अपाङ्गता पुनर्स्थापना कार्यक्रमः गुजारामुखी सीपमात्रै

दियोपोस्ट संवाददाता

६४ वर्षीय पूर्णबहादुर श्रेष्ठको मेरुदण्ड (कम्मर)देखि मुनीको भाग चल्दैन् । २०५२ सालसम्म पूर्णबहादुरको स्वास्थ्य अवस्था ठिक थियो । यो बिचमा पिसाबको खराबी र अन्य रोगका कारण उनको मेरुदण्डमा असर पर्‍यो । उपचार गर्दागर्दै पूर्णबहादुरको कम्मरदेखि मुनीको भाग पूर्णरूपमा नचल्ने अवस्थामा पुग्यो । त्यतिबेला ३० वर्षकी थिइन् रोना श्रेष्ठ । श्रीमान् बिरामी, काखमा दुधे बालक । उनले घरखर्च र छोराको स्याहारसुसार एक्लै धान्न संघर्ष गरिरहिन् । बच्चा हुर्कँदै गएपछि रोनाले पाएसम्मका जागिर र सिप सिक्ने काम अघि बढाइन् ।

छोराको साथमा रोना र पूर्णबहादुर

घरमै पनि फिनेल कोलिन लगायतका सामग्री बनाइ बिक्री गर्ने रोनाले गतवर्षको पुस महिनामा टोखा नगरपालिकाले प्रदान गरेको साबुन बनाउने तालिम लिइन् । आफूले गर्दै आएको काम थप सिपमूलक भएपछि रोनालाई थप सहयोग भयो । उनले अहिले झोल साबुन साबुन, फिनेल, कोलिन लगायतका सामग्री उत्पादन गर्छिन् र बेच्छिन् । त्यसबाट आउने रकमले श्रीमान्को स्याहारसुसार र औषधि किनबेचका लागि सहयोग पुग्छ । ‘गर्न त पहिलेदेखि नै काम गरिरहन्थेँ । कति दुःख गरेँ अहिले बताउन थाले त दिन जान्छ होला । नगरपालिकाले तालिम दिएपछि अझै राम्रो भयो । त्यत्तिकै आफैँ जानेर गर्नु र सिप सिकेर गर्नुुमा फरक भइहाल्छ नि !’ रोनाले भनिन् । तर यो सीप रोनाका लागि गुजारामुखी मात्रै छ । उनि भन्छिन्, ‘अहिले त छोराबुहारीको आम्दानी छ । केही राहत भएको छ । मैले गर्ने काम त उही गुजारा टार्ने न हो । केही नहुनु भन्दा यही भए पनि सिप छ थोरथोरै आम्दानी हुन्छ । यसलाई राम्रै मानेकी छु ।’

अपाङ्गता पुनस्थापना कार्यक्रमका लागि नगरपालिकालाई ३ लाख बजेट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत प्राप्त भएको हो । नगरपालिकाले यसरी आउने बजेटलाई सिप विकासमा खर्चने गरेको छ । यस्ता व्यक्तिहरूकै लागि लक्षित कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा ७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको र पालिकाको गरी कुल बजे १० लाख ५० हजार अभिमुखीकरण, सिपविकास, सचेतना सहयोग/सामग्री हस्तान्तरण र शिविर जस्ता कार्यक्रममा खर्च हुने गरेको देखिन्छ । ‘यस वर्ष हामीले पूर्ण अपाङ्गता भएका रातो परिचय पत्र प्राप्त र आशिंक अपाङ्गता भएका निलो परिचय पत्र प्राप्त व्यक्तिहरुको पहिचान गरेर उनिहरुका संरक्षक र पहेँलो तथा सेतो परिचय पत्र प्राप्त व्यक्तिलाई नै लक्षित गरी उनीहरुको हक अधिकार, राज्यबाट पाउनुपर्ने सेवा सुविधा कानुनी व्यवस्था, सामाजिक सुरक्षा, अपाङ्गताका क्षेत्र, नगरपालिकाको सेवाक्षेत्र आदिका बारेमा जानकारी गराएका छौँ ।’ नगरपालिकाकी महिला विकास अधिकृत सावित्रा न्यौपानेले भनिन् ।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि हेरचाहसम्बन्धी कार्यक्रमका लागि टोखा नगरपालिकाले ११ वटा वडालाई ३ कलस्टरमा बाँडेर कार्यक्रम गरेको छ । ‘वडा नं. १, २ र ३ लाई एउटा कलष्टर, वडा नं. ४, ५, ६ र ७ लाई एउटा क्लस्टर तथा ८, ९, १० र ११ वडालाई अर्को कलष्टर बनाइ पालिकाले लक्षित वर्गका लागि कार्यक्रम सञ्चालन ग¥यौँ । यसरी समुह छुट्याएर कार्यक्रम गर्दा अघिल्ला वर्षभन्दा प्रभावकारी भएको पायौँ ।’ न्यौपानेले भनिन् ।

