सुदुरपश्चिमका सांसद भन्छन्,‘ओली गुटको समर्थनमा मेरो हस्ताक्षर छैन, मेरो नाम बद्नाम गरियो’ !

दियो पोस्ट  

काठमाडौं, १९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण तिब्र विवाद छ । शिर्ष नेताहरुले आफ्नो पक्षमा बहुमत देखाउन सचिवालय सदस्य, स्थायी समिति सदस्य र सांसदलाई तानातान गरिरहेका छन् ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमै सरकारले हस्ताक्षेर अभियान सञ्चालन गरेको थियो । जसमा प्रधानमन्त्री ओलीका विश्वास पात्र भनिएका सांसद महेश बस्नेतदेखि पूर्व डिआइजी तथा सांसद नवराज सिलवालसम्म सक्रिय थिए ।


उनीहरुले केपी ओलीको पक्षमा बहुमत देखाउन ६२ जना सांसदको हस्ताक्षेर रहेको भन्दै प्रचारबाजी समेत गरेका थिए । सुदरपश्चिम प्रदेशका १९ मध्य १६ जना सांसद आफ्नो पक्षमा रहेको उनीहरुको जिकीर थियो ।

पूर्व माओवादी केन्द्रका लेखराज भट्टको नेतृत्वमा बहुमत सांसद आफ्नो पक्षमा रहेको प्रचारबाजी समेत भएको थियो । पूर्वमाओवादीकै कैलालीका सांसद गौरी शंकर चौधरी समेत बालुवाटारको हस्ताक्षरमा समलग्न रहेको ओली पक्षको दाबी थियो । तर, पूर्व कृषि मन्त्री समेत रहेका चौधरीले भने आफू कुनैपनि पक्षको हस्ताक्षेर अभियानमा सामेल नभएको र बालुवाटारले गलत प्रचार गरेको बताए ।


दियोपोष्टको सम्पर्कमा आएका चौधरीले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्य एक पदबाट राजिनामा दिनुपर्ने अडान राख्दै आएको बताए ।


‘पार्टीमा एक पद एक जिम्मेवारीको विषयलाई मान्ने कुरामा स्पष्ट छु । पार्टी नीतिबाट बाहिर जाने मान्छेलाई मेरो समर्थन छैन । एक व्यक्ति एक पदको पार्टीको निर्णय स्वयं प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट लागु भएन,’ चौधरीले भने,‘अध्यादेश देखि विभिन्न निर्णयहरु कुनै छलफल नै नगरी आइरहेको छ । स्वयच्छिक र आफ्नो हिसाबले मात्रै जानु हुँदैन ।’

चौधरीले सञ्चार माध्यमले आफूले गुट परिवर्तन गरेको भनेर प्रचार गर्न गलत रहेको समेत बताए ।
‘मिडियाले के कुरा लेख्यो त्यो फरक कुरा हो । उहाँ नै पार्टी अध्यक्ष हुने, उहाँ नै प्रधानमन्त्री भइराख्ने, पार्टी पनि सहि तरिकाले जान नसक्ने तर जिम्मेवारी नछोड्ने यो गलत भयो,’ चौधरीले भने,‘उहाँले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एउटा जिम्मा लिनुपर्छ । तर दुवै जिम्मेवारी नछोडि सँधै यस्तै रहन्छ भने हाम्रो समर्थन रहँदैन ।’


चौधरीले प्रधानमन्त्रीले आफ्नो जिद्धिपनका कारण देश र पार्टीलाई बन्धक बनाएको बताए ।
‘पार्टी पनि मै चलाउँ । देश पनि मै चलाउँ, सरकार पनि मै चलाउँ भन्नु भयो भने देश र पार्टी बन्धक बन्छ । यसरी नै जानुभयो भने हाम्रो समर्थन र सहयोग हुँदैन,’ उनले भने ।


सुदुर पश्चिमका सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारको हस्ताक्षेर अभियानमा समलग्न नरहेको समेत उनले बताए ।


‘अहिलेसम्म जतिपनि नाम आएका छन्, लक्ष्मि चौधरी पुग्नु भएको छैन । बिना बुढाथोकी कञ्चनपुरको समर्थन नै छैन तर नाम छ । मेरो सहमति नै छैन मेरो नाम कसरी गयो ? जबकी मैले कुनै ठाउँमा हस्ताक्षेर गरेको छैन,’ चौधरीले भने,‘मेरो नाम कसरी आयो ? हामीसँग कुनै छलफल समेत भएको छैन । मान्छे कैलालीमा छ नाम यहाँ हस्ताक्षरमा राखेर हुन्छ ? यो पत्याउने कुरा होइन । मेरो नाम प्रधानमन्त्री कार्यालयबाटै बद्नाम गरियो । कतै हस्ताक्षर गरिएको छैन तर एक्कासी नाम आउँदा हामीलाई अचम्म लागेको छ ।’


आफूहरुलाई कसैको दबाव र प्रभाव समेत अस्वीकार्य हुने चौधरीले बताए । उनले बालुवाटारमा हस्ताक्षेर अभियान चलाउनु गलत भएको समेत बताए ।