राज्य विरुद्धको गम्भिर अपराधमा नेताका ‘नातागोता’ : पिएले उठाउँछन् करोडौं ‘फिरौती’ !

नक्कली भुटानी शरणार्थी प्रकरण :

- खुमा ओली  

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि तत्कालिन आन्दोलनरत दलहरु मध्येबाटै करिब १७ वर्षसम्म मुलुक शाषित छ । २०५२ सालदेखि भएको सशस्त्र द्धन्द र ०६२/६३ को आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र यतिबेला चर्को निसानीमा परेको छ । दलहरुमा देखिएको चरम विकृति र विसंगतीका कारण गणतन्त्रमाथि प्रहार भइरहेको आंकलन गर्न कुनै राजनीतिशास्त्र पढिरहनु पर्दैन । नेताहरुलाई चरम विकृत बनाउने धेरै आयाम र कारणहरु छन् । त्यसमध्ये प्रमुख कारण हो—आफन्तवाद र नातावाद ।

हिजो राजाको छोरा राजा हुन पाउने व्यवस्थाविरुद्ध लडेका नेताहरु, हिजो वंशको आधारमा शासन गर्न पाइँदैन भनेर नाराबाजी गरेकाहरु मात्रै होइन पार्टी भित्रै पनि आफन्तवाद र नातावाद बर्जित गरेकाहरु अहिले मन्त्री, सांसद, र प्रधानमन्त्रीसम्म छन् । हिजो संघर्षमा हुँदा आफन्त र नातागोतालाई टाढा राखेर गाउँघरमा दुखी गरिब किसानका छोराछोरीलाई आन्दोलनको अग्रमोर्चामा हिँडाएका यीनै सांसद, मन्त्री र प्रधानमन्त्री भइसकेकाहरुले सत्ताको शिखरमा पुगेपछि भने आफ्ना आफन्त, नातागोतालाई खोजीखोजी सचिवालयमा राख्ने गरेका छन् । त्यतिमात्रै होइन उनीहरुलाई अदृष्य रुपमा कमाउधन्दामा लगाउनेदेखि आपराधिक गतिविधिमा समेत लगाउने गरेको रहस्यमयी पर्दाहरु खुल्न थालेको छ ।

पछिल्लो समय सार्वजनिक भएको नक्कली भूटानी शरणार्थी प्रकरणले धेरै नेता, मन्त्री र प्रधानमन्त्रीसम्मको ब्लर अनुहार अपराधको कालो टिका लगाइदिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालको राज्य संरचना नै नेपाली नागरिकलाई अनागरिक बनाउँदै नक्कली शरणार्थी बनाएर अवोध नागरिकबाट ठगी गर्न कसरी अभिसप्त छ भन्ने प्रमाण छरपष्ट भएको छ ।

                                                                                               000

बालुवाटार भित्रै बसेर करोडौंको लेनदेन गर्ने ओलीका सालीको छोरा 

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सालीको छोरा तथा उनका तत्कालिन स्वकीय सचिव हुन् राजेश बज्रचार्य । बज्रचार्य नेपाली नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्ने गिरोहमा संलग्न भएको अभियुक्तहरुको बयानबाट खुलेको छ । ठगी गिरोहका मुख्य योजनाकार केशव दुलालले अनुसन्धान अधिकारी समक्ष दिएको बयानमा बज्रचार्यलाई बालुवाटारमै गएर १ करोड रुपैयाँ दिएको बताएका छन् । जसमा ब्रजाचार्यले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत् प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर एक करोड रुपैयाँ लिएको दुलालले बताएका हुन् ।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा एक करोड रूपैयाँ नगदै बुझिलिएको,’ उनको बयानमा उल्लेख छ । तर, ओलीका सचिवालयमा लामो समयदेखि कार्यरत बज्राचार्य भने दुलालको दाबी राजनीतिक प्रतिशोधपूर्ण दोषारोपण बताउँछन् ।
“नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले मेरो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन । चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन,’ उनले भनेका छन्,‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु ।”

                                                                                                 000

शरणार्थी प्रकरणको योजनाकार बाबु छोरा !

