{अन्तर्वार्ता} उद्योग मन्त्री मातृका यादवको प्रश्न,‘कुटपीटको प्रमाण मिडियाले दिनुपर्दैन ?’

दियो पोस्ट  

तत्कालिन वन मन्त्री थिए मातृका यादवले ललितपुरको तत्कालिन स्थानिय विकास अधिकारी डन्डुराज घिमिरेले ललितपुरमा अवैध ढुङगाखानीलाई बढावा दिएको अभियोगमा शौचालयमै थुनिदिए । केही दिनअघि मन्त्रालय भित्रै कुटाकुट गरेको समाचार आएपछि हालमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवलाई फेरी विवादमा ल्याइएको छ । तर, मन्त्री यादवले उक्त घटनामा आफू गएको तर होहल्ला नगर्न चेतावनी दिएर आएको स्विकार्छन् । उनै मातृका यादवलाई दियोपोपस्टका लागि सुदीप विश्वकर्माले सोधेका थिए–तपाईंले सम्हालेको मन्त्रालयमा पटक पटक विवाद र लफडाका घटना आईरहन्छन् । पछिल्लो समय ‘मन्त्रीले कमैचारीको कठालो’ समात्यो भनेर प्रचार भइरहेको छ । घटनाको वास्तविकता के थियो ?’

– मुख्य कुरा मन्त्री हुँदा विवादित भयो र लफडा जो भन्नु भयो । यो व्यवस्था जसलाई हामीले परिवर्तनका लागि लड्यौँ । तर प्रवृति पुरानै छन् । पुरानो प्रवृतिले देश र जनतालाई हित गर्दैन । अहिले जुन सरकारी संरचनाहरु छन् जसलाई हामी स्थायी सरकार पनि भन्छौँ । त्यसको मनोविज्ञान ‘मेन्टालिटि’मै समस्या छ । उ अग्रगमनलाई आत्मसाथ गर्दैन । मुखले गर्छ तर तलदेखि माथिसम्म जुन आत्मसाथ गर्नुपर्ने हो त्यो गर्दैन । त्यहाँ समस्या पनि देखिन्छ । मार्क्सले जसरी सत्ताको व्याख्या गर्नु भयो । त्यो वैज्ञानिक हो । हामीले आफूलाई मार्क्सवादी ठान्ने तर मार्क्सवादलाई छाडिदिने गरेका छौँ । जस्ताको तस्तै लागु गर्नुपर्छ भन्ने पक्षमा म छैन । तर विकास अनुसार त गर्नु पर्यो नी । मार्क्सवादका केही आधारभूत सिद्धान्तहरु छन् । त्यो परिवर्तन हुँदैन । वर्ग संघर्षलाई वर्ग समन्वयमा लग्यो भने चिज अगाडी जान्छ र ?
त्यसैले यहाँ टकराव हुन्छ । हामीबीचमा प्रवृत्तिगत टकराव हुन्छ ।

मातृका यादव र हिजोको पुरानो मानसिकताको कर्मचारीबीचको टकराव हो ?


– म व्यक्तिगत रुपमा सबैलाई मायाँ गर्छु । मेरो कसैसँग केही छैन । व्यक्तिगत टकराव भनेको स्वार्थको टकराव हो । ‘मैले केही भनेको छु । मेरो काम गरिदिएन । ‘मन्त्री भएर मैले गलत आदेश गरेको छु’ भने मसँग व्यक्तिगत टकराव हुन्छ । तर मैले त्यस्तो होइन सिस्टममा हिँड्नुपर्छ भनेको छु । सरुवा भएर आउँदा चाहेकै अनुसार पदस्थापना हुन्छ त ? कुनै ठाउँमा जान खोज्छ भने त्यसको मत्लब बदनियत त देखिन्छ ।

उसले जहाँ पायो त्यहाँ खुसीले काम गर्नुपर्ने हो नी । म अहिले मन्त्री छु । मैले प्रधानमन्त्रीलाई गृहमन्त्री बनाइदिनु भनेँ भने बनाइदिनु हुन्छ त ? म त मन्त्री नै हुँ नी । मैले फलानो मन्त्रालय दिनुस् भनेर भन्ने एउटा कुरा हो तर बनाउने काम उहाँको हो । सरुवा र तलको कर्मचारीको पदस्थापना मैले गर्ने होइन । सम्बन्धित शाखाहरुले गर्छन् । विगतमा एलडिओले बदमासी गर्न खोज्दा विवाद भयो । त्यो समस्या अहिले पनि यथावत छ । एक जना प्रहरीको उच्च अधिकारी त्यो क्षेत्रको माननीय हुनुहुन्छ । उहाँ यतिबेला टाउको समातिराख्नु भएको छ । यो समस्या कसरी हल हुन्छ भन्ने चिन्ता छ उहाँलाई ।


