नर्भिक अस्पतालकै ‘लापरबाही’ले मालिक बसन्त चौधरीका चालकको मृत्यु भएको खुलाशा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नर्भिक अस्पतालका मालिक बसन्त चौधरीका चालक उमेश खड्गीको नर्भिक अस्पताल कै लापरबाहीका कारण मृत्यु भएको खुलाशा भएको छ । बसन्तकी श्रीमती मिना चौधरीको समेत चालक रहेका खड्गीलाई नर्भिकले उपचार नगर्दा मृत्यु भएका मृतकका आफन्तले दियोपोस्टलाई बताएका छन् । विगत २३ वर्षदेखि चौधरीको चालक रहेका उनको आज सोमबार अल्का अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट पीडित रहेका उनलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने भएपनि सामान्य परिक्षण मात्रै गराएर छाडिएको मृतक खड्गीका छोरा रोजन खड्गीले दियोपोस्टलाई बताए । उनको उपचारमा नर्भिकका सीइओ अजय मिश्रले कुनै चासो नदिएपछि  निधन भएको आरोप छ।  खड्गीकाे  आज सोमबार निधन भएकाे हाे  । उनकाे शव अहिले नर्भिकको शव गृहमा राखिएको छ ।

मृतक खड्गीका छोरा रोजनका अनुसार नर्भिक अस्पतालका डा. सुरज कुमार गुप्ताको लापारबाहीका कारण उनको मृत्यु भएको हो । दियोपोस्टको सम्पर्कमा आएका खड्गीले बुवालाई उपचारका लागि शुरुमा नर्भिक अस्पताल लगेका थिए । ‘अस्ति मंगलबार नर्भिक अस्पतालका डाक्टर सुरजकुमार गुप्तालाई देखाउन लगेका थियौँ । उहाँले शुरुमा रगत जाँच गर्नुभयो । इसिजि लगायत परिक्षण गर्नुभयो । तपाईंलाई केही भएको छैन भनेर उहाँले छातिमा पल्स दिनु भयो । दुई वटा रिपोर्ट त्यहीदिन आयो । उहाँले पाँच दश दिनमै ठीक हुन्छ भन्नु भयो,’ रोजनले दियोपोस्टसँग भने,‘भोलीपल्ट रिपोर्ट देखाउन जाँदा उहाँले फेरी खकार परिक्षण गर्न भन्नुभयो । तर, स्पष्ट रुपमा केही भन्नु भएन । आज दिनभर खकार जम्मा गरेर भोली आउनु भन्नुभयो । म त्यही अनुसार गएँ । तर ल्याबमा जाँदा खकार  परिक्षण खाली पेटमा गर्नुपर्ने रहेछ । हामीलाई थाहा थिएन । ल्याबका कर्मचारीले फेरी खाली पेटमा आउनुस् भनेर फिर्ता पठाए ।’

उनका अनुसार विहिबार बुद्ध जयन्ती भएका कारण परिक्षणमा नआउन भन्दै ल्याबका कर्मचारीले फिर्ता पठाएको थियो । ‘विहिबार विदा भएपछि शुक्रबार परिक्षण गरेर आइतबार आउने भनेर हामी फर्कियौँ । रगतको पनि पुरै रिपोर्ट आएको थिएन । नर्भिक फर्किएर रगतको रिपोर्ट लिएर फेरी डाक्टरकोमा गयौँ,’ उनले भने,‘तर, उहाँले रिपोर्ट हेर्न समेत चासो देखाउनु भएन । खाली पेटमा जानुपर्ने कुरा गर्दा उहाँ डाक्टरकी तपाईं डाक्टर भन्दै मलाई कराउनुभयो । मैले भने जस्तै गर्नुस् भनेर अर्डर दिनुभयो । तर, ल्याबमा उहाँले भने जस्तो हुँदैन ।’

 

उनका अनुसार डाक्टर गुप्ताले आइतबार रिपोर्ट लिएर आउन भन्दै रुखो भाषामा विरामी र आफन्तलाई थर्काएका थिए । ‘मैले सोचेँ डाक्टरको व्यवहार त यस्तो हुँदैन । नर्भिकले ल्याबको शुल्क लिएको थियो । तर, डाक्टरको शुल्क लिनु भएन । सायद त्यही भएर हामीमाथि त्यस्तो दुर्व्यहार भएको हो की भन्ने मैले सोचेँ,’ उनले दियोपोस्टलाई भने,‘एउटा विरामी देखाउन जाँदा डाक्टरले कन्सल्ट गर्ने त्यसरी होइन । उहाँले रिपोर्ट नआई नआउनु भनेपछि म फर्किएँ । उहाँले पाँच छ दिनमा ठीक हुन्छ भनेकाले ढुक्क पनि भएँ । तर, शुक्रबार नै बुवालाई सास फेर्न गाह्रो भयो ।’

