कन्सल्टेन्सीको आवरणमा गोरेटो एजुकेश्नलको ‘म्यानपावर धन्दा : प्रतिव्यक्ति ३५ लाखसम्म असुली

सरोकारवाला निकाय मौन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौं महानगरपालिका १० बानेश्वरचोकमा संसद भवनको विपरित दिशामा एउटा चार तले भवन छ । यो भवनको माथि भगवान शिवको प्रतिमा पनि देखिन्छ । तेस्रो तलामा छ— गोरेटो एजुकेशन कन्सल्टेन्सी । एजुकेशन कन्सल्टेन्सी भन्ने बित्तिकै पक्कै पनि वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने कम्पनी हो भन्ने तपाइलाई लाग्न सक्छ । तर, आवरणमा शैक्षिक परामर्शदाताको बोर्ड झुण्ड्याएर यो कम्पनिले नेपालबाट अवैध रुपमा रोजगारीका लागि क्यानडा पठाउने कार्य गर्दै आएको पाइएको छ । वैदेशिक रोजगार विभागमा दर्ता भएका म्यानपावर कम्पनिहरुले गर्ने काम शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएको यो कम्पनिले खुलमुखुल्ला गरिरहँदा सरोकारवाला निकाय भने मौन छन् ।

कम्पनिले क्यानडा कामदार भिषामा पठाएका विभिन्न व्यक्तिहरुको विवरण दियोपोस्टले फेला पारेको छ । विभिन्न व्यक्तिलाई स्पाउज ओपन वर्क पर्मिट (एसओडब्लुपी) भिषामा यो कम्पनिले कामदार अवैध रुपमा क्यानडा पुर्याइरहेको छ । क्यानडामा काम गरिरहेका वा पढिरहेका व्यक्तिसँग विवाहको नाटक गरि नक्कली कागजातको आधारमा अर्को व्यक्तिलाई रोजगारीका लागि क्यानडा पठाउने कार्यमा नेपालका केही कन्सल्टेन्सीले गर्दै आएका छन् । उनीहरुलाई यस्तो कार्यमा सोही एसडब्लुओपी भिषामा व्यक्तिलाई क्यानडा पठाइरहेका छन् । जुन कानुन त कन्सल्टेन्सीले गर्न पाउँदैनन् ।

नेपाली सेनामा कार्यररत रहेकै बेला अमिन फोजु नाम गरेका व्यक्ति १४ सेप्टेम्बर सन् २०२३ मा रोजगार भिषाका लागि निवेदन दिएका थिए । सोही कम्पनिले उनलाई २९ नोभेम्बर २०२३ मा एसओडब्लुपी भिषा उपलब्ध गराएको छ । यसरी वर्किङ भिषामा क्यानडा जाने दर्जनौँ व्यक्तिहरुको विवरण दियोपोस्टले फेला पारेको छ ।

चितवन घर भएका धिरज कँडेल र राम खड्का नाम गरेका व्यक्तिहरुले यो धन्दा गरिरहेका हुन् । कँडेल र खड्काले विभिन्न नक्कली कागजात बनाउने गरेको समेत स्रोतले जनाएको छ । यसरी नक्कली कागजात तयार पारेको विभिन्न शिर्षकमा लाखौँ रुपैयाँ असुल्ने कार्य यो कन्सल्टेन्सीले गर्ने गरेको छ । वर्किङ भिषामा क्यानडा जानेहरुले ३० देखि ३५ लाख रुपैयाँसम्म यो कन्सल्टेन्सी संचालकहरुलाई बुझाउँदै आएका छन् ।

वैदेशिक रोजगार ऐन, २०६४ (पछिल्लो संशोधन २०७५) अनुसार कसैले इजाजत नलिई वैदेशिक रोजगारीको कार्य गर्न पाइँदैन । ऐनको दफा १० मा भनिएको छ,‘इजाजतबिना वैदेशिक रोजगार व्यावसाय संचालन गर्न नपाउने ः यस ऐन बमोजिम इजाजत नलिई कसैले पनि वैदेशिक रोजगार व्यावसाय संचालन गर्न पाउने छैन ।’ वदेशिक रोजगारीको इजाजत लिनका लागि त्यस्ता संस्थाले सरकारलाई धरौटीबापत २ करोड रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