अर्को कुरा जनताको हितमा होइन आफ्नो व्यक्तिगत चाहनामा काम गर्ने चलन छ । अनियिमत क्रसरहरु त्यो बेलामा चलाइएको थियो । मैले अनियमित क्रसर चलाउन पाइँदैन भनेको हुँ । मैले लफडा गरेको हो की लफडालाई ठीक गर्न खोजेको हुँ ? तपाई आफै छुट्याउनुस् । त्यसैको शिलशिला अहिले आएको छ ।


त्यो कस्तो शिलशिला हो ?


– अस्तिकै कुरालाई हेरौँ । पदस्थापना भयो । कर्मचारीका नेता भनाउँदाहरु बबाल मच्चाउन आउँछन् । आफू फलानो ठाउँमा जान पाइएन भनेर बबाल मच्चाउन आउँछन् । उसको निकायहरु छन् । आधिकारीक ट्रेड युनियनमा जानु नी । मन्त्रालयको म प्रमुख हुँ । सम्बन्धित कर्मचारीको विभागमा जानु पर्छ । सचिव कहाँ जार्नु पर्थ्यो । तर, मेरो कार्यालयमो निजि सचिवको कार्यकक्षमा तथानाम गाली गलौज गरियो ।

अपशब्दहरु प्रयोग गरियो । कालोमोशो दल्ने कुरा पनि गरियो । मैले घुस खाएको भए मलाई प्रश्न गर्नु पर्यो नी ? जव मेरो परिवारमाथि कसैले आक्रमण गर्न आउँछ । उ माथि कसैले आक्रमण गर्यो भने म त्यहाँ गएर उभिन्छु । तर उ शाखामा काममा हुनु पर्यो । जो आएर यहाँ बद्मासी गर्दै थियो । म अरु मन्त्री जस्तो होइन । सिपाही खटाएपछि उ मरोस् तर कमान्डर उठ्दै नउठ्ने । म आफ्नो पंक्तिलाई सुरक्षा गर्न जान्छु ।

म यहाँ बसिरहेको थिएँ । हल्लाखल्ला भएपछि म त्यहाँ गएको हो । ‘घुस खायो..’ भन्दै टेबुल ठटाउँदै थिए । मैले गएर भनें,‘प्रमाण छ ? छ भने ल्याउनुस् म कारबाही गर्छु तर यहाँ हल्ला नगर्नुस् ।’ त्यति भन्दा मिडियाले अनावश्यक प्रचारवाजी गर्यो । त्यति भन्दा तपाईंहरु जस्तै मिडियाकर्मीले के खोजेको थाहा छैन । त्यही मिडियाले मन्त्रीमाथि नै हात हाल्यो, कुटाकुट भयो भन्यो । कुटाकुटको प्रमाण मिडियाले दिनुपर्दैन ।
म गएको हुँ । जसले घुसको आरोप लगायो उसलाई यहाँ राख र प्रमाण ल्याएपछि छोड भनेपछि उनीहरु भागे ।


उनीहरु के पदस्थापनामा चित्त नबुझेर आएकाहरु थिए ?

– हो । उनीहरु बाहिरबाट होहल्ला गर्न आएका रहेछन् । पछि मैले थाहा पाएँ कांग्रेस समर्थित कर्मचारी संगठनका नेताहरु रहेछन् ।


तपाईं विभागिय मन्त्री हुनुहुन्छ । यहाँ मातहतकै कर्मचारी पदस्थापना र सरुवा गर्दा होहल्ला र झैझगडा गर्छन् किन ?


