काठमाडौं, १४ जेठ । जापानकी टेनिस स्टार नाओमी ओसाकाले कमाईको मामिलामा इतिहास रचेकी छिन् ।
उनले पछिल्लो १ वर्षमा ५० मिलियन डलर (पाँच अर्ब रुपैयाँ बढी) कमाएकी छिन् । ओसाकाका यो कमाई टेनिस कोर्ट बाहिरको हो ।
उनी सबैभन्दा धेरै कमाउने महिला खेलाडी बन्न सफल भएकी छिन् ।
नाओमीले सन् २०२० को यूएस ओपन र सन् २०२१ को अष्ट्रेलिया ओपनमाथि कब्जा जमाएकी थिइन् । उनले कूल चारवटा ग्रान्ड स्ल्याम जितिसकेकी छिन् ।
उनले अष्ट्रेलिया ओपनको फाइनलमा पेट्राक्विटोवालाई र यूएस ओपनको उपाधि प्रतिस्पर्धामा भिक्टोरिया अजारेन्कालाई जितेकी थिइन् । नाओमी विश्वकी दोस्रो शीर्ष टेनिस खेलाडी हुन् ।
नाओमी ओसाकाको खेलबाट प्रभावित भएर थुप्रै कम्पनी उनीसँग जोडिएका छन् । नाओमी हाल दुई दर्जन ब्रान्डसँग मिलेर काम गरिरहेकी छिन् । उनी नाइकी, सिटिजन वाच, निशानजस्ता कम्पनीसँग जोडिएकी छिन् ।
पछिल्लो १२ महिनामा उनले करिब ५५.२ मिलियन अमेरिकी डलर कमाएकी छिन् । यो कुनै पनि महिला खेलाडीको हालसम्म सबैभन्दा बढी वार्षिक आम्दानी हो ।
नाओमीले यीमध्ये ५.२ मिलियनको कमाई खेल जितेर वा त्यसमा भाग लिएर कमाएकी छिन् भने अन्य कमाई उनको कोर्ट बाहिरका हुन् ।
नाओमीकी दिदी मेरी ओसाका पनि व्यावसायिक रुपमा नै टेनिस खेल्छिन् । दुबैले विलियम्स दिदी बहिनीलाई देखेर खेल्न सुरु गरेका थिए ।
यसैबीच नाओमीले उनी यसवर्ष फ्रेन्च ओपनमा मिडियासँग कुराकानी नगर्ने घोषणा गरेकी छिन् । एजेन्सी