आइएमई रेमिट बिक्री गर्दा ढकाल दाजु भाईले ‘६३ करोड’ रुपैयाँ बढी लाभकर छली गरेको खुलाशा !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले राज्यलाई करोडौँ रुपैयाँ पुँजिगत लाभकर छली गरेको खुलाशा भएको छ । ढकाल र उनका भाई हेमराज ढकालको मिलेमतोमा अर्बौंको एउटा डिलमा राज्यलाई वर्षौंदेखि ६३ करोड रुपैयाँ भन्दा राजश्व छली गरेको स्रोतले जनाएको छ ।

प्रसंग आजभन्दा ९ वर्षअघिको हो । जुन कारोबारलाई ढकाल दाजुभाईले हालसम्म गोप्य राखेका छन् । सन् २०१५ जुन महिनामा मलेशियास्थित ढकालको स्वामित्व रहेको आईएमईको शाखा कार्यालयको रुपमा रहेको आइएमई एसडिएन बिएचडीको स्वामित्व अमेरिकन कम्पनि युरोनेट वर्ल्ड वाइड, इंकको सहायक कम्पनि रिय मनि ट्रान्सफरलाई हस्तान्तरण गर्दा राज्यलाई एक रुपैयाँपनि पुँजीगत लाभकर बुझाएको छैन ।

कम्पनिको वेभसाइट अनुसार सन् २००१ मा राष्ट्र बैंकको स्विकृतिको आधारमा नेपालको पहिलो रेमिट्यान्स कम्पनिको रुपमा आइएमईले मान्यता पाएको थियो । आइएमई समुहले सन् २००२ मा मलेशियाको केन्द्रीय बैंकबाट समेत स्विकृती लिएर आईएमई (एम) एसडिएन बिएचडी मलेशिया कार्यालय संचालनमा आएको थियो । चन्द्रका भाई हेमराजको नाममा दर्ता भएको यो कम्पनि सन् २०१४–१५ सम्म आइपुग्दा ४० मिलियन अमेरिकी डलर अर्थात तत्कालिन विदेशी विनिमय सटही दर अनुसार ४ अर्ब बयालिस करोड आम्दानी गर्ने हैसियतमा पुगेको हेमराजले सम्झौतापछि जारी विज्ञप्तिमा बताएका थिए । त्यतिका रकम सबै नेपाली युवाहरुले खाडी मुलुकमा श्रम गरेबापत कमाएको रकम रेमिट्यान्स बापतको कमिशन हो ।

त्यतिबेला प्रतिशेयर ०.८ देखि ०.१० डलर मुल्यांकन गरेर विक्री गरिएको कम्पनिले आफ्नो प्रेस रिलिजमा जनाएको थियो । विशेष स्रोतबाट प्राप्त कागजात अनुसार युरोनेट वर्ल्ड वाइड इंकले ७६.७ मिलियन युएस डलरमा आइएमई खरिद गरेको हो । आजको विदेशी विनिमय दर अनुसार त्यो भनेको ६ अर्ब ३४ करोड भन्दा बढी रकम हो । राजश्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार आय कर ऐनमा यस्तो कारोबारमा १० प्रतिशत लाभांस कर लाग्नेछ । उनकै हिसाब अनुसार आइएमईले ६३ करोडभन्दा बढी लाभकर छली गरेको छ ।

यो खरिदमा नेपालले हालसम्म एक पैसा पनि लाभकर प्राप्त गरेको छैन । जबकी नेपाली युवाहरुले खाडी मुलुकबाट पठाएको रेमिटेन्सले ठडिएको यो कम्पनिका संस्थापक अध्यक्ष ढकाल नै यो तथ्य लुकाउन उद्दत छन् ।
आश्चर्य त के भने खरिदकर्ता कम्पनि रिय मनि ट्रान्सफरले आफ्नो वेभसाइटमा आइएमई मलेशियालाई आफूहरुले खरिद गरेको उल्लेख गरेको छ । तर, नेपालस्थित आइएमईको वेभसाइटले भने एलाइन्स मात्रै (साझेदारी) गरेको उल्लेख गरेको छ । ‘यो सबै नेपालमा पुँजिगत लाभकर छल्ने षडयन्त्र मात्रै हो,’ आन्तरिक राजश्व विभागका एक पूर्वमहानिर्देशक भन्छन्,‘त्यतिबेला हामीले छानबीन गर्न खोज्दा विभिन्न निकायले दबाव दिएर अनुसन्धान नै प्रभावित बन्यो ।’

ती अधिकारीका अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त आईएमईले मलेशिया वा विश्वको जुनसुकै मुलुकमा शाखा कार्यालय खोले पनि त्यसको दायित्व नेपाल प्रति नै हुनेछ । ढकालले राजनीतिक शक्तिको आडमा छानबीन प्रभावित पारेका थिए ।

स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौतामा आइएमईका तर्फबाट हेमराज ढकालले हस्ताक्षर गरेका थिए भने युरोनेट वर्ल्ड वाइड, इंकका तर्फबाट माइकल जे ब्राउनले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार आईएमईले एशिया र मध्यपूर्वका बजार नै रिय मनि ट्रान्सफरलाई हस्तान्तरण गरेको थियो । नेपाली युवाहरुको प्रमुख रोजगारको गन्तव्यको रुपमा रहेको विशेषगरी खाडी मुलुकबाट रकम पठाउने प्रमुख माध्यम बनेको आइएमईबारे नेपाल सरकारले कुनै जानकारी समेत पाएको छैन ।

आइएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकाल

यस विषयमा प्रतिक्रिया लिन राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढालाई पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आईएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई पनि पटक पटक सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।