काठमाडौं । प्राइम टेलिभिजनका मालिक, जनता जान्न चाहान्छन् कार्यक्रम प्रस्तोता तथा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलाशा भएको छ । धमलाले आफ्ना गृहजिल्ला धादिङ र मधेस प्रदेश र रुकुमका विभिन्न व्यक्तिलाई राेजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरेको पाइएको हो ।
धमलाबाट पीडित भएका एक व्यक्ति दियोपोस्टको कार्यालयमै आएर आफूलाई धमलाले जापान पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ असुली गरेको तर, जापान नपठाई पैसा मात्रै कुम्ल्याएको आरोप लगाए । धादिङको निलकण्ठ नगरपालिका १२ साङकोष घर भएका कपिल भट्टले आफूलाई विगत ८ महिनादेखि धमलाले जापान पठाउँछु भन्दै ठगी गरेको आरोप लगाए ।
‘मलाई कामदार भिषामा जापान पठाइदिन्छु भन्दै उहाँले ८ लाख ५० हजार रुपैयाँ माग्नु भयो । मैले ऋण खोजेर कामाडौंको लैनचौरस्थित होटल एम्बेसडरमा नगदै र केही रकम मेराे भाइकाे माेबाइल बैंकिङको माध्यमबाट रकम बुझाएको हुँ । पैसा दिएको साक्षीहरु पनि हुनुहुन्छ,’ भट्टले भने,‘जापानबाट भिषा आयो । सिओइ पनि आयो भनेर मलाई घरबाट काठमाडौं आउन भनियो । म गत वैशाख १ गते काठमाडौं आएँ । तर, यो सबै झूटो रहेछ । अहिलेसम्म म उहाँसँग धेरै पटक अनुनय गरेँ । तर, अहिलेसम्म पैसा फिर्ता पनि गर्नुभएन । जापान पनि पठाउनु भएन ।’
कपिलका अनुसार धमलाले जापान, कतार र अमेरिका लगायत मुलुक पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेका छन् । मधेस प्रदेशका केही युवाले केहीदिन अघि सिंहदरबार भित्रै धमलाको गाडी भित्र छिरेरै प्रतिरोध गरेको कपिलले प्रत्यक्ष देखेका थिए । ती युवाले गाडी समेत अगाडी बढ्न नदिएपछि धमलाले तत्कालै १ लाख ५० हजार रुपैयाँ फिर्ता गरेको कपिलले खुलाए ।
दियोपोस्टलाई कपिलले भिडियो बयान दिँदै गर्दा धमलाको मोबाइल नम्बरमा सम्पर्क गरेका थिए । निकै व्यस्त रहेको उनको मोबाइल फोन उठेन तर, केहीबेरमै धमलाका चालकको मोबाइलबाट कपिलको नम्बरमा फोन आयो । मुकुन्द अधिकारी बताउने चालकले राहदानी र नागरिकता ठमेलबाट ल्याएको बताएका थिए । ती चालकले राहदानी र नागरिकता सहित पैसा फिर्ता लिन आउनु भन्दै उनलाई बोलाए ।
‘पैसा अहिले जति छ त्यति लिन आउनु,’ ती चालकले भने ।
त्यतिबेलै चालकको मोबाइलबाट धमलाले बोल्न थाले । उनले कपिलबाट पैसा लिएको स्विकार मात्रै गरेका छैनन् । पैसा फिर्ता दिन समेत तयार रहेकाले भेट्न आउन आग्रह गरेका थिए । ‘कपिल भाई सुन तिमी अफिसमा आउ,’ धमलाले यसो भनेपछि कपिलले भन्छन्,‘मलाई तपाईंको एक प्रतिशत पनि विश्वास छैन ऋषि दाई तपाईंको । यसरी दुनियालाई सताएर हुन्छ । मलाई भिषा नै नआईकन भिषा आयो ल आउ भनेर बोलाउनु भयो म जिल्ला कसरी फर्किउँ ? यहाँ तपाईंले महिनौँ दिनसम्म राख्नु भयो । आजबाट तपाईंको र मेरो नाता तोडियो । तपाईंको घरबाट म बेलुका नै विदाई हुन्छु । भिषा नै नआई भिषा आयो भनेर बोलाउनु भयो । भ्रष्टाचार गर्यो भने तपाईंलाई पनि पक्राउ गर्नुपर्छ भन्ने मेरो माग हो । तपाईंले भित्र भित्र भ्रष्टाचार गर्नुभएको छ । मैले खोजिसकेको छु । मान्छेहरुलाई काम गर्छु भन्दै पैसा लिने र काम नगर्ने ?’
