उ मजदुर !

दियोपोस्ट संवाददाता  

उ मजदुर !

कुनै दिनको घामजस्तो छायामा हराइरहन्छ,

शब्दविहीन गुहारझैँ मौनतामा बिलाइरहन्छ ।

 

हातमा चर्केका छाला, छातीमा स्वेदको इतिहास,

अधिकारको नाम लिंदै सम्झौतामा मेटाइरहन्छ।

 

पसिनाको गन्धले रचिन्छ दिनको कविता,

भोक र प्यासको गजल ऊ मनभित्र सिञ्चाइरहन्छ।

 

नानी सोध्छ— बाबा ! खुसी कहिले ल्याउनुहुन्छ?

ऊ भन्छ— “तारा टिप्न लाग्दा सपनामा पुगिरहन्छ।”

 

बोकेको छैन झण्डा, न कुनै क्रान्तिको नारा,

तर प्रत्येक पाइला उसको विद्रोह गनगनाइरहन्छ।

 

सहरका चिल्ला भवनहरू उसको पीडामाथि छन्,

एउटा नामबिहीन श्रमिक, इतिहास बनाइरहन्छ।

सिफारिस