काठमाडौं, २२ वैशाख । एमाले स्थायी समितिले सरकार गिराउने खेल सुरु भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकार गिराउने खेल सुरू भएको निष्कर्ष निकालेको छ।
सहभागी नेताहहरुका अनुसार, सत्तारुढ दल एमाओवादी अध्यक्ष प्रचण्डलालाई प्रधानमन्त्रीको प्रस्ताव आउनुलाई सरकार गिराउने खेलको रुपमा बुझीएको धारणा ल्याएको हो । उनीहरुले सत्तारुढ दल मध्ये कुनैपनि दलले समर्थन फिर्ता ल्याउन सक्ने संभावना रहेको निष्कर्श निकालेका छन् ।
वैठकमा प्रधानमन्त्री ओलीले, विकसित राजनीतिक घटनाक्रमबारे सुझबुझपूर्ण निर्णयसाथ अगाडि बढ्ने बताएका थिए। सरकारबाट बाहिरिनु परे पनि आवेग र उत्तेजनामा निर्णय गरिनहाल्ने आशय प्रधानमन्त्री ओलीले व्यक्त गरेको स्रोतले बतायो। ‘सबै कामलाई अगाडि बढाउन आजको सन्दर्भमा सबै दलसँग न्यूनतम सहमति हुन जरुरी छ। ‘सबै कार्यभार पूरा गर्न न्यूनतम सहमति कायम गर्दै अहिले विकसित राजनीतिक घटनाक्रमबारे एमालेले भूमिका खेल्नेछ,’ ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।