
काठमाडौं, १७ जेठ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि कस्ता कस्ता कुराहरुले आकर्षण गर्छ ? यो प्रश्नको स्वभाविक उत्तर हुन्छ–हिमाल, नदिनाला, पहाड, यहाँको संस्कृति र परम्परा ।
नेपालको नदिमा र्याफ्टिङ गर्नका लागि वार्षिक लाखौँ संख्यामा पर्यटक आउँछन् । नेपालको पहिचान नदिमा पनि छ । यहाँको खोला नालाको संरक्षण गर्नु सरकारको दायित्व हो । तर, खोला नै कब्जा गर्ने एक व्यक्ति भने विगत ७ महिनादेखि नेपाल भ्रमण वर्ष २०२० को अध्यक्ष छन् ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्षसहित बनाइएको आयोजक समितिमा नेपालको नदि नाला नै कब्जा गर्ने व्यक्ति अध्यक्ष बनाइएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माधिन चिनिया सिमेन्ट उद्योग हुवासिन सिमेन्ट नारायणी प्रालीले मलेखु खोलाको अस्तित्व नै नामेट पारेको छ । २०४१ र २०५० सालको बाढीका कारण मलेखुकाु पुल नै बगाएको निकै चर्चित खोला यतिबेला सुक्न थालेको छ । उक्त सिमेन्ट उद्योगमा नेपाली साझेदार बैद्य हुन् । चिनिया उद्योगको ८० प्रतिशत र नेपाली साझेदार बैद्यको २० प्रतिशत शेयर रहेको छ ।

‘वैद्यलाई के आधारमा भ्रमण वर्षको अध्यक्ष बनाइयो । आम पर्यटन क्षेत्रमा उहाँ अध्यक्ष भएर के–के उपलब्धी भयो,’ एक पर्यटन व्यावसायी भन्छन्,‘खोला नै कब्जा गर्ने व्यक्तिले के पर्यटन बुझेको हुन्छ ।

तत्कालिन पर्यटन मन्त्री स्वर्गिय रविन्द्र अधिकारीले मन्त्रीस्तरको निर्णयबाट गत कार्तिक १६ गते नेपाल भमण वर्ष २०२०को आयोजन समितिको अध्यक्ष नियुक्त गरेका थिए । उनी अध्यक्ष भएको ८ महिनासम्म जम्मा ३ वटा वैठक मात्रै बसिएको छ । वैठकले नेपालको पर्यटनमा योगदान पुर्याउने खालको कुनै निर्णय समेत गरेको छैन ।

‘उहाँ बैठकमा आउनुहुन्छ । अध्यक्षको कुर्सीमा बस्नु हुन्छ । मलाई केही थाहा छैन तपाईंहरुको कुरा सुन्ने हो भनेर आफ्नो योजना नसुनाई उठेर जानुहुन्छ,’ समितिका एक सदस्य भन्छन्,‘यो समितिको अहिलेसम्म कुनै कार्यालय पनि छैन । यस्तो तरिकाले कसरी पर्यटक नेपाल आउँछन् ।’
वैद्यलाई सरकारले ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो ।