कोरोनाको महामारीबीच विद्यार्थी भर्ना शुल्क उठाउनु गलत : रञ्जित तामाङ

दियो पोस्ट  

काठमाडौं, २२ वैशाख । आगामी वैशाख २६ देखि विद्यार्थी भर्ना सुचारु गर्ने शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको अभिव्यक्ति विरुद्ध सत्तारुढ दल निकट विद्यार्थी संगठनकै नेताहरु विरोधमा उत्रिएका छन् ।


नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका सह—संयोजक रन्जित तामाङले मन्त्री पोखरेलको अभिव्यक्तिको सामाजिक सञ्जालबाटै विरोध गरेका छन् ।


‘२५ गते पछि बिद्यार्थी भर्ना गर्ने’ भन्ने हतारो गरिनु हुदैन । महामारी बढिरहेका बेला बिना तयारी बिद्यार्थी भर्ना शुरु गर्ने र शुल्क उठाउन हतार गर्नु गलत छ । कतिपय निजि स्कुलले यहिबेला भर्ना शुरु गरि शुल्क उठाउन थालेको बुझिएको छ, यसबारे सरकारले तत्काल कदम चालोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सरकार आफैले गरेको निर्णय अनुसार निजि बिद्यालयहरुले १ महिनाको शुल्क जुनकुनै मुल्यमा फिर्ता गराउन लागि पर्नु जरुरी छ ।’

शिक्षामन्त्री पोखरेलले यसअघि आगामी वैशाख २६ गतेदेखि विद्यार्थी भर्ना सुचारु गर्ने बताएका थिए । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले लकाउन जारी राखेकै अवस्थामा शिक्षामन्त्री पोखरेलले यस्तो अभिव्यक्ति दिएपछि शिक्षक विद्यार्थी र अभिभावकले समेत विरोध जनाएका छन् । अभिभावक संघका अध्यक्ष केशव पुरीले भर्ना अभियान नै बहिस्कार गर्ने चेतावनी दिएका छन् ।