मेगा बैंकमा अध्यक्ष भोजबहादुर शाहको भत्ताकाण्ड : २ दिने कार्यक्रम, ५ सय डलरका दरले ९ दिनको भत्ता !

दियो पोस्ट  

काठमाडौं, वैशाख १८। यक्तिगत निमन्त्रणमा बैंकको स्रोत र साधनको दुरुपयोग गर्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह अष्ट्रेलिया जान लागेका छन् । बैंक निकट स्रोतका अनुसार शाह, स्वयंलाई व्यक्तिगतरुपमा आएको गैरआवासीय नेपाल संघ अष्ट्रेलियाको एउटा कार्यक्रममा भाग लिन त्यहाँ जान लागेका हुुन् । 

अष्ट्रेलियामा हुने गैरआवासीय नेपाली संघको उक्त कार्यक्रम मे ११ देखि १२ तारिख अर्थात् यही वैशाख २८ र २९ गते हुुने भए पनि शाह मे ६ तारिख अर्थात् यही वैशाख २३ गते त्यसतर्फ जान लागेका हुुन् । उक्त कार्यक्रममा जानकै लागि भनेर शाहले अरु सञ्चालकहरुसंँग कुुनै ठोस परामर्श नै नगरी मे ८ देखि १५ तारिख अर्थात् यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्मको लागि भ्रमण भत्ता (टीएडीए) स्वीकृत गराएका छन् ।

बैंक उच्च स्रोतका अनुसार अध्यक्ष शाहको अष्ट्रेलिया भ्रमणमा जाने विषयमा वैशाख ३ गते बैंक सञ्चालक समितिको बैठक बसेको थियो । बैंकमा हाल शाहको अध्यक्षतामा गोपाल खनाल, मदन कुुमार आचार्य, मुक्तिराम पाण्डे, इन्द्र बहादुर मल्ल ठकुुरी, बालकृष्ण सिवाकोटी र शिवादेवी काफ्लेसहितको सात सदस्यीय सञ्चालक समिति रहेको छ । तर अध्यक्ष शाहले बोलाएको उक्त बैठकमा सबै सञ्चालक उपस्थित भए पनि अध्यक्ष शाहसहित मदन कुमार आचार्य र शिवादेवी काफ्ले मात्र भ्रमणको पक्षमा भएको र बाँकीले अध्यक्ष शाहको भ्रमण व्यक्तिगत भएको र व्यक्तिगतरुपमा आएको निमन्त्रणाको आधारमा अष्ट्रेलिया जाँदा बैंकको स्रोत र साधनको दुरुपयोग गर्न नहुने तर्क राखेको स्रोतले जनाएको छ ।

तर शाहले भने अन्य सञ्चालकहरुको फरक मत समेतलाई अस्वीकार गर्दै दैनिक पाँच सय डलर टीएडीए स्वीकृति गराएर अष्टे«लिया जान लागेका छन्,’ मेगा बैंक स्रोतले भनेको छ । यसरी दैनिक पाँच सय डलरको दरले नौ दिनको लागि टीएडीए स्वीकृत गर्दा बैंकबाट चार हजार पाँच सय डलर खर्च हुन्छ, स्रोतले भनेको छ । अध्यक्ष शाहको उक्त भ्रमणको विषयका बैंकका सञ्चालकहरुले नोट अफ डिसेन्ट नलेखे पनि बैठक पुस्तिकामा शाह, आचार्य र काफ्लेबाहेक अन्य सञ्चालकहरुले हस्ताक्षर गरेका छैनन्, बैंक स्रोतले भनेको छ । बैंकको सात सदस्यीय सञ्चालक समितिमा तीन जना सञ्चालकबाहेक अरु सञ्चालकहरुले सही नगर्नुुको मूल कारण नै उक्त भ्रमण शाहको व्यक्तिगत हो, स्रोतले भनेको छ ।