काठमाडौं । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा पुग्ने सवारी साधनका लागि भाडा समायोजन गरिसकेको छैन । भाडा बढाउने सैद्धान्तिक सहमति भएपछि नितिगत निर्णय भइसकेको छैन । तर, काठमाडौं पोखरा र पोखरा काठमाडौं चल्ने बस व्यावसायीहरुको संस्था पृथ्वी राजमार्ग यातयात व्यावसायी कम्पनिले गैरकानुनी रुपमा भाडा बृद्धि गरेको पाइएको छ ।
केहीदिन अघिदेखि नै पोखराबाट काठमाडौं आउने यात्रु तथा काठमाडौंबाट पोखरा जाने यात्रुहरुमाथि कम्पनिले चर्को भाडा असुली गरेको पाइएको हो ।
यसअघि काठमाडौं पोखराको भाडा प्रति व्यक्ति ६ सय २५ रुपैयाँ थियो तर, बुधबारदेखि नै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनि प्राइभेट लिमिटेडले प्रतिव्यक्ति ७ सय ६० रुपैयाँ भाडा असुली गर्दै आएको छ ।
‘सरकारले भाडा बढाएको छैन । तर, पृथ्वी राजमार्ग बस संचालक समितिले सरकार भन्दा अगाडीनै भाडा बढाएर हामी यात्रुमाथि ठगी गर्यो,’ एक यात्रुले दियोपोस्टसँग भने,‘चर्को भाडा लिनेमाथि प्रशासनले समेत संरक्षण गर्दै आएको छ ।’
कम्पनिले आफूखसी २० प्रतिशत भाडा बढाएको विषयमा पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्र केसी कम्पनिलाई समितिमा रुपान्तरण गर्ने ऐनमै समस्या भएको औँल्याउँछन् ।
तर, महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रवक्ता सुचना अधिकारी संजिव शर्मा दास भने सर्वसाधरणले टिकटको फोटोसहित प्रहरीलाई सम्पर्क गरे आफूहरुले कारबाही गर्ने बताउँछन् ।