
दियोपोष्ट संवाददाता
धादिङ, २४ वैशाख । धादिङ ज्वालामुखि गाउँपालीका २ मैदी काफलपानीकी एक युवती आर्थिक अभावमा आफ्नो उपचार बञ्चित हुनुपरेको छ । ब्रेनट्युमर रोगबाट ग्रसित बनेकी २३ वर्षीय इन्दीरा खान उपचार नपाएरै मृत्यु कुरिरहेकी छिन् ।
केही वर्षअघि मात्रै गोरखाको फूजेलमा विवाहा भएपनि विरामी भएपछि घरबाट समेत हेरचाहा नभएपछि उनी माइतमा आएर बस्न बाध्य भएकी छिन् ।
आर्थिक अवस्था कमजोर भएपछि ज्वालामुखि गाउँपालिकामा आर्थिक सहायताको लागि सिफारिस लिन जाँदा सिफारिस समेत नदिएको विरामी युवतीकी आमा धनमाया खान ठकुरीले दियोपोष्टलाई बताइन् ।

‘छोरीलाई बोकेर ज्वालामुखि गाउँपालिकाको स्वास्थ्य प्रमुख सुजन श्रेष्ठलाई भेट्न गएँ । तर, उहाँले अस्पालको रिपोर्ट लिएर आउनु भन्नु भयो । अस्पताल लैजाने पैसा नभएर आर्थिक सयोगको सिफारिस लिन गएको मान्छेले कहाँबाट रिपोर्ट ल्याउने ?’ उनको प्रश्न छ ।
छोरी इन्दिरालाई केही महिनाअघि भरतपुर स्थित विपी कोइराला क्यान्सर अस्पतालमा पुर्याइएको र त्यतिबेला डाक्टरले ब्रेन ट्युमर भएकोले उपचारका लागि ४० लाख रुपैयाँसम्म लाग्ने बताएको विरामीकी आमा धनमायाले बताइन् ।
गोरखाको फूजेलस्थित विवाह भएको घरमा इन्दिराको रिपोर्ट हराएपछि आफूहरुले धेरै खोजी गर्दा पनि नभेटिएको विरामीको आफन्तको भनाई छ । ‘काठमाडौंमा लगेर राम्रो अस्पतालको डाक्टरले अपरेशन गर्न पाए मेरी छोरी बचाउँन सक्थेँ । तर कसरी लैजाने ? न पैसा छ, न आर्थिक सहयोग कतैबाट पाएको छु,’ इन्दिराकी आमा धनमायाँले भनिन्,‘मेरी छोरीलाई बचाउन चाहान्छु ।’

आर्थिक अवस्था निकै कमजोर भएको इन्दिराको परिवार नै कृषि पेशामा निर्भर छन् । तर कृषि पेशाले पनि वर्षभर खान समेत धौधौ पर्ने उनीहरुको परिवारमा छोरी विरामी भएपछि ठूलो बज्रपात आइलागेको छ । छोरीको उपचारको लागि केही सहयोग हुन्छ की भन्दै आमा धनकुमारी छोरी बोकेर डुलाउँदै हिँड्ने गरेकी छिन् । तर, स्थानिय निकायबाट समेत कुनै सहयोग उनलाई प्राप्त भएको छैन ।