– यो अराजकताको पराकाष्ठ हो । सबै आफू अनुशासनमा बस्नुपर्छ । यो विकृति ल्याउनमा तत तत संगठनका नेताहरुको पनि हात छ । कांग्रेसका प्रवक्ताले मन्त्रीले राजिनामा दिनुपर्छ र बर्खास्त गर्नुपर्छ भन्दिुनु भयो । कस्तो प्रवक्ता हो त्यो । उ कुनै दिन मन्त्री होला त्यो दिन उसले थाहा पाउँछ । हाम्रा पनि कर्मचारी संगठन छ त्यो दिन उसलाई ठोक्यो भने के हुन्छ ? सँधै हामी नै मन्त्री हुन्छ भन्ने कुरा छैन । उ पनि मन्त्री हुने लाइनमा छ नी । सँधै विपक्षमा नै बस्ने भए त जे पनि बोल्दा हुन्छ । होस पुर्याएर बोल्नु पर्ने हो नी ।

कुन मन्त्रीसँग विवाद भयो त्यो पनि ख्याल गर्नु पर्ने हो । जुन मन्त्रीले घुस खाँदैन । त्यो मन्त्रीमाथि आरोप लागि रहेको छ । कता कता लाज श्रम लाग्नु पर्ने हो नी । मेरो स्टाफले आर्थिक चलखेल गरेको प्रमाण ल्याउनु पर्यो नी । मैले कारबाही गर्न सक्नु पर्यो नी । मेरो सचिवालयको मान्छेले घुस खान्छन् भने त मैले खाएको हुन्छ नी । मैले थाहा पाउँदा पाउँदै मेरो सचिवालयको मान्छेले घुस खाइरहेको छ भने मैले के बुझ्नुपर्छ मैले घुस खान्छु । म अरु जस्तो होइन म स्विकारदिन भन्ने ।

यहाँ टिमका मान्छेलाई मैले कारबाही गर्नुपर्छ । मेरो निजि सचिवालय होस् वा स्वकिय सचिवालय कसैले घुस खाएको छ र मैले थाहा पाएँ तर कारबाही गरिनँ भने मैले खाएको सरह हो । मैले हिजो पनि भनेको थिएँ । म घुस खान्न । तर वरीपरि भ्रष्टचारी राख्छु र संरक्षण गर्छु भने के हुन्छ ? मैले संरक्षण गरेपछि म भ्रष्ट्रचारी भएँ नी ।


मलाई अचम्म लाग्छ । केही मिडिया दिनरात छिद्र अन्भेन्षणकारीको काम गरिरहेको छ । के पाउँछु मातृकाको भनेर बसेका छन् । केही व्यक्तिहरुद्वारा म्यानेज गरिएका मिडिया पनि छन् । मलाई हिजो एक जना बरिष्ठ पत्रकारले नै भन्नु भएको थियो,‘मिडिया म्यानेज’ गर्न नसकेको हो की ? म त्यो ‘म्यानेज गर्ने’ पक्षमा छैन ।


तपाईं मन्त्री भएको जुन सुकै मन्त्रालय पनि विवादमा आउँछन् । कर्मचारी र तपाईंबीच नमिलेको के हो ?


– म दावाका साथ भन्छु यहि संरचनालाई परिवर्तन गर्न सकिएन भने, यहि संरचनामा भएको व्यक्तिहरुलाई रुपान्तरण गर्न सकिएन भने समाजवाद आउँदैन । दुनियाको कुनै पनि तागतले ल्याउन सक्दैन । समाजवाद भनेको विचारबाट आउँछ त्यो भनेको समाजवादी विचार हो ।

समाजवादी राजनीति चाहियो । समाजवादी संगठन पनि चाहियो । आखिर फैसला त संगठनले नै गर्ने हो नी । विचार र राजनीतिलाई प्राप्त गर्ने साधन भनेको संगठन हो । अहिले जे चलिरहेको छ त्यसैमा सलल.. बगिरहनु त किन विवाद हुन्छ र ?


भनेपछि पुरानै संरचनाका कारण तपाईंले काम गर्न सकिरहनु भएको छैन ?


म त अहिले पनि भन्छु मैले चाहेजति काम गर्न सकेको छैन । कुनै बेला मलाई म मन्त्री छु की छैन भन्ने फिल हुन्छ । कुनैबेला म हल्लिएर बसेको जस्तो फिलिङ हुन्छ ।


किन त्यस्तो फिलिङ आयो ? केही महिनाअघि प्रधानमन्त्री कार्यालयबाट यहाँको विभाग अन्तर्गतको व्यक्ति नियुक्ती भएको थियो नी ? यस्तै कारण हो ?


सबै कारणहरु अहिले भन्न सक्दिनँ । म अहिले सबै विषयमा बोल्ने पक्षमा छैन ।


भन्नाले काम गर्ने वातावरण भएन भन्न खोज्नु भएको हो ?


– मलाई आश्चर्य लाग्छ मेरै विरुद्ध किन यस्तो हुन्छ । मलाई पार्टीले सम्झाइदिनु पर्यो तेरो यो यो काम गलत हो भनेर । सुधार्न भन्नु पर्यो या पार्टीले हटाइदिनु पर्यो । पार्टीमा केही छलफल नै हुँदैन । मैले स्थायी समितिको बैठकमा कुरा राखेको थिएँ–मलाई सुगर लागेको छैन । तर कतिपयलाइृ चिनी नखाईकन सुगर लागेको छ ।’ यसको छानबीन हुनुपर्यो । मैले प्रधानमन्त्रीलाई पनि भनेको हुँ ।

चिनिमा प्रतिबन्ध लगाउँदा १ अर्ब ६९ करोडको चलखेल भयो भनियो नी । अनि मैले भनेँ,‘यसको छानबीन हुनुपर्यो । मैले खाएको छु भने मलाई दोषी भनेर सावित गर्नु परे्यो । यहाँ सबैलाई चोर बनाउने र ठूला–ठूला डकैतहरु बाँच्ने खेल भइरहेको छ । मैले यसका छानबीनका लागि सांसदको सबैभन्दा सम्माननीय पद सभामुखलाई निवेदन नै हालेको हुँ ।


तपाईंको मन्त्रालयको प्रस्तुतीबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?


– मेरो मन्त्रालयको काम सलल चलेन । धेरै कारणहरु छन् । यहाँका विङ्ग्सले पनि टेर्दैन । एक तह माथिकालाई कारबाही गर्न दिनुपर्छ ।


कारबाही गर्दा सबै ठीक ठाउँमा आउँछ त ?


– गडबढ गर्ने तह लाग्छ । एक तहमाथिले पूर्वाग्रही हिसाबले कारबाही गरेछ भने स्वतन्त्र छानबीन पनि हुनुपर्छ । यदि मैले पुर्वाग्रही भएर कारबाही गरेँ भने मैले व्यक्तिगत रुपमा क्षतीपूर्ति दिनुपर्छ । त्यो नगरी हुँदैन । यहाँ त काम गर्ने कर्मचारी पनि १०० नम्बर, नगर्ने पनि १०० नम्बर, भ्रष्टाचार गर्ने पनि १०० नम्बर, मरिमरि दुख गरेकाहरुलाई पनि १०० नम्बर । त्यस्तो परिपार्टीले कहिले काम हुन्छ र ?


तपाईं आफै ‘एक्सन गर्ने ठाउँ’ मा मन्त्री हुनुहुन्छ, तर तपाईं यही कुर्सीबाट विद्रोही कुरा मात्रै गर्नुहुन्छ नी ?


– यो ठाउँबाट मैले कसैलाई कारबाही गर्न सक्दिँन । मन्त्रीहरुलाई सचिवहरुले भ्रष्टाचारी भन्दै गाली गर्दै हिँडेको छ तर केही भएको छ ? तर मलाई त त्यो भनिएको छैन । सम्बन्धित निकाय आनन्द मनाउने हुँन हुँदैन । कारबाही गर्ने जुन निकाय छ त्यसले एक्सन लिनु पर्यो नी । देशमा दण्डहिनता छ । एक्सन ओरियन्टेड भनेर के हुन्छ । बजारमा अनुगमन राम्रो भएको छैन । एक ठाउँमा हामी कार्यक्रम गर्दै थियौँ ।

त्यहाँको शौचालयमा पानी थिएन । त्यो चल्तीको ठाउँ थियो । कर्मचारी भन्दै थियो,‘अब भैहाल्छ मोटर नचलेर हो ।’ मैले धेरै चासो राखेँ तर पानी आउँदै आएन । मैले हाम्रो मन्त्रालयका साथीहरुलाई भनेँ,‘यसो हेर्नुस् के कारण हो ?’ खाने कुराको मसलाहरुको पनि डेट एक्सपायर रहेछ । त्यही मसलाबाट बनेको खाना हामीले खानु पर्ने अवस्था आयो । हाम्रा साथीहरुले भने खाएर परिक्षण गरौँ र एक्सन लिऔँ । थाहा पाउँदा पाउँदै डेट एक्सपायर खाना कहीँ खान मिल्छ ? त्यसपछि मिडिया बोलाइयो । कान्तिपुर लगायत कहलिएका मिडिया थिए । तर कसैले छापेनन् र बजाएनन् । फोटो खिचेर गए तर समाचार दिएनन् ।


तपाईं मन्त्री भएपछि के–के गर्न चाहानु भएको थियो ? हालसम्म के–गर्नु भयो ?


