ऋषिराज धमला : टेलिभिजनको अवरणमा ‘म्यानपावर दलाली’, समाचार बाहिरिएपछि धमाधम पैसा फिर्ता !

कमल विश्वकर्मा  

काठमाडौं । टेलिभिजन पत्रकारिताको आवरणमा म्यानपावर ‘एजेन्ट’को काम गर्दै आएका प्राइम टाइम्स टेलिभिजनका मालिक ऋषिराज धमलाबारे समाचार प्रकाशन भएपछि धमलाले धमाधम पैसा फिर्ता गर्न थालेका छन् ।
विभिन्न व्यक्तिलाई विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौँ रुपैयाँ असुलेको तथ्य उनकै निकट व्यक्तिले बाहिर ल्याएपछि धमलाले यतिबेला उजुरी पर्न सक्ने र जुनसुकै बेला पक्राउ पर्न सक्ने डरका कारण धमाधम पैसा फिर्ता गर्न थालेका हुन् । धादिङको निलकण्ठ नगरपालिका १२ सांकोष घर भएका कपिलदेव भट्टले दियोपोस्टको कार्यालयमै आएर आफूलाई धमलाले जापान पठाउने भन्दै ८ लाख ५० हजार रुपैयाँ असुलेको भिडियो बयान दिएका थिए । भिडियो बयान प्रशारित भएपछि धमलाले तुरुन्त उनलाई यही जेठ १४ गते साटिने भन्दै एनआईसी एशिया बैंकमा धमलाको नाममा रहेको खाताको चेक दिएका छन् । सोही चेक पाएपछि खुसी भएका भट्टले ऋषि धमलाकै स्वामित्व रहेको प्राइम टाइम्स टेलिभिजन र धमला निकट एक लोकदोहोरी सम्बन्धी फेसबुक पेजबाट दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

भट्टले आफ्नो व्यवहार मिलेको तर दियोपोस्टले जबरजस्ती समाचार प्रकाशन गरेको झूटो आरोप समेत लगाएका छन् । जबकी समाचार प्रकाशन गर्नु संचार माध्यमको कर्तव्य भित्रकै विषय हुन् । तर, धमलाको स्वामित्व रहेको प्राइम टाइम्स टेलिभिजन र उनी निकट एक युट्युव च्यानलले भने जबरजस्ती बोल्न लगाएको भन्दै मिसलिडिङ गराइरहेका छन् । धमलाबाट धादिङका भट्ट मात्रै होइन अन्य जिल्लाका दर्जनौँ पीडित रहेको खुलेको छ । केही व्यक्तिलाई क्यानडा पठाइदिन्छु भन्दै उनले लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ । क्यानडा पठाइदिने भन्दै धमलाबाट ठगीएका अर्का पात्र हुन्—निरक प्रसाद जोसी । श्रीमती एलिजा गौतम क्यानडाको नागरिक रहेको र क्यानडाको राजदूतासमा समेत आफूले जे भन्यो त्यही हुने आश्वासन दिएर धमलाले जोसी लगायत दर्जनौँ युवालाई ठगी गरेको स्रोतले जनाएको छ ।

 

विगत एक वर्षदेखि धमलाबाट पीडित बनेका जोसीले संचार माध्यममा जाने र वैदेशिक रोजगार ठगीमा मुद्दा हाल्ने चेतावनी दिएपछि गत मंसिर ७ गते साटिने गरि एनआईसी एशिया बैंकको २० लाख रुपैयाँको दुईवटा चेक दिएका थिए । तर, बैंकमा जाँदा धमलाको खातामा रकमै नभएको चेक दिएको खुल्यो । त्यसपछि उनी तीन पटकसम्म बाउन्स गराएर कालो सुचीको प्रक्रियामा गएका थिए । सन् २०२४ मे ७ मा धमलालाई कालो सुचीमा राखिपाउँ भन्दै जोशीले एनआईसी एशिया बैंकलाई निवेदन दिएका थिए । कालोसुचीको प्रक्रियामै रहेको समयमा दियोपोस्ट डटकमले समाचार प्रकाशित गरेपछि उनले शुक्रबार नै २ लाख रुपैयाँ रेमिटेन्स मार्फत पठाएका छन् । त्यसपछि पीडितहरु जाहेरी दिनबाट समेत पछि हटेको स्रोतले जनाएको छ ।

