मेयर ढुङ्गानाले बहूमतको दम्भ देखाउँदै राजनैतिक स्वार्थ पुरा गर्नकै लागि वडा कार्यालयको बारेमा विवादास्पद निर्णय गरेको एक स्थानिय बताउँछन् ।