काठमाडौ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुको समर्थन रहेपनि नरहेपनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको भन्दै पार्टीका प्रमुख तीन नेता र कार्य सम्पादनसमितिको बैठक बसेर सरकारको विषयमा ठोस निर्णय गर्ने स्पष्ट पारे ।
‘पुनःनिर्माणमा यो सरकार जुद्ध समशेर भन्दा अदक्ष देखियो, पुनःनिर्माणको काम एकदमै धिमा गतिमा चलिरहेको छ । मरिचमान सिंहले १३ महिनासम्म नाकाबन्दी झेल्दा जहाजबाट तेल ल्याए तर यत्रो कालोबजारी भएन । नाकाबन्दी अत्य भएको दुई महिना वित्दा पनि अभाव जारी नै छ । यो भन्दा दयनीय सरकार अरु के हुन सक्छ,’ उनले भने ।