सम्पत्ति विवरणमा ‘गरिब’ प्रधानमन्त्रीको हातमा ‘८० लाख रुपैयाँ’को रोलेक्स घडी !

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण केही समयअघि सार्वजनिक भयो । सार्वजनिक भएको विवरण अनुसार आफ्नो नाममा ५ तोला सुनबाहेक सम्पूर्ण सम्पत्ति स्वर्गिय श्रीमती सिता दाहालको नाममा रहेको उल्लेख छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित १४ कठ्ठा जमिन पैतृक सम्पत्ति र सिता दाहालकै नाममा वडा नम्बर १२ मा १ कठ्ठा जग्गा बाहेक अरु सम्पत्ति नभएको विवरणमा उल्लेख छ । तर, सम्पत्तिको नाममा केही नभएजस्तो देखिएका प्रधानमन्त्री पुष्पकमल दाहालको हातमा भने करोड रुपैयाँ हाराहारीको घडी देखिएको छ । जुन उनले सम्पत्ति विवरणमा समेत देखाएका छैनन् ।


मंगलबार बेलुका ९ बजेर २१ मिनेटमा प्रधानमन्त्रीको स्वकिय सचिव गंगा दाहालले एउटा तस्विर सार्वजनिक गरेकी थिइन् । नेपाली क्रिकेट टिमलाई विजयका अग्रिम शुभकामना भन्दै उनले आफ्ना बाबु प्रधानमन्त्री प्रचण्डले क्रिकेट हेर्दै गरेको तस्विर सार्वजनिक गरेकी थिइन् । सार्वजनिक भएको तस्विरमा दाहालको हातमा गोल्डेन कलरको एउटा घडि देखिन्छ ।

उक्त घडी रोलेक्स जिएमटी मास्टर ब्राण्डको रहेको र उक्त घडीको मुल्य ८८ हजार  २ सय ३६ डलर पर्ने  (अाजकाे विदेशी विनिमयदर अनुसार करिब ७८ लाख  ११ हजार ३ सय ११ रुपैयाँ) सामाजिक संजाल प्रयोगकर्ता सुजित केसीले उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो नाममा केही सम्पत्ति नभएको देखाएपनि उनी करोडौँको ब्राण्डेड घडी र लाखौँ रुपैयाँ पर्ने कपडा लगाउँछन् । उनको व्यक्तिगत जीवनबारे बेलाबेला चर्चा हुने गर्छ । छोरी गंगाले बोकेको एउटा लाखौँ रुपैयाँ पर्ने ब्याग पनि कुनै समय चर्चाको शिखरमा रहेको थियो ।