नयाँ पार्टीमा बाबुरामका आफन्त : श्रीमती उपाध्यक्ष, छोरीज्वाई, जेठी सासु र बुहारी केन्द्रीय सदस्य !

दियो पोस्ट  

काठमाडौं, २५ वैशाख । नयाँ राजनीतिक संस्कारको परिकल्पना सहित निर्माण भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन्– डा. बाबुराम भट्टराई । उनै भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकता भएर समाजवादी पार्टी नेपाल नै गठन भइसकेको छ ।
समाजमा नयाँ संस्कारको राजनीतिबारे चर्को वकालत गर्दै आएका भट्टराईले भने आफ्ना आफन्त र नातागोतालाई नवगठित पार्टीमा नेतृत्व तहमा भर्ति गराएका छन् ।


श्रीमतीलाई उपाध्यक्ष छोरी ज्वाईंलाई केन्द्रीय सदस्य !


बाबुरामकी श्रीमती हुन् हिसिला यमी । उनै हिसिला यमीलाई नवगठित पार्टीको उपाध्यक्ष बनाइएको छ । हुन त नेपालको राजनीतिक परिवर्तनमा हिसिलाको भूमिका नभएको होइन यद्धपी हिसिलाले भन्दा कयौँ गुणा जेलनेल भोगेका महिला नेताहरु नै उक्त पार्टीको नेतृत्व तहमा परेनन् । तर, बाबुरामकी श्रीमती भएकै आधारमा हिसिलालाई उपाध्यक्ष बनाइएपछि पूर्व माओवादी केन्द्रबाट नयाँ शक्तिमा प्रवेश गरेका कार्यकर्तामा चरम असन्तुष्टि छाएको छ । जनमानस र आम कार्यकर्ताको व्यापक विरोधका बावजुत पनि हिसिलालाई बाबुरामकै दबावमा उपाध्यक्ष बनाइएको बताइएको छ ।
त्यसैले होला नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष जितेन्द्र महराले भट्टराईको नातागोता मोहबारे एउटा लामो व्यङ्ग्य मिश्रीत स्ट्याटस नै लेखेका छन् ।


बाबुरामले आफ्ना सबै आफन्त र नाता गोतालाई पार्टीको पदमा भर्ति गरेका छन् । छोरी मानुषी यमि भट्टराईलाई केन्द्रीय सदस्य बनाइएको छ । वैचारिक रुपमा खारिएकी नेतृ समेत रहेकी मानुसीको वेग्लै क्षमता छ । तर, उनलाई अहिले नै केन्द्रीय समितिमा ल्याउँदा अन्य इमानदार कार्यकर्ता भने छुटेका छन् ।


यता मानुसीका पति तथा बाबुरामका ज्वाईं जेकेन्द्र श्रेष्ठ पनि नवगठित पार्टीको केन्द्रीय सदस्य छन् । विद्यार्थी राजनीतिकै क्रममा मानुसी र जेकेन्द्रबीच केही वर्षअघि विवाह भएको थियो । बाबुरामले आफ्ना ज्वाईंलाई हरेक अवसरमा अघि सार्ने गरेका छन् । समाजवादी पार्टीको केन्द्रीय समितिमा ज्वाईं श्रेष्ठलाई ल्याउन उनकै दबाव रहेको बताइन्छ ।


त्यस्तैगरी जेठी सासु तिमिला यमी पनि केन्द्रीय सदस्य बनेकी छिन् । उनका लागि बाबुराम पार्टीका नेता हुनु नै सौभाग्य बनेको बताइन्छ । राजनीतिक गतिविधिमा भन्दापनि पारिवारिक गतिविधिमा सक्रिय रहेकी तिमिलालाई केन्द्रीय समितिमा लगिएपछि चरम असन्तुष्टि बढेको छ ।


नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी शिव भट्टराई बाबुरामका सहोदर भाई हुन् । उनै शिवकी पत्नि दुर्गा न्यौपानेलाई पनि बाबुराम पार्टीको सर्वोच्च नेता हुनुले फाइदा भएको छ । बाबुरामकै दबावमा उनलाई केन्द्रीय सदस्य बनाइएको छ ।


संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको नयाँ पार्टीमा साविक नयाँ शक्तिका संयोजक र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै अध्यक्ष भएका छन् ।


वरियतामा डा। बाबुराम भट्टराई पहिलो र उपेन्द्र यादव दोस्रोमा छन् । एकताको सहमति अनुसार संघीय परिषद्को अध्यक्ष भट्टराई हुनेछन् भने केन्द्रीय समितिको अध्यक्षमा यादव रहने छन् । तेस्रो वरियतामा अशोक राई वरिष्ठ नेताको रुपमा रहने भएका छन् ।


सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालवावु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् ।

महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कङ्दङ्वा, रामसहाय यादव छन् ।


उपमहासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी छन् छ । यस्तै सचिवहरूमा मोहम्मद इस्तियाक राई, दुर्गा शोव, परशुराम बस्नेत, प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्ष विजय यादव रहेका छन् ।