
दियोपोस्ट संवाददाता
बाँके, १२ जेठ । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले एक स्थानियमाथि मदिरा सेवनगरी कुटपीट गरेको खुलाशा भएको छ ।
शनिबार घुमघामका लागि पुगेका सिडिओे भूजेलले स्थानिय सुमन केसीलाई मदिरा सेवनगरी निर्घाट कुटपीट गरेको पीडितले आरोप लगाएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ परुवाखोला भन्ने स्थानमा घुमघामकाा लागि सुरक्षाकर्मी सहित पुगेका भूजेलले मदिरा सेवनगरी स्थानिय सुमन केसीलाई कुटपीट गरेको खुलेको हो ।
‘म नुहाएर आएको थिएँ । किन प्रहरीहरु आएको रहेछ भनेर हेर्न गएको थिएँ । आमाको गाली गर्दै मलाई लखेट्दै कुटे । निकैबेर कुटेपछि सिडिओे सापको अगाडी लगेर कुट्न थाले ।
सिडिओे आफैले पनि कुटपीट गर्नुभयो,’ पीडित सुमन केसीले दियोपोस्टसँग भने,‘मैले भिडियो बनाउन खोजेँ तर फोन आएपछि बनाउन पाइन ।’
उनका अनुसार सिडिओसँग आएका प्रहरीले २ जना अन्य ड्राइभरलाई समेत कुटपीट गरेका थिए ।
पीडित केसीका अनुसार प्रहरीले शुरुमा सोधपुछका लागि आफूलाई बोलाएको र आफूलाई थाहा भएको विषय बताउन जाँदा कुटपीट गरेका थिए ।
‘भाई यहाँ आउत भनेपछि म गएँ । एउटाले बोलाउने अर्कोले आमाको गाली दिएर तँ किन यहाँ आइस् भन्यो,’ पीडित केसीले भने,‘किन आमाको गाली दिनु भयो भनेर प्रश्न गर्दा बढी बोल्छस् भन्दै कुट्न थाल्यो । उनीहरु दारु खाएर आएका रहेछन् ।
पिट्दै पिट्दै सिडिओ भएको ठाउँमा लगे । सिडिओ पनि दारु खाएर आएको रहेछ उहाँले पनि कुट्नु भयो ।’
कुटपीटबाट पीडित केसीको पेटमा दुखेको र अनुहार सुनिएको उनी आफैले बताए । पीडित केसीले आफूलाई सिडिओ सहित ७ जना मिलेर कुटपीट गरेको बताए ।
सिडिओ भन्छन्,‘म गाडीबाट झरेको पनि छैन’
प्रमुख जिल्ला अधिकारी मदन भूजेलले आफू सिक्टा सिँचाई आयोजनाको अनुगमन गर्न उक्त क्षेत्रमा गएको स्विकार गरे । तर, त्यस्तो घटना भने नभएको उनको तर्क छ ।
‘म गाडीबाट झर्दै झरेको छैन । त्यो को हो त्यसलाई फेरी ल्याउनु पर्ने भयो । खोलामा मेसिन प्रयोग गरेको देखिएपछि हामीले अनुगमन गरेका हौँ । एक जना केटाले अलि बढि बोलेको कुरा एसपी सापले सुनाउनु भएको थियो,’ उनले भने,‘तर मैले केही देखेको छैन । मैले अहिलेसम्म कसैलाई कुटेको पनि छैन ।’
सिडिओ भूजेलले ठेकेदारले गलत मान्छे प्रयोग गरेर घटना बङ्ग्याउनलाई अतिरन्जना गरेको आरोप लगाए ।