काठमाडौं, काठमाडौं । खुलामञ्च कब्जा गरेर सटर बनाइ भाडामा लगाउने धन्दामा एक विवादित पात्रको पर्दा खुलेको छ । खुल्लामञ्च कब्जाको पर्दा पछाडीको ती खेलाडीबारे भने सायद हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ । राजधानीको मुटु मानिने खुल्लामञ्च कब्जा गर्ने पर्दा पछाडीका खुंखार अभियुक्त हुन्– ठेकेदार हुमनाथ कोइराला ।
लामो समयदेखि २७ करोड भन्दा बढी भ्याट नतिरि राजनीतिक शक्तिकै आडमा अख्तियार भित्रै फाइल गुपचुप बनाउँदै आएका कोइराला ठेकेदार मनोज भेटवालकै साझेदार हुन् ।
उनकै योजनामा खुल्लामञ्चमा सटर बनाएर बेचिएको थियो । राजधानीको पुरानो वसपार्कमा निर्माणाधिन काठमाडौं भ्यु टावरमा तीन जना साझेदार मध्ये एक हुन्– कोइराला । बिकोइ विल्डर्स प्राली नामक निर्माण कम्पनिका मालिक उनै कोइराला हुन् । नेपाली कांग्रेसको कोइराला परिवारको आफन्त समेत हुँ भन्दै हिँडेका उनै कोइरालाको ग्रान्ड डिजाइनमा खुल्लामञ्च कब्जा गरी सटर बनाएर बेचिएको पाइएको हो ।
‘बाहिर सार्वजनिक रुपमा भेटवालको तस्विर आएता पनि असली खेलाडी हुमनाथ कोइराला हुन्,’ काठमाडौं महानगरपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने,‘राजनीतिक दलदेखि सबै कर्मचारीको सेटिङ हुमनाथले नै गरेका हुन् ।’
भ्युटावर निर्माण गरिरहेको कम्पनि जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्समा मकवानपुरका पूर्व कांग्रेस सांसद तथा ठेकेदार जयराम लामिछानेको स्वामित्व रहेको स्वच्छन्द निर्माण सेवाको २५ प्रतिशत र कोइरालाको बिकाइ बिलडर्स प्रा.लीको २४ प्रतिशत रहेको छ भने बाँकी रहेको ५१ प्रतिशत शेयर भेटवालकै रहेको छ । उनको स्वामित्व रहेको जलेश्वर हाउजिङ कम्पनिले कम्पनि रजिष्टार कार्यालयमा ५० करोड चुक्ता पुँजी उल्लेख गरेपनि ५० लाख मात्रै भुक्तानी गरेको पाइएको छ ।
‘यसरी पुरा रकम चुक्ता नगरी कम्पनि खोल्न पनि पाइँदैन । कन्पनि राजिष्टार कार्यालयमा पनि आर्थिक प्रलोभनमा नै यो कम्पनि दर्ता भएको हुनसक्छ,’ स्रोतले भन्यो,‘पुरा रकम चुकता नगरेको कम्पनिले अरबौं मुल्यको भ्यु टावर कसरी बनाउँन मिल्छ ?’
खुल्लामञ्च सटर काण्डका प्रमुख योजनाकार भएता पनि हुमनाथ कोइरालाको बारेमा खासै चर्चा नै सुनिँदैन । नेपाली कांग्रेसको एउटा खेमासँग निकै नजिक सम्बनध रहेका उनले कांग्रेस सरकारकै पालामा अख्तियारमा पुगेको २८ करोडको भ्याट छलि प्रकरण गुपचुप सेटल गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आफ्ना नजिकका व्यक्तिहरुलाई बोलाएर जति पुरानो फाइल भए पनि खोजेर कारबाही गर्ने उदघोष गरेका थिए । प्रधानमन्त्रीको उद्घोष अनुसार कोइरालाको २८ करोडको भ्याट काण्ड ब्युँतिने खतरा समेत बढेर आएको छ । यद्धपी सरकारको एक्सन भने हेर्न बाँकी नै छ ।
पुरानो घर स्याङ्जा भएका कोइरालाले यतिबेला गहना पोखरीमा ठूलो बंगाला नै खडा गरेर बसेका छन् । उनको महल देखेपछि सम्पत्तिको स्रोतमाति समेत प्रश्न उठ्ने गरेका छन् । सम्पत्ति हत्याउनका लागि आफ्नै दाजुलाई समेत सम्पत्ति सुद्धिकरणमा मुद्दा हाल्ने कोइरालालाई अहिलेसम्म कुनै सरकारले छुन सकेको छैन ।
पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने जिम्मा पाएपछि कोइरालाकै योजनामा खुल्लामञ्चमा बसपार्क सारिएको । सारिएको नयाँ बसपार्कमा समेत सटर निर्माण गरी ८ देखि १२ लाखसम्म साना व्यापारीसँग रकम असुलेर उनीहरुलाई घरको न घाटको बनाएपनि कोइराला भने गुपचुप व्यापार गरिरहेका छन्