उनले यसरी निरन्तर आरोप लगाइरहँदा धमलाले कुनै जवाफ समेत दिन सकेका छैनन् । विगत ८ महिनादेखि आफूलाई जापान पठाइदिने बहानामा धमलाले ठगी गरेको उनको पटकको आरोप थियो । ‘तपाईंले सिओइ नआई आयो भनेर लाइदिनु भयो । तपाईंले बोली सुधार्नुहोला,’ कपिलले यसो भनेपछि धमला भन्छन्,‘ल भाई तिमी अफिसमा आउ । अफिस आइहाल ।’
म अफिस किन आउने भन्दै कपिलले प्रश्न गरेपछि धमला ठिक छ भाई भन्दै निरिह सुनिन्थे ।
‘मेरो लागि तपाईं महत्वपूर्ण हो की तपाईंका लागि म महत्वपूर्ण हो यतिबेला ? तपाईंले मसँग साढे ८ लाख रुपैयाँ लिनु भएको छ । कि दाई पैसो दिन्न प्रधानमन्त्री मेरै छ । शक्ति मेरै छ भन्न खोज्नु भएको हो ? त्यसो भन्नु हुन्छ भने भन्नुस्,’ कपिलले धमलालाई हकार्दै भनेका छन् ।
जवाफमा धमलाले ठिक छ भन्ने उत्तर मात्रै दिएका छन् । ‘ठीक छ भाई मैले पनि अरुलाई विश्वास गर्ने हो राजा,’ धमलाले भनेका छन् ।
कपिलका अनुसार धमलाले ठमेलका धुर्व अधिकारी नामका व्यक्तिको जापानमा रेष्टुरेन्ट रहेको र सोही रेष्टुरेन्टमा वर्किङ भिषामा पठाइदिने भन्दै ठगी गरेका हुन् । ‘कहिले जापानमा पारसमणी पोखरेल छ भन्नु भयो । मैले चिनेको छैन । तपाईंले बारम्बार मान्छे चेन्ज गर्नुभयो । होटल एम्बास्डरमा अर्को मान्छे ल्याउनु भयो । सिओई नआइकन सिओई आयो किन भन्नु भयो ?,’ कपिलले यति प्रश्न गर्दा धमला जवाफै दिन नसक्ने अवस्थामा थिए ।
दियोपोस्टको स्टुडियोमा आएर भिडियो बयान दिएका कपिल केहीबेरपछि दियोपोस्टबाट मोबाइल स्विच अफ गरि सम्पर्क विहिन बनेका थिए । तर, त्यतिबेला धमलाका मान्छे हुँ भन्दै दुई जना व्यक्तिहरु उनलाई खोज्न दियोपोस्टको कार्यालयमा आइपुगेका थिए । ती दुई जना उनलाई पछ्याउँदै गएका थिए । त्यस लगत्तै दियोपोस्टको कार्यालयमा समाचार रोक्न भन्दै धमलाको टेलिभिजनमा कार्यरत एक व्यक्ति आएका थिए ।
अमेरिका पठाइदिने भन्दै रुकुमका रुकुमका एक युवा पनि ठगिए
धमलाबाट अमेरिका पठाइदिने भन्दै रुकुम घर भएका रुकुमका एक युवा पनि ठगिएका छन् । धमलाले उनीबाट १८ लाख रुपैयाँ ठगी गरेको उनका आफन्तले दियोपोस्टलाई बताए । ठगी गरेपछि पीडितलाई उनकै स्वामित्व रहेको प्राइम टेलिभिजनमा कार्यरत एक व्यक्तिको चेक मात्रै दिएर पैसा नदिएको आरोप छ ।
भिडियाे हेर्नुहाेस्
१० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन
१० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन
प्रकाशित समाचार हटाउन ऋषि धमला निकट व्यक्तिको निरन्तर धम्की, कार्यालयमा आउने चेतावनी