धमलाबाट पीडित भएकाहरुले देशका विभिन्न प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको थाहा पाएपछि शुक्रबार विभिन्न व्यक्तिलाई केही लाखका दरले रकम फिर्ता गरेको प्राइम टाइम्स टेलिभिजनमा कार्यरत एक कर्मचारीले बताए । ‘दियोपोस्टमा समाचार छापिएपछि उहाँ विहिबार रातभर सुत्नु भएन । राती १२ बजेसम्म पनि आफूले विदेश पठाउने बहानामा रकम लिएकाहरुलाई फिर्ता कसरी गर्ने भनेर पैसा खोजीमै हुनुहुन्थ्यो,’ ती कर्मचारीले भने ।
ती कर्मचारीका अनुसार धमला निकट धुर्ब ढकालको नामबाट विभिन्न व्यक्तिलाई रेमिटेन्स मार्फत रकम फिर्ता गरिँदैछ ।

धरानकी लक्ष्मी उप्रेती, नेपालगंजका टिकाराम बास्तोला, दिपेन्द्र सिंह ठकुरी र हिकेश क्षेत्री लगायतलाई पनि क्यानडा पठाइदिने भन्दै धमलाले ठगी गरेको पीडितहरुको आरोप छ ।

यता नविन खत्री र जया ओलीलाई क्यानडा पठाइदिने भन्दै हाल दिल्लीमा पुर्याएर राखिएको समेत पीडितहरुले बताएका छन् । कतिपय पीडितहरुलाई धमलाकै टेलिभिजनमा कार्यरत पत्रकार बताउने अशोक धमलाको नामबाट चेक दिइएको छ । अमेरिका पठाइदिने बहानामा ठगीएका रुकुमका रुकुमका एक युवालाई अशोककै नामबाट चेक दिइएको छ ।

 

धमलाको गिरोहमा को—को ?

वैदेशिक रोजगारी क्षेत्रमा व्यापक ठगी हुन थालेपछि सरकारले म्यानपावर कम्पनिले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ । एजेन्ट मार्फत धेरै ठगी हुन थालेपछि हिजो आज एजेन्टहरु देखिँदैनन् । तर, विभिन्न पेशामा रहेका केही प्रतिष्ठित व्यक्तिहरु खुलमखुल्ला यसरी एजेन्टको काम गरिरहेका छन् । एउटा दैनिक पत्रिकाका संचालक त विभिन्न मुलुकमा डेमान्ड नै लिएर जान्छन् ।

देखाउँदा दैनिक पत्रिका देखाउँछन् तर, वास्तवमा उनी म्यानपावर एजेन्टको काम गर्छन् । सामान्य नागरिकले यस्तो काम गरेको भए वैदेशिक रोजगार विभागले तुरुन्त पक्राउका लागि सिफारिस गर्न सक्थ्यो । तर, धमला जस्ता प्रतिष्ठित पात्रहरुले खुलमखुल्ला एजेन्टको काम गर्दा राज्यका निकाय मुकदर्शक बनिरहेका छन् । धमलाको समुहमा टेलिभिजनमै कार्यरत केही उनी निकट व्यक्ति मात्रै होइन ठमेलमा रेष्टुरेन्ट चलाएर बस्ने ध्रुव अधिकारी पनि छन् । उनले जापानमा रेष्टुरेन्ट रहेको सोही रेष्टुरेन्टमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका छन् । धमला निकट रहेका कपिलदेव भट्टले यो विषय खुलाएका थिए ।

धमला भने आफूले विदेश जान चाहने युवालाई सहयोग गरेको बताउँदै आएका छन् । ‘मैले सहयोग गरेको हुँ, मित्र । त्यस्तो बदमासी गरेको छैन,’ धमलाले दियोपोस्टकर्मीलाई भनेका थिए,‘समस्यामा परेकालाई मैले सहयोग मात्रै गरेको हुँ ।’