उ मजदुर !
कुनै दिनको घामजस्तो छायामा हराइरहन्छ,
शब्दविहीन गुहारझैँ मौनतामा बिलाइरहन्छ ।
हातमा चर्केका छाला, छातीमा स्वेदको इतिहास,
अधिकारको नाम लिंदै सम्झौतामा मेटाइरहन्छ।
पसिनाको गन्धले रचिन्छ दिनको कविता,
भोक र प्यासको गजल ऊ मनभित्र सिञ्चाइरहन्छ।
नानी सोध्छ— बाबा ! खुसी कहिले ल्याउनुहुन्छ?
ऊ भन्छ— “तारा टिप्न लाग्दा सपनामा पुगिरहन्छ।”
बोकेको छैन झण्डा, न कुनै क्रान्तिको नारा,
तर प्रत्येक पाइला उसको विद्रोह गनगनाइरहन्छ।
सहरका चिल्ला भवनहरू उसको पीडामाथि छन्,
एउटा नामबिहीन श्रमिक, इतिहास बनाइरहन्छ।