टोप बहादुर रायमाझीका छोरा हुन्– सन्दिप रायमाझी । कुनै समय सर्वहारा सांस्कृतिक क्रान्तिको नाममा युद्ध गरेका रायमाझी तत्कालिन माओवादीका प्रमुख नेता मध्येका एक हुन् । शान्तिप्रक्रियामा आएपछि रायमाझीको छोराको विवाह निकै चर्चाको विषय बनेको थियो । जनतालाई जनवादी विवाह गर्न उक्साएर आफ्नो छोराको भने लाखौँको गहनासहित भव्य विवाह गरेको घटनाले रायमाझी परिवार निकै आलोचित बनेको थियो । सांस्कृतिक चरम विचलनमा पुगेको त्यतिबेला नै चर्चा हुनेको गरेको हो । तर, सांस्कृतिक रुपमा विचलनको आरोप लागेका रायमाझी राजनीतिक रुपमा समेत विचलित भए । माओवादी केन्द्र छाडेर एमालेतिर लागे । एमालेमै रहँदा उनी नक्कली भूटानी शरणार्थी बनाएर नागरिकलाई अनागरिक बनाउँदै अमेरिका पठाउने अवैध धन्दाको योजनाकार बने । उनकै योजनामा नेपाली युवाहरुले २४ करोड रुपैयाँ भन्दा बढी रकम दलालहरुको गिरोहलाई बाँढ्दै बालुवाटारसम्म पुर्याएको रहस्यको पर्दा खुल्दैछ । उनै रायमाझीको छोरा समेत यो अपराधमा संलग्न भएको अभियोगमा हिरासतमा छन् ।
प्रहरीले गत वैशाख २० गते तत्कालीन गृहसचिव भई हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित पूर्व ऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियो । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक र उनीहरुबीचको संवादलाई आधार मानेर सरकारी वकिलले उनीहरुलाई सजाय हुनुपर्ने जिकिर गरिरहेका छन् ।

विचौलियासँग लामो समयदेखि उठबस रहेको रायमाझीको स्वीकार

रायमाझीले विचौलिया केशव दुलाल र सानु भण्डारीसँग लामो समयदेखि चिनजान भएको स्वीकारेका छन् । ‘प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरूको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरूले होलीको व्यवस्था गरेका छन्, गोसाइँकुण्ड गई फ्रेस भएर आउनु पर्यो भनी मलाई प्रतिवादी केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरूले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाइँकुण्ड गई फोटो खिचाई फर्किएका हौं,’ उनले बयानमा भनेका छन् ।

                                                                                                  000

पूर्वगृहमन्त्रीको परिवारमा लागेको संगठित अपराधको कालो धब्बा !

तत्कालिन केपी ओली सरकारका पालामा शक्तिशाली गृहमन्त्री हुन् राम बहादुर थापा ‘बादल’ । तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्य समेत रहेका थापा पार्टी र सत्ता दुवै ठाउँमा शक्तिमा थिए । नेकपा विभाजन भएपछि आफ्नो मातृपार्टी माओवादी केन्द्र छाडेर उनी एमालेतिरै लागे । तर, एमालेमा लागेका बादलकै निधारमा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर संगठीत ठगीधन्दा चलाएको कालो टिका लागेको छ । यो धन्दामा उनका छोरा प्रतिक थापाको संलग्नता पुष्टि भइसकेको छ । माओवादी भित्र दु:ख र बलिदान गरेका हजारौँ नेता कार्यकर्ता हुँदा हुँदै बादलले आफ्नो सचिवालयको कमाण्डर आफ्नै छोरा प्रतिकलाई नियुक्त गरेका थिए । गृहमन्त्रीको प्रमुख स्वकिय सचिवको भूमिकामा रहेका थापाको एक समयमा प्रहरी सरुवा बढुवामा समेत हली मुहाली थियो । उनै थापा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । गत वैशाख २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

बादल पुत्र प्रतिकसहित वादलपत्नि नयनकला थापा समेत यो धन्दामा संलग्न रहेको अनुसन्धानमा देखिएको छ । अभियुक्त सानु भण्डारीले यस घटनामा वादलकी श्रीमती नैनकला थापालाई पनि एक करोड रुपैयाँ दिएको बयान दिएका छन् । सानुले रकम दिएको कुरा बालदका छोरा प्रतीक थापाको कुराबाट पुष्टि हुने आधार समेत उनले बयानमा दिएका छन् । मन्त्री क्वाटरमा नै पुगेर पैसा दिएपछि आमा र छोराको कुराकानीबाट नक्सालको एक होटेलमा भएको भेटमा खुलेको केशव दुलालले बयान दिएका छन् । नैनकला र वादलमाथि भने प्रमाण नपुगेको भन्दै अनुसन्धान अघि बढेको छैन । यद्यपी अदालतमा चलिरहेको थुनछेक बहसमा न्यायधीशहरुले उनीहरुमाथि किन अभियोग लागेन भनेर प्रश्न गरिरहेका छन् । पक्राउ पर्ने भएपछि प्रतिक एक विज्ञप्तिसहित मिडियामा आएका थिए । उनले आफ्नो नाम यो प्रकरणमा पोलिएको प्रति आपत्ति जनाउँदै थप अनुसन्धानमा सहयोग गर्दे प्रतिवद्धता जनाएका थिए । तर उनी त्यस यता फरार छन् । पुत्र मोहमा फसेका वादल यो घटनाबारे बालेका छैनन् ।

