काठमाडौ, २२ वैशाख । प्रदेश नम्बर २ बाट निर्वाचित नेकपा एमालेका व्यवस्थापिका संसद सदस्यहरुले आगामी बजेटमा राख्ने गरी ११ बुँदे माग अघि सारेका छन ।
उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर ति मागहरु सार्वजनिक गरेका हुन ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहित १८ जना संसदहरुले संयूक्त रुपमा हस्ताक्षर गरिएको माग पत्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देखि खानेपानीसम्मको व्यवस्था गर्नु पर्ने विषयहरु रहेका छन ।
उनीहरुले तराई र पहाडको सम्बन्ध घनिष्ठ बनाउने माध्यमको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ निर्माण, काठमाडौ तराई मधेस दु्रत मार्ग निर्माण, प्रदेशको विकासको आधारमा तराई मधेस हुलाकी मार्ग निर्माण गर्नु पर्ने जसमा तराईका २० वटै जिल्लाको विकासको कोशेढुंगा हुनेगरी तिब्र रुपमा निर्माण सम्पन्न गर्नु पर्ने, जनकपुर, बर्दिबास , पथलैया रेल्वेको निर्माण प्रक्रिया छिटो अघि बढाएर मेची महाकाली रेल्वे निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेका छन ।
त्यसैगरी प्रदेशमा रहेका अािर्थक क्षेत्रको विकासमा ध्यान दिनु पर्ने र बन्द सरकारी कलकारखाना पुनसञ्चालन गर्नु पर्ने, पर्यटन विकासकोलागि बृहत्तर जनकपुर क्षेत्र, बराहक्षेत्र– चतरा, बाराको शहीद हिरालाल पार्क, गढी माई मन्दीर, पर्सा बन्य जन्तु आरक्ष, सिम्रौनगढ क्षेत्र, सप्तरीको छिन्नमस्ता, लोहजार ताल, सिराहाको सलेस धाम, मानिक दह, महोत्तरीको जलेश्वर महादेब मन्दीर, सोनामाई, टुटेश्वर महादेब, बीरगञ्जको गहवा, विन्दबासिनी तथा रामबोरीभाटा, रौतहटको नुनथर, राजदेबी, शिबनगर, बरहवा ताल, सर्लाहीको नाडीमनताल, मर्तिया हरिहर धामको योजनाबद्ध विकास गर्नु पर्ने माग रहेको छ ।
त्यसैगरी उनीहरुले कृषिको बैज्ञानिकीकरण, ब्यवसायीकीकरण र बजारीकरण, तराई मधेसमा ब्यवस्थित बस्ती विकास कार्याक्रम, सुनकोशी कमला तथा सुनकोशी मरिन बहुउद्देश्यीय आयोजना निर्माण, चुरेको संरक्षण, स्वच्छ खानेपानीको ब्यवस्था लगायतका विषयमा बजेटमा ब्यवस्था गर्न माग गरेका छन ।