बसन्त चौधरीले ‘अपमान गरेपछि’ नर्भिक अस्पतालका सुरक्षा प्रमुखद्वारा राजिनामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नर्भिक अस्पतालका सुरक्षा प्रमुख नेपाली सेनाका अवकास प्राप्त कर्नेल कमल रावलले राजिनामा दिएका छन् । उनीमाथि नर्भिक अस्पतालका मालिक बसन्त चौधरीकी छोरी मेघा चौधरी र मेघाकी साथी बताउने प्रवेशजंग रायमाझीलाई सलाम नगरेको आरोपमा अपमानपूर्वक व्यवहार भएको आरोप छ ।

अस्पतालमा रायमाझी र चौधरी पुग्दा कर्नेल रावलले सलाम नगरेको र नझुेको आरोपमा अस्पतालका मालिक बसन्त चौधरीले सिनियर कर्मचारीको बैठकमा रावलमाथि अपमानपूर्वक गालीगलौच गरेको एक कर्मचारीले बताए ।
‘नेपाली सेनाबाट अवकास प्राप्त कर्नेल साप सुरक्षा प्रमुख हुनुहुन्थ्यो । उहाँमाथि छोरी मेघालाई सलाम नगरेको आरोपमा सोधपुछ भयो,’ नर्भिकका एक कर्मचारीले भने,‘सिइओ अजय मिश्रले उहाँको विषयमा बसन्त चौधरी समक्ष विभिन्न कुरा लगाएका थिए । मिश्रले कान फुकेकै भरमा सिनियर कर्मचारी बैठकमा चौधरीले रावलमाथि दुर्व्यवहार गर्नुभयो । उहाँ रावल साप आफैमा प्रतिष्ठित व्यक्तिमाथिको यो हदसम्मको अपमान उहाँले सहनुभएन र राजिनामा दिएर जानुभयो ।’

नर्भिक अस्पतालको सुरक्षा प्रमुखमा भित्रिएको केही महिना नपुग्दै रावलले राजिनामा दिएका हुन् । रावललाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा राजिनामा दिएको पुष्टि गरे । तर, नर्भिकका कुनैपनि पदाधिकारीले आफूमाथि अपमान र दुर्व्यवहार नगरेको उनको जवाफ थियो । ‘उहाँहरुको केही छैन । म नै त्यो ठाउँका लागि उपयुक्त रहेनछु’ उनले भने ।