सेनाको हेलिकोप्टरमा श्रीमती लिएर मन्दिर दर्शनमा रक्षा सचिव रश्मिराज पाण्डे !

सेनाको हेलिकोप्टरमा श्रीमती लिएर मन्दिर दर्शनमा रक्षा सचिव रश्मिराज पाण्डे !

काठमाडौं, १ जेठ । रक्षा सचिव रश्मि राज पाण्डेले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै आफ्नो पारिवारिक भ्रमण गरेको खुलाशा भएको छ ।


मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट सचिव पाण्डे डोल्पाको सेफोक्सुन्डो ताल र डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ मा रहेको बाला त्रिपुरा सुन्दरी माईको मन्दिरको दर्शन गरी फर्किएको पाइएको हो । पदको दुरुपयोग गर्र्दै पाण्डेले हेलिकोप्टरमा आफ्ना श्रीमती छोरा सहितको जम्बो टोली लिएर दर्शन गर्न पुगेका थिए ।


मंगलबार विहान साँढे ८ बजे मन्दिर परिसरमा हेलिकोप्टर ल्यान्ड गरेर उनकी श्रीमती र छोरा सहितको टोलीले मन्दिरमा दर्शन गरेको स्रोतले जानकारी दियो ।


‘उहाँको नितान्त निजी र पारिवारिक भ्रमण हो । यस्तो भ्रमणमा पनि सेनाको हेलिकोप्टर लिएर आउन पाइँदो रहेछ,’ मन्दिर परिसरबाट एक दर्शनार्थीले भने,‘यो त पदको दुरुपयोग भएन र ?’
यस विषयमा पाण्डेलाई ‘तपाईं सेनाको हेलिकोप्टर लिएर मन्दिर दर्शन गर्न जानु भएको हो ?’ भनेर दियोपोस्टले प्रश्न गर्दा,‘यो कुरा कहाँबाट आयो’ भन्दै फोन काटेका थिए ।


केही बेरमा उनी आफैले फोन गरी आफू ब्यारेक निरिक्षण गर्न गएको बताए । ब्यारेक निरिक्षण गर्न गएको बताएका उनले कुरा फेर्दै आफू निकुञ्ज निरिक्षण गर्न गएको पनि बताए । तर, उच्च स्रोतका अनुसार उनी कुनै निरिक्षण गर्न गएका थिएनन् । उनको निजी भ्रमण नै थियो ।


सचिव पाण्डेलाई दियोपोस्टले ‘ब्यारेक र निकुञ्ज निरिक्षण गर्न श्रीमती र परिवार पनि जानु पर्छ र ?’ भन्ने प्रश्न गरेको थियो । जवाफमा पाण्डेले आफू गएको बेला श्रीमती र परिवार पनि जाने गरेको बताए ।

Facebook Comments

Trending News