काठमाडौं, १९ वैशाख । विवादास्पद प्रहरी एसएसपी विश्वराज पोखरेल राजनीतिक शक्तिकै दबाव र आडमा प्रहरी नायब महानिरिक्षक डिआइजीमा बढुवा भएका छन् ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा उनी डिआइजी बन्न सफल भएका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार जुनियर एसएसपी विश्वराज पोखरेललाई डिआईजी बनाउनका लागि मन्त्री पोखरेलले तारन्तार दबाब दिन थालेपछि गृह सचिव प्रेमकुमार राई आजित बनेका थिए ।
आज बसेको गृहमन्त्रालयको बढुवा सम्बन्धि निर्णयले खाली रहेको डिआइजी पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
कार्तिक १० गते काभ्रेको मण्डन देउपुर नगरपालिका–६ मा जीप दुर्घटनामा परेर डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि उक्त पद अहिले खाली रहेको थियो । दुर्घटनापछि खाली भएको पदमा एकल बढुवा हुन पोखरेल लामो समयदेखि नेताको दैलो चहार्दै आएका थिए ।
एसएसपी पोखरेल भन्दा आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसेका छन् । पोखरेल भन्दा सिनियर एसएसपीहरुमा विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेश ऐरलगायत छन् । उनीहरु २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु डिआईजीद्धय हरी पाल र शैलेश थापाका व्याजी हुन् ।
तर, पोखरेल भने २०४९ चैत ११ मा सेवा प्रवेश गरेका हुन् । पोखरेलका व्याजमा उनी भन्दा क्षमतावान एसएसपीहरु पनि छन् । एसएसपी धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुक, बसन्त लामाहरु पनि डिआईजीका आकांक्षी थिए। तर, उनीहरुले कुनै राजनीतिक दलका नेताको दैलोमा पुग्ने काम गरेको सुनिएको छैन ।
एक त जुनियर त्यसमाथि पनि कमाण्ड क्षमतामा कमजोर मानिएका पोखरेलले एकाएक शक्तिकेन्द्र मार्फत बढुवामा चलखेल गरेका कारण गृह मन्त्रालयमा दबाव बढेको थियो ।