उपराष्ट्रपति पुत्र दिपेश पुन र गृहमन्त्री पुत्र प्रतिकको ‘मान्छे हुँ’ भन्दै १० रोपनी जग्गा ठगी !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १९ वैशाख । ठूला अहोदामा बस्ने व्यक्तिका पारिवारिक सदस्यको नाम लिएर ठगीधन्दा चल्ने नेपाली समाजको पुरानै रोग हो । ठूला नेताहरु, प्रचण्ड, केपी ओली शेरबहादुर देउवाकै नाम लिएर पनि बजारमा थुप्रै अवैध धन्दा चलिरहेकै छ ।


धादिङको साविक किरान्चोक गाविस वडा नम्बर ८ जुठे विश्वकर्मालाई एक महिलाले ठूला भिभिआइपीका आफन्तको नाम लिएर १० रोपनी १३ आना जग्ग ठगेकी छिन् ।


उपराष्ट्रपति नन्द बहादुर पुनका कान्छा पुत्र दिपेश पुन र गृहमन्त्री राम बहादुर थापाको पुत्र प्रतिक थापाको ‘मान्छे हुँ’ भन्दै ललितपुर गोदावरी नगरपालिका ८ बस्दै आएकी सपना कट्टेलले जुठे विश्वकर्माको १० रोपनी जग्गा ठगी गरेको पाइएको हो । तर ती महिलाकाे दिपेश र प्रतिकसँग कुनै चिनजान भने छैन ।


बालुवा प्रशोधन उद्योग खोल्नका लागि भन्दै कट्टेलले विश्वकर्माबाट प्रति रोपनी १ लाखको दरले १० लाख ८१ हजार रुपैयाँ ठगी गरेको पाइएको हो । आफू ठगिएपछि विश्वकर्माले महानगरीय प्रहरी बृत कालिमाटीमा उजुरी नै गरेका थिए ।


विश्वकर्माले बेचेको जग्गामा सुर्याविनायक बालुवा प्रशोधन उद्योग सञ्चालन गर्ने र सो उद्योगमा दिपेश र प्रतिकको समेत शेयर हुने भनेपछि सामान्य लेखपढ मात्रै गर्न जान्ने विश्वकर्माले जग्गा उनको नाममा गरिदिएका थिए ।

उक्त जग्गा पास गर्ने समयमा जिल्ला मालपोत कार्यालयमा उनले दिएको १० लाख ८१ हजार रुपैयाँको चेक नै नक्कली भएको पाइएको थियो । चेकमा रकम नभएपनि दुवै पक्षविच एकहप्ता भित्र उक्त चेक मार्फत रकम लिने र तत्काल जग्ग पास गरिदिने सहमति भएको थियो । तर, एक हप्तापछि कट्टेल विश्वकर्मालाई झुक्याउँदै भागेको पीडितको आरोप छ । सम्पर्क विहिन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।


‘उपराष्ट्रपति र गृहमन्त्रीको मान्छे हुँ भनेर मलाई ठगियो । मेरो जग्गा केही दिनमै अर्को मान्छेलाई बेचिएको रहेछ,’ पीडित जुठे विश्वकर्माले भने,‘ठूलो मान्छे भनेर विश्वास गरेँ सबै झूटो पो रहेछ ।’
यसैबीच उक्त महिलाको उपराष्ट्रपति नन्द बहादुर पुनका कान्छा पुत्र दिपेश पुन र गृहमन्त्री पुत्र प्रतिक थापासँग कुनै चिनजान नै नभएको पाइएको छ ।


‘मैले मान्छे नै चिनेको छैन । यदि मेरो नाम लिएको भए प्रहरीमा उजुरी गरेर भएपनि कारबाही गर्नुपर्छ,’ दिपेशले दियोपोस्टसँग भने,‘ठगहरुले बद्नाम गर्ने काम गरिरहेका छन् । हामीसँग सम्बन्ध र चिनजान नै नभएको मान्छेले हाम्रो नाम लिनु आश्चर्यको विषय हो ।’


गृहमन्त्री राम बहादुर थापाका पुत्र प्रतिक थापाले पनि उक्त महिलाबारे अनभिज्ञता प्रकट गरे । ठगी गर्नका लागि उनको नाम लिएकी ती महिलालाई कारबाही गर्नुपने उनको माग छ ।


तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलकै घर नजिकका विश्वकर्माले आफूले जम्मकट्टेललाई गुहार माग्दा फोन नै न उठाएको बताए ।


‘मैले उहाँलाई भोट हालेँ । धेरै पटक उहाँलाई जिताउन हिँडे पनि तर उहाँले मेरो पीडा सुन्नु भएन । कहिल्यै फोन पनि उठाउनु हुन्न,’ विश्वकर्माले भने,‘न्यायको लागि अहिले काठमाडौंमा छु । तर कसैले सुन्दैनन् ।’