छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बारा घर भएका २१ वर्षीय रबिन कुमार यादव रहेका छन् । भरतपुर महानगरपालिका–१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासीगर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी शनिबार साँझ पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसहित २ जना रहेका छन् । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी शनिबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।