– कानुनी समस्याहरु थिए । धेरै कानुनहरु बनेको छ । कानुन बन्छ तर नियमावली बनेकै हुँदैन । कानुन र नियमावलीसँगै बनाउनुपर्छ । ६ महिना लगाएर एउटा कानुन बनाउने ६ महिना लगाएर नियमावली बनाउने तरिकाबाट हुँदैन । अनुगमन गर्नुपर्ने हुन्छ तर हुँदैन । जनताले राहत पाउनु पर्यो नी । जनताले सेवा तुरुन्त पाउनु पर्यो । यो मेरो चाहना थियो र हो । म आफ्नो कामबाट सन्तुष्ट छैन । सरकारको बारेमा मेरो टिक्काटिप्पणी छैन । सरकारले राम्रै काम गरिरहेको छ । म त्यसको इकाई न हो ।


ठूला उद्योगी व्यावसायीहरुले डेडिकेटेडर ट्रंकलाईन विद्युत जडान बापतको अर्बौंको शुल्क तिर्न आनाकानी गरिरहेका छन् । उद्योग वाणिज्य महासंघले ‘महशुल तिर्न भन्दा उद्योग नै बन्द गर्ने चेतावनी दिइरहेका छन् । तपाईंको भूमिका के हुन्छ ?


– त्यसमा मेरो भनाई के छ भने सरकारको नीति अनुसारको सम्झौता भएको छ की छैन । व्यक्तिगत रुपमा कोही हिरो बन्नका लागि होइन । सम्झौता गरे अनुसार उसले तिर्नैपर्छ । सम्झौता गरेको छैन भने उसलाई के आधारमा तिराउने ? सम्झौता गरेर तिर्दिन भन्छ भने त्यो बदमासी हो । बिलिङ भएको छैन तर सम्झौता छ भने लिनुपर्छ । सम्झौता नै गरिएको छैन तर दण्ड सजाय गर्न उचित हुँदैन ।


पार्टी एकता पश्चात भर्खरै जवस मोर्चाको नेतृत्व टुङ्गीएको छ, कतै असन्तुष्टिका श्वर पनि सुनिएका छन् । तपाईंलाई कस्तो लागेको छ ?


– मन्त्री पनि पाएको छु । स्थायी समितिको सदस्य पनि छु । त्यो भन्दामाथि मलाई राख्दैन । मैले के असन्तुष्टि जनाउनु । आफू पाउँदा खुस, नपाउँदा बेखुस हुने प्रवृति गलत छ । सिस्टममा सबै चिज चल्नुपर्छ । पार्टी र सरकार दुवै सिस्टममा चल्नुपर्छ ।


भनेपछि अहिले सरकार र पार्टी सिस्टममै चलिरहेको छ त ?


– सिस्टममै छ । जो साथीहरुको विरोध छ त्यो बारेमा छलफल हुनुपर्यो । पार्टीले चलाउने सरकारकी सरकारले चलाउने पार्टी ? महत्वपूर्ण निर्णयहरु पार्टीमा हुनुपर्छ । नयाँ सिस्टम जन्मेको भए मलाई थाहा छैन । पढ्न छाडिएको छ । मार्क्सवाद विर्सिन पनि थालियो । तर मार्क्सवादको आधारभूत कुरा विर्सिएको छैन ।

कानुनी समस्याहरु थिए । धेरै कानुनहरु बनेको छ । कानुन बन्छ तर नियमावली बनेकै हुँदैन । कानुन र नियमावलीसँगै बनाउनुपर्छ । ६ महिना लगाएर एउटा कानुन बनाउने ६ महिना लगाएर नियमावली बनाउने तरिकाबाट हुँदैन ।

अनुगमन गर्नुपर्ने हुन्छ तर हुँदैन । जनताले राहत पाउनु पर्यो नी । जनताले सेवा तुरुन्त पाउनु पर्यो । यो मेरो चाहना थियो र हो । म आफ्नो कामबाट सन्तुष्ट छैन । सरकारको बारेमा मेरो टिक्काटिप्पणी छैन । सरकारले राम्रै काम गरिरहेको छ । म त्यसको इकाई न हो ।