हरेक वर्ष प्रदेश सरकारले दिने बजेट सिपमुलक कार्यक्रम र पुनस्थापनाका लागि भुक्तान हुने गरेको टोखा नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ज्ञानबहादुर अधिकारीले जानकारी दिए । शसर्त अनुदानअन्तर्गत मन्त्रालयले उपलब्ध गराउने ३ लाख बजेट नगरपालिकालाई त्रैमासिक रुपमा उपलब्ध हुन्छ । चालु आर्थिक वर्षका कार्यक्रम सम्पन्न गरी नगरपालिकाले २०७९ चैत १७ मा महिला विकास शाखालाई रकम भुक्तान गरिसकेको छ ।

टोखा नगरपालिकाले यसरी कार्यक्रमको प्रगति र प्रभाव अध्ययनका क्रममा अपाङ्गता भएका व्यक्ति र उनीहरुका संरक्षकहरुसँग सुझावसमेत संकलन गरी त्यसका आधारमो आगामी कार्यक्रमको खाका तयार गरिरहेको नगरपालिकाले जानकारी दियो ।

अपाङ्गता पुनर्स्थापनाका लागि प्रदेश सरकारबाट आउने बजेट सहयोगी भएपनि पर्याप्त छैन । प्रदेश सरकारले हरेक वर्ष अपाङ्गता भएकाहरुको पुनर्स्थापनाका लागि बजेट विनियोजन गर्ने गरेको छ । चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले बाग्मती प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहलाई ३ लाखका दरले ३ करोड ५७ लाख बजेट विनियोजन गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जनका लागि निर्वाहमुखी कार्यक्रम भन्दा स्थानीय तहले नै सञ्चालन गर्नेगरी व्यावसायिक र दीर्घकालीन आय आर्जनको कार्यक्रम ल्याउने हो भने वार्षिक रूपमा प्रदेश सरकारले खर्चने ठुलो रकम अझै प्रभावकारी हुने थियो । पालिकाहरुको वर्गीकरण गरेर एक आर्थिक वर्षमा प्रभावकारी कार्यक्रम हुनेगरी कार्यक्रम वा बजेट दिने र त्यसपछि स्थानीय तहलाई बाध्यकारी ‘गाइडलाइन’ दिएर जवाफदेही र जिम्मेवार बनाउन सके प्रदेश सरकारको बजेट पालिकाहरूलाई कनिका छरेजस्तो हुने थिएन । क्षेत्रफल र जनसंख्याका आधारमा बजेट वा कार्यक्रम निर्धारण गरे अपाङ्गता भएका व्यक्तिको सङ्ख्या बढी भएका पालिका बढी प्रभावित हुन सक्ने थिए ।

२०७८ को जनगणनाअनुसार कुल १ लाख ३३ हजार ७ सय ५५ जनसंख्या रहेको टोखा नगरपालिकामा ८ सय ५८ जना अपाङ्गता पहिचान भएका व्यक्तिहरु रहेको राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्र नेपालको तथ्याङ्क छ । यो कुल जनसंख्याको शुन्य दशमलव ६४ प्रतिशत हो । ‘यो नै आधिकारिक तथ्याङ्क त होइन । नगरपालिकाको सहयोगमा उक्त संस्थाले यो तथ्याङ्क सङ्कलन गरेको हो । हामीले यसलाई रुजु गरेर अन्तिम रुप दिन बाँकी नै छ ।’ महिला अधिकृत न्यौपानेले भनिन् । केन्द्रका अनुसार टोखामा ३ सय ८० जना महिला र ४ सय ७८ जना पुरुष अपाङ्गता पहिचान भएका छन् । नगरपालिका भित्रका ५ सय ७६ जनाले अझै परिचय पत्र नपाएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै रातो परिचयपत्र प्राप्त गर्ने १ सय ४२ जना छन् भने निलो परिचय पत्र १ सय १२ जनाले पाएका छन् । २५ जनाले पहेँलो र ३ जनाले सेतो परिचयपत्र पाएका छन् ।

सम्बन्धित खबर

सिफारिस