क्यानडामाथि अमेरिकाको सानदार जित, क्यानडा ७ विकेटले पराजित

आईसीसी टी-२० विश्वकपः

दियोपोस्ट संवाददाता  

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ सुरु भएको छ । उद्धाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको छ ।

विश्वकप २०२४ को पहिलो खेलमा चार अर्धशतक बनेको छ । क्यानडाका नवनीत धालीवाल र निकोलश किरतोन तथा अमेरिकाका एन्ड्रिज गोज र एरोन जोन्सले अर्धशतक प्रहार गरेका हुन् ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले पहिलो इनिङ्समा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो । यससँगै अमेरिकाले जितका लागि १९५ रनको लक्ष्य पछ्याएको हो । जसमा अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १८७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

क्यानडाका लागि नवनीत धालिवालले ४४ बलको सामना गर्दै ६१ रन बनाउँदा ३१ बल सामना गरेका निकोलश किरतोनले ५१ रन जोडे । त्यस्तै एरोन जोनशनले १६ बल सामना गर्दै २३ रन जोड्दा १६ बल सामना गरेका श्रेयस मोब्बाले ३२ रन जोडे । परगत सिंहले ७ बलमा ५ रन जोडे भने दिलप्रित बाजवाले ५ बलमा ११ रन जो८ । त्यस्तै डिलोन हेलिङ्गरले १ बलमा १ रन जोडे ।

बलिङतर्फ अमेरिकाका अली खानले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर १ विकेट लिए । ४ ओभर नै बलिङ गरेका हरमीत सिंहले २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै कोरी एन्डरशनले ३ ओभर बलिङ गर्दै २९ रन दिएर १ विकेट लिए । २ ओभर बलिङ गरेका सौरभ नेट्रभल्करले २ ओभरमा १६ रन दिए पनि विकेट लिन सकेनन् । त्यस्तै जसदीप सिंह, साडली भान सचलाकवेक र स्टिभन टेलरले कुनै विकेट लिन सकेनन् ।

 

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले शून्य रनमै विकेट गुमाउनुपरेको थियो । २ बलको सामना गरेका स्टिभन टेलर शून्य रनमा आउट भए । त्यस्तै १६ बल सामना गरेका मोनाक पटेल १६ रन जोड्दै आउट भएपछि अमेरिका केही दबाबमा देखिएको थियो ।

तर, एन्ड्रिज गोजले ४६ बलमा ६५ रन तथा एरोन जोन्सले ४० बलमा नटआउट ९४ रन जोड्दै क्यानडाविरुद्ध जिततर्फ अग्रसर बनाए । त्यस्तै कोरी एन्डरशनले ५ बलमा ३ रन बनाए ।