शिक्षा मन्त्रालयमा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३, मा आधारित रहेर दर्ता रहेको यस्ता कन्सल्टेन्सीले खुलमखुल्ला म्यानपावरको काम गरिरहेका छन् । यसरी म्यानपावरको काम गरिरहेको सुचनापछि वैदेशिक रोजगार विभागले विभिन्न कन्सल्टेन्सीमा छापा समेत मारेको थियो । सामाजिक संजाल मार्फत माल्टा, क्रोयसिया र रोमानिया रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरेको पाइएपछि विभागले सबै कागजात नियन्त्रणमा लिएको थियो । यस्ता धन्दा गर्ने कन्सल्टेन्सीहरुले अग्रिम रुपमै श्रमिकसँग रकम असुल्ने र वर्षौं झुलाउने र ठगी गरि फरार हुने गरेको सुचना विभागलाई छ । तर, यसरी सामाजिक संजालमा खुलमुल्ला कामदार भिषा लगाएको भनेर व्यक्तिको फोटो नै सार्वजनिक गर्ने गोरेटो एजुकेशन कन्सल्टेन्सीलाई भने वैदेशिक रोजगार विभाग वा प्रहरीको मानव बेचविखन ब्युरोले छानबीनमा ल्याएको छैन ।

वैदेशिक रोजगार विभागका सुचना अधिकारी गुरुदत्त सुवेदीले यस्ता कम्पनिबारे सुचना आए आफूहरुले अनुगमन गरेर कारबाही गर्ने बताउँछन् । ‘हामीले यसअघिदेखि नै कारबाही गरिरहेका छौँ,’ उनले भने ।

यता शिक्षा मन्त्रालयका उच्च शिक्षा महासाखाका प्रमुख उपसचिव डा. कमल प्रसाद पोखरेलले कुनैपनि कन्सल्टेन्सीले म्यानपावरको काम गरेको उजुरी आए आफूहरुले अनुगमन पश्चात वैदेशिक रोजगार विभागलाई कारबाहीका लागि पठाउने गरेको बताए ।

आधा दर्जन स्थानमा कार्यालय

बानेश्वर चोकमा मुख्यालय रहेको गोरेटो एजुकेशनले नेपालमा ४ स्थानसहित क्यानडामा समेत शाखा कार्यालय संचालन गरि ठगी गर्दै आइरहेको छ । क्यानडा, चितवन, टाँडी, कुमारीपाटी र इटहरीमा समेत कार्यालय रहेको गोरेटोले आक्रमक प्रचार प्रसार गर्दै आएको छ ।

कन्सल्टेन्सीले कामदार भिषामा विदेश पठाउँन पाउँदैन : शेषराज भट्टराई, अध्यक्ष ईक्यान

नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्शदाता कम्पनिको रुपमा दर्ता भएका कुनैपनि कम्पनिले वर्किङ भिषामा विद्यार्थी वा जोकोहीलाई विदेश पठाउन नपाउने बताउँछन् । ‘शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएका कम्पनिहरुले कुनैपनि कामदारलाई विदेश पठाउन पाउँदैनन्,’ भट्टराईले दियोपोस्टसँग भने,‘हामीले विद्यार्थीलाई विदेश अध्ययन प्रयोजनका लागि परामर्श दिने कार्यमात्रै गर्ने हो ।’

कँडेल भन्छन्,‘हामीले ओपन वर्क पर्मिटमा मान्छे पठाएका हौँ’

गोरेटो एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले आफूहरुले क्यानडाको कानुनअनुसार वैधानिक रुपमा ओपन वर्क पर्मिटमा मान्छेहरु पठाएको बताए ।

उनका अनुसार गोरेटो एजुकेशन कन्सल्टेन्सी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता छ । ‘हामीले क्यानडाको कानुन अनुसार स्पाउज ओपन वर्क पर्मिटमा मान्छेहरु पठाएका हौँ,’ उनले भने,‘हामीलाई कानुनले यसरी मान्छे पठाउने अधिकार दिएको छ ।’

उनले यस्तो दाबी गरेपनि शैक्षिक परामर्शदाता कम्पनिको रुपमा दर्ता रहेका यस्ता कम्पनिहरुले यसरी वर्किङ भिषामा कामदार क्यानडा पठाउन पाउँदैनन् ।

धिरजका अनुसार गोरेटोबाट यो भिषामा क्यानडा जानेहरुले श्रम स्विकृती समेत लिनु नपर्ने भएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुँदैन ।