रुकुममा ६ युवाको हत्या भएको दिन अर्थात जेठ १० ‘जात व्यवस्था विरुद्धको विद्रोह दिवस’

दियो पोस्ट  

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट जात व्यवस्था उन्मुलन मोर्चाले रुकम घटना भएको दिन अर्थान जेठ १० लाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाउने भएको छ ।

मोर्चाले जेठ १० गते ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा घोषणा गरेको हो ।

रुकुमको चौरजहारी नगरपालिका सोतीमा दुई वर्षअघि अन्तरजातिय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का उनीहरुको शव भेरी नदिमा फेला परेको थियो ।

मोर्चाकी केन्द्रीय सदस्य रुपा सुनारका अनुसार ‘छ जना युवाहरूले एउटा विद्रोह गरेर जात व्यवस्थाको कारण बलिदान दिएको कारण उक्त दिनलाई शक्तिमा बदल्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको उनले बताइन् । मोर्चाले उक्त दिवसलाई मंगलबार काठमाडौंस्थित माइतीघर लगायत सातै प्रदेशमा मनाउँदैछ ।

उक्त घटनामा समलग्न केही व्यक्ति अहिले पनि थुनामा छन् ।