त्यसपछि उनले फार्मेसीकै एक साथीलाई बोलाएर घरमै परिक्षण गर्दा प्रेसर लो भएको र अक्सिजन पनि कम भएको पाइएको थियो । त्यसलगत्तै छोरा रोजनले बुवालाई पाटन अस्पताल पुर्याएका थिए । पाटन अस्पतालमा सबै परिक्षण गर्दा निमोनियाको लक्षण देखिएको उनले बताए । ‘पाटन अस्पतालमा भर्ना गर्न खोजियो तर, इमरजेन्सीमा पनि ह्विल चियरमै राखियो । त्यसरी नै तीन दिनसम्म राख्नुपर्ने बताइयो । त्यो दिन डाक्टरकै सल्लाह अनुसार घरमा लग्यौँ । तर, आइतबार बुवालाई हेर्दा छाती घ्यार घ्यार हुन थाल्यो । हामीले तुरुन्त पाटन अस्पताल नै लग्यौँ । त्यहाँ फेरी तयसरी नै राख्नुपर्नेभयो,’ उनले भने,‘त्यहाँ बुवालाई डाक्टरले चेक पनि गर्न मानेनन् । मैले प्रश्न गरेपछि सामान्य चेकअप भयो ।’

ह्विल चेयरमा राख्नुपर्ने भएपछि उनले बुवालाई अल्का अस्पतालमा लगेका थिए । ‘अल्कामा भर्ना गरेर राखियो । त्यहाँ आइसियुमा राख्ने सल्लाह भयो । अल्का २ मा आइसियुमा राखियो । खुट्टा र पेट सुनिन थालेको थियो । भेन्टिलेशनमा राख्ने कुरा भयो । त्यहाँ पनि राखियो । हिजो आइतबार बेलुका उहाँको पाइप राख्ने कुरा भयो । त्यो पनि राखियो,’ उनले भने,‘आज सोमबार फेरी डायलाइसिस पनि गर्ने कुरा भएर त्यो पनि गरियो । विहान डायलाइसि गरेपछि स्वास्थ्यमा सुधार भयो भनियो । एबिजी गर्दा त्यसमा प्रोग्रेस भएन । दिउँसो ३ बजेर ५५ मिनेट जाँदा मलाई एक्कासी बलाउनु हुँदा छातीमा हातले पम्प हानिरहेको रहेछ । त्यतिबेला नै उहाँको निधन भयो । अहिले शव नर्भिक अस्पतालमा राखिएको छ ।’

उनका अनुसार ६५ वर्षका खड्गीले २२ वर्षसम्म नर्भिक अस्पतालमा काम गरेका थिए । ‘नर्भिक अस्पतालका डा. सुरज कुमार गुप्ताले त्यतिबेला नै गम्भिरता पूर्वक विरामीलाई हेरिदिएको भए आज यो अवस्था आउने थिएन,’ रोजनले दियोपोस्टसँग दुखेसो पोखे,‘अहिलेसम्म नर्भिक अस्पतालले केही बोलेको छैन । सबैभन्दा ठूलो पीडा नै नर्भिक अस्पताल र सुरज कुमार गुप्ताले दियो ।’

चाैधरीको समाजसेवा नाकट मात्रै भएकाे पुष्टि

जीवन नै नर्भिक अस्पतालकाे  मालिकको सेवामा समर्पित गरेका गरीबहरु उपचारको अभावकै कारण मृत्युवरण गर्नु सामान्य घटना होइन । नर्भिक अत्यन्त महंगो भएका कारण कर्मचारीहरुले त्यहाँ उपचार गराउन सक्दैनन् । कर्मचारीले पाउने छुट समेत अन्तजति पर्याप्त छैन । अरुका अगाडि समाजसेवा गरेको देखाउने, अलपत्रमा परेकाहरुको उद्धार गरी निःशुल्क उपचार गरेको देखाउने नर्भिकका सञ्चालक बसन्त चौधरी र उनकी छोरी तथा नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले आफ्ना गरीब कर्मचारी मृत्युको मुखमा पुग्दा थोरै दया पनि देखाउँदैनन् ।

चौधरीको अनुदार व्यवहारलाई मलजल गर्ने काम नर्भिकको सीइओ मिश्रले गर्ने गर्छन् । मिश्र नर्भिकको सीइओ बनेर भित्रिएपछि कर्मचारीहरुको सेवासुविधामा व्यापक कटौति भएको त्यहाँका कर्मचारी सुनाउँछन् । अजय मिश्रकै कारण त्यहाँका दर्जनौ कर्मचारीले खाईपाई आएको सेवासुविधा गुमाएका छन्, उनको अनुदार व्यवहार र मालिक भक्तिमै मात्र लिप्त भएर आफ्नो दूनो सोझ्याउने प्रवृतिका कारण सयौंले जागिर छाड्नु परेको छ । अहिले मिश्रले उच्चपदस्थ केही कर्मचारीलाई साथमा लिएर तल्लो तहका नर्स तथा कर्मचारीमाथि असहिष्णु व्यवहार गर्दै आएका छन् । उपचारकै अभावमा चालकको मृत्युको घटनालाई पनि कर्मचारीहरुले यसकै एउटा उपज मानेका छन् ।