‘कोरोनाग्रस्त’ जिल्ला रौतहटबाट धादिङसम्म कसरी आए ईट्टा बोकेको ट्रक, प्रशासनकै मिलेमतो !

‘कोरोनाग्रस्त’ जिल्ला रौतहटबाट धादिङसम्म कसरी आए ईट्टा बोकेको ट्रक, प्रशासनकै मिलेमतो !

धादिङ, ८ जेठ । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेको ५८ दिन कटिसकेको छ । लकडाउनको अवधिमा औषधी पसल बाहेक खाध्यान्न पसल समेत बन्द छन् ।

प्रहरीले एम्बुलेन्स शव, बहान र सुचना विभागको पास बाहक पत्रकारलाई मात्रै आवात जावत गर्न दिइरहेको छ । तर, यस्तो कडाइकाबीच पनि धादिङमा भने खाद्यान्न ढुवानीको ब्यानर राखेर तराईदेखि ठूला १० चक्के ट्रकमा इट्टा ढुवानी भइरहेको पाइएको छ ।

धादिङबेसी स्थित त्रिवेणी चोकमा रहेको राम लक्ष्मण इन्टरप्राईजेजले बिहिबार बिहान रौतहटबाट दुई ठुला ट्रकहरुमा अगाडी खाद्यान्न लेखेको बोर्ड टाँसेर इट्टा ल्याएको पाइएको छ ।


स्थानियबासीले नियन्त्रणमा लिन दबाव दिएपछि सशस्त्र प्रहरीले रौतहटबाट इट्टा ल्याउने ना ६ ख ७०३१ र ना ७ ख २७६० नम्बरका दुबै ट्रकलाई नियन्त्रणमा लिएको छ ।

ट्रकका चालक र सह(चालकहरु मकवानपुर निवासी कृष्ण कार्की र विवेक विष्ट, रौतहट चन्द्रपुर निवासी निराजन लामिछाने र दिपेश मगरलाई ट्रकबाट झर्न नदिईएको प्रहरीले जनाएको छ ।

उक्त ट्रकमा राम लक्ष्मण इन्टरप्राईजेजले पि.के.जे. इट्टा उद्योग गरुडा रौतहटबाट ल्याएको इट्टा ज्वालामुखी कन्ट्रक्सन हुँदै नीलकण्ठ नगरपालिका १४ को गौरी शंखर आधारभुत विद्यालयमा लैजाने तयारी रहेको पाइएको छ ।


धादिङ प्रवेशको विभिन्न ठाउँमा राखिएको चेकिङ पार गरेर ती ट्रकहरु कसरी धादिङवेशी पुगे भन्ने रहस्य अझै खुलेको छैन । तर, स्रोतका अनुसार धादिङकै प्रशासनको मिलेमतोमा ती ट्रकहरु धादिङ प्रवेश गरेको भने घाम जस्तै छर्लङ्ग बनेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सुरक्षा व्यवस्था फितलो गरेको कारण ती ट्रकहरु धादिङसम्म आइपुगेको हो ।


जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार रौतहटमा २१ जनालाई कारोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमण धेरै भएको जिल्ला मध्ये पर्ने रौतहटबाट ती ट्रक कसरी धादिङसम्म आए भनेर घिमिरेलाई प्रश्न गर्दा उनले आफ्नो जिल्लालाई थाहा नभएको र सम्बन्धित जिल्लाकै कमजोरीका कारण त्यसो हुन गएको बताए ।

Trending News