गृहमन्त्रालयमा बसेर छोरा र सल्लाहारसहित गिरोह चलाएका बादल पछिल्लो समय गुमनाम छन् । नेपाली शरणार्थी बनाएर बेच्न बनेको तीन सदस्यीय कार्यदल बन्दा थापा नै गृहमन्त्री थिए । थापाले मन्त्रीस्तरीय निर्णयबाट गठन गरेको विवादास्पद कार्यदलले नै संगठित अपराधको सुरुवात गरेको थियो । मानव तस्करी गिरोहका अगुवा केशव दुलाल र सानु भण्डारीको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा संकलन गरिएको भनिएपनि राजनीतिक योजनाकार वादल नै भएको आरोप लाग्ने गरेको छ । तर, हालसम्म कार्यदल गठन गर्ने थापाको भूमिकामा अनुसन्धान भएको छैन ।
यो घटनामा वादलका प्रमुख राजनीतिक सल्लाहकार ईन्द्रजित राई हिरासतमै छन् । उनका छोरा निरज राई फरार छन् । उनले पनि यो धन्दामा छोरालाई नै अघि सारेको देखिन्छ ।

                                                                                                  000

गृहमन्त्रीका अर्का पिए जो शिक्षकको जागिर स्थगित गरेर फिरौती उठाउन कस्सिए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अर्का अभियुक्त हुन्–नरेन्द्र केसी । यो प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडसँगै हिरासतमा रहेका केसी खाँडकै स्वकिय सचिव हुन् । उनी बालकृष्ण पक्राउपर्दासम्म सँगै थिए । शिक्षकको जागिरमा समेत रहेका उनी बालकृष्णका प्रिय पात्र हुन् । बालकृष्णले गर्ने अधिकांश लेनदेनको घटनामा आफू जोडिने गरेका थिए । खाँड गृहमन्त्री रहँदा केसीले प्रहरीको सिपाही सरुवामा समेत अस्वभाविक चासो दिने गरेका थिए ।

 

भाग्यवादलाई विश्वास गर्दा गणतन्त्रमा नेताहरु नातावादमा फसे : युुग पाठक

लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि अधिकांश नेताले नातोगोतालाई पिए बनाउने र ती मार्फत संगठित अपराधको धन्दासम्म गर्ने गरेको दृष्टान्तबारे लेखक तथा राजनीतिक विश्लेषक युग पाठकलाई केही प्रश्न गरेका थियौँ ।

“डोरबहादुर बिष्टले ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ किताबमा लेखेका छन् नातावाद, कृपावाद र चाकरी लामो समयदेखि संस्थागत राजनीतिक संस्कारभित्र पर्छ । त्यही राजनीतिक संस्कारलाई पछिल्लो लोकतन्त्र, गणतन्त्रका आन्दोलन हाक्नेहरुले तोड्न छोडेर बरु उल्टै त्यही मार्गमा हिँडे । त्यसैले यो नतिजा हामीलाई नौलो लाग्दैन”, उनी भन्छन्,“पहिलेको तुलनामा धेरै परिर्वतनहरु नभएका होइनन्, भएका छन् । तर त्यो परिर्वतनलाई हामीले बोध गर्न सकेका छैनौं । यो उहिलेदेखि चलिआएको राजनीतिक संस्कार हो । यसलाई डोरबहादुर विष्टको भाषामा भाग्यवाद भनिन्छ । भाग्यवादीहरुले कर्म, तर्क र तथ्यमा विश्वास गर्दैनन् भाग्यमा विश्वास गर्छन् । आफ्नो कर्ममा विश्वास गर्ने भएका भए जसलाई पिए राखेपनि हुन्थ्यो । तर उनीहरुले भाग्यमा विश्वास गर्ने भएर नजिकै व्यक्ति अथवा परिवार भित्रका मान्छेलाई नियुक्त गर्छन् ।”
उनका अनुसार आफ्ना निजी कामहरु बाहिर नआओस् भन्ने उद्देश्यले पनि विश्वासिलो पात्र राख्ने गरिन्छ । योसँगै परिवार भित्रैका व्यक्तिलाई जागिर खुवाउने नियत भएको पाठकको भनाई छ ।

TATA ADD