
एजेन्सी । मृत्युको विश्वव्यापी हल्लाबीच उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् ।
समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्।
नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको छ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी ९केसिएनए० का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।
नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ ।
तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका थिए ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ । तर केसिएनएको दाबी तथा उसले सार्वजनिक गरेको तस्बिरको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन ।
नेता किम सार्वजनिक कार्यक्रममा उपस्थित भएको भन्ने खबरबारे पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिक्रिया मागेका थिए ।
ट्रम्पले सो विषयमा टिप्पणी गर्न नचाहने बताए । राष्ट्रपति ट्रम्पले गएको सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए । ट्रम्पले उनका लागि कामना भने गर्ने बताएका थिए ।
तर फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्री पोम्पेओले बुधबार उत्तर कोरियाका नेता किमबारे भनेका थिए, ‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन । हामीले नजिकबाट नियाली रहेका छौँ ।’
नेता किम अप्रिल १५ मा हजुरबुवा ९उत्तर कोरियाका संस्थापक० किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।
त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।
दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो ।