पर्यटनमा फेरी सल्बलायो फेक रेस्क्यु धन्दा : १४ विदेशी कम्पनिद्वारा एकैसाथ छानबीन शुरु !

दियो पोस्ट  

काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई हेलिकोप्टर उद्दारको नाममा ठगीधन्दा फेरी मौलाएपछि विदेशी कम्पनिहरुले नै अनुसन्धान थालेका छन् ।

विदेशस्थित विभिन्न १४ वटा कम्पनिहरुले नेपालका ट्रेकिङ्ग, हेलिकोप्टर, उद्दार मार्फत आएका विदेशी नागरिक उपचार गर्ने अस्पतालमाथि अनुसन्धान थालेका हुन् ।

ती १४ कम्पनिहरु विदेशस्थित विमा कम्पनिहरु हुन् । नेपालमा रहेका ठगीमा संलग्न कम्पनिहरुको बिमा दाबीका विभिन्न कागजात एक अर्काले हेर्न पाउनेगरि सम्झौतामा हस्ताक्षेर गरेरै उनीहरुले अनुसन्धान थालेका हुन् ।

केहीदिन अघि नेपाल घुम्न आएका एक पदयात्री पर्यटकलाई उद्दारको नाममा अन्नपूर्ण बेसक्याम्पबाट पोखराको मनिपाल शिक्षण अस्पताल ल्याउने भन्दै पोखरा ल्याइएको थियो । तर, पोखरामा उपचार नै नगराई ती विरामीलाई काठमाडौं ल्याएको र ती विरामी उपचार बापत अस्पतालले मात्रै ३२ हजार डलर रकम विमा दावी गरेको स्रोत बताउँछ । त्यतिमात्रै होइन हेलिकोप्टर कम्पनिले उद्दार बापत पोखरा काठमाडौंको मात्रै ९ हजार डलर अर्थात १० लाख रुपैयाँ भन्दा बढी विमा भुक्तानी दाबी गरेको स्रोतले जानकारी दिएको छ । यी विषय समेत अनुसन्धानमा तानिने भएको छ ।

विदेशी बिमा कम्पनिहरुले नेपालबाट हुने हरेकजसो उद्दार तथा बिमा दाबी भुक्तानीको अनुसन्धान गर्न विशेष टोली नै बनाएका छन् । विशेषगरि नेपाल सरकारका विभिन्न निकायहरुको अनुसन्धानमा विदेशी संस्थालाई विश्वास हुन छाडेको छ । केहीदिन अघि मात्रै नेपालका १० ठूला बैंकको लेखा परिक्षण विदेशी कम्पनि मार्फत गराउन अन्तर्राष्ट्रिय मुद्राकोषले राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । निर्देशाअनुसार विदेशी कम्पनिहरुले नेपालका बैंकहरुमाथि अनुसन्धान गरिरहेको छ । ठीक त्यसैगरि नेपालमा रहेको पर्यटन विभाग, पर्यटन मन्त्रालय र प्रहरी अनुसन्धान समेत मिलेमतोमै निष्कर्शविहिन भएपछि विदेशी कम्पनि आफै अग्रसर भएर अनुसन्धान थालेको छ । केही वर्षअघि पर्यटन मन्त्रालयले तत्कालिन सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबीन समिति गठन गरेको थियो । उक्त समितिले विभिन्न कम्पनिमाथि कारबाही सिफारिस गरेको थियो । तर, उक्त प्रतिवेदन कार्यन्वयन हुनुको सट्टा सरकारी निकायकै मिलेमतोमा गुपचुप पारिएको थियो ।
स्रोतका अनुसार सोही अनुसन्धान प्रक्रियामा भएको सरकारी लापरबाहीका कारण विदेशी कम्पनिहरुले आफै अनुसन्धान थालेका हुन् । सरकारले अनुसन्धानको नाटकमात्रै गरिरहँदा फर्जी उद्दारको घटना बढिरहेको र विदेशस्थित कम्पनिहरुको बद्नामी समेत भइरहेका कारण उनीहरुले सरकारी टोलीको अनुसन्धानमा भन्दा आफै अग्रसर भएका हुन् ।

अनुसन्धान टोलीले के के गर्दैछ ?

विदेशी विमा कम्पनिहरुले नेपालमा फर्जी उद्दारको घटनामा संलग्न कम्पनि तथा व्यक्तिको गतिविधि निगरानी गरिरहेका छन् । साँच्चै फर्जी उद्दार र ठगीमा संलग्न कम्पनिको अनुसन्धानपछि तथ्यगत प्रमाणसहित नेपालस्थित विभिन्न दूतावासमा छानबीन र कारबाहीका लागि सिफारिस गर्ने उनीहरुको तयारी छ । दूतावास मार्फत विदेश घुम्न जाने प्रक्रियामा रोक लगाउने तयारी छ । त्यतिमात्रै होइन उनीहरुको कारोबारमा भइरहेको शंकाष्पद धन्दालाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय मुद्राकोष मार्फत राष्ट्र बैंकलाई पत्राचार गरिँदैछ । त्यस्तै फेक रेस्क्युको धन्दामा संलग्नहरुलाई सम्पति विवरणमाथि समेत ती कम्पनिहरुले निगरानी बढाएका छन् ।

फेक रेस्क्यु धन्दामा उदाएकाहरुको सम्पत्तिमाथि छानबीन गर्न सम्पत्ति सुद्धिकरण विभागमाथि समेत दबावमा पार्ने उनीहरुको तयारी छ । त्यसका लागि नेपाललाई अन्तर्राष्ट्रिय रुपमा सम्पत्ति सुद्धिकरणमा कालो सुचीमा राख्न निवेदन दिने र उक्त निवेदन पश्चात अन्तर्राष्ट्रिय वित्तिय कारबाही कार्यदल (एफएटीए) र एशिया प्रशान्त समुह (एपीजी) सुचीमा फेरबदल गराउने उनीहरुको तयारी छ । यसो गर्दा नेपाल सरकारमाथि समेत फेक रेस्क्यु धन्दा गर्नेमाथि कारबाही गर्न दबाव पर्ने उनीहरुको अनुमान छ । यो मामिलामा नेपाल अहिलेपनि खतरामा छ ।

TATA ADD